logo-img

विश्वकप छनोटमा नेपाल : उपलब्धि पुरानै, अनुभव नयाँ

यसपालिको आइसिसी एकदिवसीय विश्वकप क्रिकेट छनोट प्रतियोगिता नेपालका लागि नयाँ अनुभव हासिल गर्नमा सीमित रह्यो । नेपालले यही प्रतियोगितामा पहिलोपटक टेस्ट टोलीविरुद्ध ओडिआई खेल्न पायो । 

एकै प्रतियोगितामा तीन टेस्ट टोलीविरुद्ध खेल्ने अवसर पाएको नेपालले नतिजा भने पुरानै दोहोर्याएको हो । अर्थात् यसपल्ट पनि नेपालले आठौँ स्थान प्राप्त गर्‍यो । सन् २०१८ मा भएको विश्वकप छनोटमा पनि नेपाल आठौँमा सीमित भएको थियो ।



उपलब्धि ५ वर्षअघिकै दोहोर्याए पनि नेपालको प्रदर्शनमा भने केही सुधार देखियो । प्रतियोगिताको पहिलो खेलमै घरेलु टोली जिम्बाब्वेविरुद्ध २ सय ९० रन बनाउँदै नेपालले विपक्षी टोलीलाई झस्कायो ।

सोही खेलमा ओपनिङ ब्याटरद्वय कुशल भुर्तेल र आसिफ शेखले १७१ रनको कीर्तिमानी साझेदारी गरे । यो कुनै पनि विकेटका लागि नेपाली ब्याटरले बनाएको अहिलेसम्मै ठूलो साझेदारी हो । 

उत्कृष्ट ब्याटिङका बाबजुद जिम्बाब्वेविरुद्ध नेपाल ८ विकेटले पराजित भयो । पराजय बेहोरे पनि नेपालको ब्याटिङको भने प्रशंसा भयो । दोस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध ६ विकेटको जित निकाल्यो । उक्त खेलमा करण केसीले ९ ओभरमा ३३ रन दिएर ४ विकेट लिएका थिए । गुलशन झाले ३ विकेट लिएको अमेरिकाविरुद्धको खेलमा भीम सार्कीले अविजित ७७ रन बनाउँदा नेपाल विजयी भयो ।  



अमेरिकाविरुद्धको जितपछि नेपालको भेट दुईपटकको ओडिआई विश्वकप विजेता वेस्ट इण्डिजसँग भयो । विश्व विजेता टोलीसँग पहिलोपटक खेलेको नेपालले निडर प्रदर्शन गर्‍यो । 



सो खेलमा वेस्ट इण्डिजको मध्यक्रमका ब्याटरलाई आउट गर्न नसक्दा नेपालले ३४१ रनको लक्ष्य पाएको थियो । जवाफमा नेपालले ४९.४ ओभरमा २३८ रनमा अलआउट भयो । खेल १०१ रनले हारे पनि नेपालको प्रदर्शनको धेरैले तारिफ गरे । 

लयमा देखिएको नेदरल्याण्ड्सविरुद्धको निर्णायक खेलमा भने नेपालको प्रदर्शन कमजोर रह्यो । सो खेलमा ब्याटिङ र बलिङ दुवैमा चुक्दा नेपाल सुपर सिक्समा पुग्न सकेन । नेदरल्याण्ड्सविरुद्ध नेपाल १६७ रनमै अलआउट भएको थियो ।  

विश्वकप खेल्ने सपना अधुरै रहेपछि नेपालले सातौं स्थानका लागि प्लेअफ खेल्नुपर्ने भयो । प्लेअफ सेमिफाइनलमा यूएईलाई ३ विकेटले हराउँदै नेपालले आयरल्याण्डसँगको भेट पक्का गर्यो । 

मंगलबार सातौं स्थानका लागि भएको टेस्ट टोली आयरल्याण्डसँगको प्रतिस्पर्धामा नेपाल ३ विकेटले पराजित हुन पुग्यो । हरारे स्पोर्ट्स क्बलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २ सय ६८ रन बनायो । नेपालले दिएको २ सय ६९ रनको लक्ष्य पछ्याउन आयरल्याण्डले ८ विकेट गुमाउनुपर्‍यो ।  

खेलमा हार बेहोरे पनि इंग्ल्याण्ड र पाकिस्तानलगायत विश्व च्याम्पियनलाई हराइसकेको आयरल्याण्डविरुद्ध नेपालले प्रशंसायोग्य प्रदर्शन गर्‍यो । विश्वकप छनोटको यस प्रदर्शनले युवा खेलाडीले भरिपूर्ण नेपाली टोली सही दिशामा अगाडि बढिरहेको संकेत देखाएको छ ।     

एक–डेढ वर्षयता नेपालले क्रिकेटमा केही महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । टोलीको अहिलेको उपलब्धिमा मुख्य प्रशिक्षक मोन्टी देसाईको पनि महत्वपूर्ण भूमिका देखिन्छ । 

उनको आगमनपछि प्रदर्शनमा त सुधार आएकै छ, टोलीको एकता पनि थप मजबुत बनेको छ । नेपालले यही २८ असारदेखि श्रीलंकामा हुने एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्नेछ । समूह चरणमा नेपालले भारत, पाकिस्तान ‘ए’ र यूएईको सामना गर्नेछ ।

  • प्रकाशित मिति : असार २०, २०८० बुधबार १२:३९:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया