logo-img

हेटौँडा उपमहानगरपालिकाले पास गर्यो दुई अर्ब ६८ करोडको बजेट

हेटौँडा उपमहानगरपालिकाले १३औँ नगरसभाको दोस्रो बैठकबाट दुई अर्ब ६८ करोड ६० लाख १ हजार आठ सयको बजेट पास गरेको छ । यसअघि हेटौँडा उपमहानरगपालिकाले आव २०८०–८१ का लागि नीति तथा कार्यक्रम कार्यान्वयन गर्न दुई अर्ब ६० करोड ६५ लाख ४० हजार आठ सयको अनुमानित बजेट विनियोजन गरेको थियो । 

प्रदेश सरकारको विभिन्न शीर्षकका थप हुने रकमसहित आज बसेको नगरसभाको बैठकबाट सर्वसम्मत रूपमा बजेट पास गरेसँगै हेटौँडा बजार क्षेत्रको २५–२५ मिटर सडक विस्तार गर्ने निर्णय पारित गरेको छ । बैठकमा सहभागी सम्पूर्ण जनप्रतिनिधिले ताली बजाएर सर्वसम्मत रूपमा बजार क्षेत्रलाई फराकिलो बनाउने  निर्णय गरेको उपमहानगरका प्रवक्ता सविन न्यौपानेले बताए । 

‘सडक विस्तारका विषयमा जिल्लाका दलबीच मतभिन्नता भइरहेको अवस्थामा उपमहानगरले यस्तो निर्णय गरेको हो । डिभिजन सडक कार्यालयले हेटौँडा बजार क्षेत्रमा २५ मिटर सडक विस्तार गर्न गएको असार १० गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना जारी गरेको थियो । क्षतिपूर्ति र व्यवसायीको समस्याको विषयमा स्थानीय सरकारले आवश्यक पहल र समन्वय गर्छ तर अब बजार क्षेत्रको बाटो फराकिलो हुन्छ,’ प्रवक्ता न्यौपानेले भने । 



बैठकले आर्थिक विधेयक २०८०, विनियोजन विधेयक २०८०, न्यायिक समितिबाट २०७९–८० मा भएका कार्यसम्पादनलाई पास गरेको प्रवक्ता न्यौपानेले जानकारी दिए । नगर सुन्दर बनाउने योजनाका साथ बजार क्षेत्रका सडकलाई अब विस्तार गर्ने निर्णय भएकोे हो । 

यस्तै बैठकले उपमहानगर क्षेत्रभित्र सुर्तीजन्य पर्दाथ बिक्रीवितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । यसका लागि ऐन बनाएर कार्यविधि ल्याई लागू गर्ने निर्णय भएको प्रवक्ता न्यौपानेले बताए । 





  • प्रकाशित मिति : असार १६, २०८० शनिबार २२:५५:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया