उपराष्ट्रपति यादव र भ्याटिकन सिटीका गैरआवासीय राजदूतबीच शिष्टाचार भेट

उपराष्ट्रपति रामसहायप्रसाद यादव र नेपालका लागि भ्याटिकन सिटीका गैरआवासीय राजदूत आर्कविशप लियोपोल्डो जिरेलीबीच आज लैनचौरस्थित उपराष्ट्रपति निवासमा शिष्टाचार भेट भएको छ । 

सो अवसरमा उपराष्ट्रपति यादवले विश्व शान्ति, सहिष्णुता र बृहत् मानव कल्याणका पक्षमा अटल विश्वास राख्ने दुई देशबीच प्रतिबद्धताका साथ विश्व शान्तिका पक्षमा उभिनुपर्ने खाँचो औँल्याए ।

उपराष्ट्रपति यादवले विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धबाट प्राप्त शान्तिको सन्देश विश्वसामु पुर्याउने नेपालको अभियानलाई भ्याटिकन सिटीबाट अझ बढी साथ सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । आगामी दिनमा दुई देशबीच रहेको सौहार्दपूर्ण सम्बन्ध र सहकार्यलाई थप मजबुत र व्यापक बनाउँदै अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु परिवर्तन, अन्तर धर्म सम्वाद तथा हरित विकास जस्ता क्षेत्रमा थप सहकार्य गर्ने सम्भावना रहेको धारणा व्यक्त गरे । 

भेटका क्रममा उपराष्ट्रपति यादवले द्विपक्षीय सम्बन्धका विविध आयामलाई थप सुदृढ तुल्याउन राजदूत जिरेलीको सक्रिय भूमिका रहने विश्वास व्यक्त गर्नुभएको उपराष्ट्रपतिको कार्यालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।  





  • प्रकाशित मिति : असार १८, २०८० साेमबार १७:५५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया