logo-img

गल्ती गर्ने, स्विकार्ने तर नसुध्रने प्रचण्ड
आत्मालोचना गरे गल्ती क्षम्य हुने कम्युनिष्ट दर्शनमा विश्वास राख्छन् प्रचण्ड

आफ्नो अभिव्यक्तिका कारण प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पटकपटक विवादमा आइरहनु कुनै नौलो कुरा रहेन । 

कालान्तरमा सोही अभिव्यक्तिलाई लिएर ‘मैले गल्ती गरेँ, मैले गल्ती बोले’ भनेर स्विकार्न पनि प्रचण्ड धक मान्दैनन् । तर त्यतिबेलासम्म बागमतीमा पानी धेरै बगिसकेको हुन्छ ।  

मंगलबार पनि यस्तै एक अभिव्यक्तिका कारण प्रचण्ड विवादित बनेका छन् । कतिसम्म भने सोही अभिव्यक्तिलाई लिएर प्रमुख विपक्षी दल एमालेले आज संसदमा हंगामा खडा गर्‍यो ।   



नेपालमा पहिलोपटक ट्रक ल्याएका प्रितम सिंहमाथि लेखिएको पुस्तक विमोचन कार्यक्रममा प्रचण्डले दिएको अभिव्यक्तिले अहिले नेपाली राजनीति तातेको छ । उक्त कार्यक्रममा प्रचण्डले भनेका थिए– सरदार प्रितम सिंहजीले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो, धेरैचोटि दिल्ली पनि जानुभयो ।

नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसमेत उपस्थित रहेको कार्यक्रममा प्रधानमन्त्रीको हैसियतले बोलेको यो कुराले नेपालमा प्रधानमन्त्री बन्न दिल्ली नै निर्णायक हो भन्ने सन्देश गयो । यसलाई धेरैले प्रधानमन्त्रीबाट आएको दुर्भाग्यपूर्ण अभिव्यक्तिको संज्ञा दिएका छन् । 



पहिले बोल्ने र पछि पछुताउने प्रचण्डको स्वभाव नै हो । कुनै दिन उनले आफूले त्यसरी बोल्नु गल्ती भएको बताउने निश्चितरूपले सम्भव छ । 

यस्तो घटना पटकपटक भएका छन् । स्वर्गीय गिरिजाप्रसाद कोइरालाको १०० औँ जन्मजयन्तीको अवसरमा यही १८ असारमा काठमाडौंमा आयोजित कार्यक्रममा पनि प्रचण्डले आफ्नो त्यही प्रवृत्ति दोहोर्याएका थिए ।



पटकपटक गलत निर्णय गर्ने, गल्ती गरेँ भनेर स्विकार्ने तर नसुध्रने प्रचण्डले कोइरालालाई राष्ट्रपति नबनाएर गल्ती गरेको भन्ने कुरा यसअघि पनि भन्दै आएका हुन् । प्रचण्डले कोइरालालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन सघाउने वचन दिएका थिए । त्यो भेटमा प्रचण्डले कोइरालालाई भनेका थिए, ‘तपाईँ राजतन्त्रको अन्त्य गर्न दह्रोसँग उभिनुस्, गणतन्त्र नेपालको पहिलो राष्ट्रपति तपाईँ पक्का ।’

माओवादी केन्द्रको हालै बसेको पदाधिकारी बैठकमा प्रचण्डले कोशी प्रदेशको नामकरणमा पार्टीले गल्ती गरेको भन्दै पहिचानका पक्षमा उभिने निर्णय गरेको थियो । माओवादीकै समर्थनमा प्रदेशको नाम कोशी पारित भएपछि पूर्वी नेपालका विभिन्न स्थानमा विरोध भइरहेका बेला प्रचण्डको अभिव्यक्ति र माओवादीको निर्णयले आन्दोलनलाई थप चर्काएको भन्दै आलोचना भइरहेको छ ।

१७ फागुन २०७९ मा प्रदेश सभाको बैठकले प्रदेशको नाम कोशी नामकरण गरेको थियो । माओवादीले कोशी प्रदेशका पक्षमा मतदान गरेको थियो । नामकरणमा कोशीलाई समर्थन गर्ने भन्दै मत दिने तर पछि त्यसलाई स्वयं माओवादी अध्यक्षले ‘गल्ती’ भन्नु आफैंमा विरोधाभास देखिन्छ, त्यो पनि सत्ताको नेतृत्वमा बसेर ।

प्रचण्डले चितवनको बाँदरमुढे घटनालाई लिएर पनि गल्ती भएको अभिव्यक्ति दिँदै आएका छन् । त्यो पनि एकपटक होइन, पटकपटक । बाँदरमुढे त्यही ठाउँ हो, जहाँ २३ जेठ २०६२ मा माओवादीको एम्बुसमा परेर ३८ जना सर्वसाधारणले ज्यान गुमाएका थिए । तत्कालीन युद्धरत पक्षको सुप्रिम कमान्डरसमेत रहेका प्रचण्डले ‘बाँदरमुढे घटना सशस्त्र द्वन्द्वको क्रममा घटेको सबैभन्दा ठूलो भुलबस भएको गल्ती थियो’ भन्दै आएका छन् ।

२०५२ मा जनयुद्ध सुरु गरेदेखि २०६३ मा विस्तृत शान्ति सम्झौता हुँदै अहिलेसम्म आइपुग्दा प्रचण्डले सार्वजनिक रूपमा बोलेका कतिपय विवादास्पद अभिव्यक्तिलाई लिएर पछि गल्ती स्वीकार गरेको अर्को सन्दर्भ हो–नेपाली सेना । 

शान्ति प्रक्रियामा आउनासाथ प्रधानमन्त्री निवास बालुवाटारबाटै उनले नेपाली सेनालाई ‘बलात्कारी’ भनिदिए । यसको पनि चौतर्फी आलोचना हुनुकासाथै सेनाले पनि आपत्ति जनाएपछि उनले गल्ती स्वीकार गरे । 

सेनाकै सन्दर्भमा ०६६ सालमा प्रचण्डले तत्कालीन प्रधानसेनापति रुकमांगद कटवाललाई हटाउने प्रयास गरेका थिए । तर, उनको यो प्रयास असफल मात्र भएन, यही प्रयासका कारण उनको प्रधानमन्त्री पद पनि गयो । 

उनले पटक–पटक त्यसबेला सेनालाई चलाउन खोज्नु आफ्नो गम्भीर गल्ती भएको स्वीकार्दै आएका छन् । 

२०४५ सालयता प्रचण्ड निरन्तर पार्टीको नेतृत्वमा छन् । राजनीतिकरूपमा तत्काल के फाइदा हुन्छ, त्यो निर्णय प्रचण्डले लिइहाल्छन् । फाइदा लिइसकेपछि उतिबेला गलत भएछ भनेर सहानुभूति लिने प्रचण्ड प्रवृत्ति हो । 

जस्सरी पनि प्रधानमन्त्री बनिछाड्ने भन्दै प्रचण्डले १० पुस २०७९ मा तत्कालीन पाँचदलीय गठबन्धन तोडेर एमालेसँग सहकार्य गरे । तर, २ महिना पनि बित्न नपाउँदै उनले एमालेसँगको सहकार्य तोडेर पुनः कांग्रेससँग हातेमालो गरे । आफ्नो चिरपरिचित शैलीमा उनले भने– एमालेसँग सहकार्य गर्नु गल्ती थियो ।

प्रचण्डको गल्ती अभिव्यक्तिको अर्को उदाहरण हेरौं– एमालेसँग पार्टी एकता गरेर बनेको नेकपाको अध्यक्ष रहेको बेला पनि उनले एउटा टिप्पणी गरे । २०७७ साल असारमा उनले नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई पूर्वसहमति विपरीत पूरै कार्यकाल प्रधानमन्त्री बन्न दिने आफ्नो निर्णय गलत भएको बताएका थिए । प्रचण्डले तत्कालीन नेकपाको सचिवालय बैठकमा ओलीकै सामुन्ने भनेका थिए– तपाईंलाई पाँचै वर्ष प्रधानमन्त्री मान्छु भन्नु नै मबाट गल्ती भयो ।’ 

अब अर्को उदाहरण हेरौं– ५ पुस २०७७ मा तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा दुई धारमा विभाजित भयो । प्रचण्ड विघटनविरुद्धमा उभिए । १४ पुस २०७९ मा काठमाडौंमा आयोजित विरोधसभामा प्रचण्डले भने, ‘ओलीजी सच्चिए भनेर विश्वास गर्नु नै मेरो गल्ती भयो ।’

२०७७ फागुनमा एमाले र माओवादी मिलेर बनेको नेकपा अस्तित्वमा रहेन । सर्वोच्चको फैसलापछि एमाले र माओवादी ब्यूँतिए । तर माओवादीका केही नेता एमालेतिरै रहे । तिनैमध्येका एक थिए, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल । बादल एमालेमै बस्ने भएपछि प्रचण्डले कडा टिप्पणी गरे ।

उनले बादलाई गृहमन्त्री बनाउनु आफ्नो गल्ती भएको बताए । रुकुम पश्चिमको सदरमुकाम खलंगामा २४ चैत २०७७ मा आयोजित सभालाई सम्बोधन गर्दै उनले बादलतिर संकेत गर्दै भने, ‘ममाथि बम हान्नेलाई गृहमन्त्री बनाए, केही पनि आधार नभएकालाई स्थायी समितिमा ल्याएँ । मबाट गल्ती त भएकै हो ।’

त्यही कार्यक्रममा प्रचण्डले अर्को गल्ती पनि स्विकार गरे । उनले भने, ‘पार्टीप्रति समर्पित र नेतृत्वप्रति वफादारहरूलाई स्थान दिनु पर्नेमा गलत व्यक्तिहरूलाई पार्टी र सरकारमा ठाउँ दिएर गल्ती गरेँ ।’

माओवादी निरन्तररूपमा कमजोर बन्न थालेपछि विगतमा गरिएका कतिपय निर्णय गलत थिए भन्ने अवस्थामा पनि प्रचण्ड पुगेका देखिन्छन् । तर ती गल्तीलाई कसरी सुधार्ने भन्ने विषयमा भने उनी केही बोल्दैनन् । उदाहरण हो– माओवादी केन्द्रको आठौँ महाधिवेशनमा प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन ।

१६ पुस २०७८ मा प्रतिवेदन पेस गर्दै उनले पार्टी शान्ति प्रक्रियामा आएपछि आफूले पटक पटक गल्ती गरेको स्वीकार गरेका थिए । प्रचण्डले सेना समायोजनका क्रममा पार्टीमा छलफल नगर्नुलाई पनि आफ्नो गल्ती भएको स्वीकारेका छन् । उनले भनेका छन्, ‘सेना समायोजनका बेला पर्सनल बिजनेस डिल जस्तो गरियो, केन्द्रीय समितिको म्याण्डेट पनि लिइएन, पार्टीमा छलफल पनि गरिएन, यो गल्ती भयो ।’ 

प्रचण्डले प्रचण्डपथलाई अकस्मात् स्थगित गर्नुलाई पनि गल्ती भएको स्वीकार गरेका छन् । ‘यसबारे पार्टीको कुनै तहमा छलफल पनि भएन, कि प्रचण्डपथ विचार नै होइन भन्नुपर्थ्यो, विचार थियो भने छलफल गर्नुपर्थ्यो ।’ जोड्दै जाने हो भने प्रचण्डका गल्तीका यस्ता श्रृंखलाको लर्को लामै हुन्छ ।

प्रचण्ड किन यस्तो गर्छन् ?

नेपाली राजनीतिमा उपयोगवादी नेताको छवि बनाएका प्रचण्डका लागि सार्वजनिकरूपमा गल्ती स्वीकार गर्न कुनै असहज हुँदैन । किनकी, भिडको मनोविज्ञान हेरेर गल्ती भएको स्वीकार गर्ने तर त्यसबाट पाठ नसिक्ने प्रचण्डको रणनीति नै बनेको छ । 

लागेको बानी सहजै छुट्दैन पनि । प्रचण्डलाई पनि सायद यस्तै बाध्यता होला ।  

  • प्रकाशित मिति : असार २०, २०८० बुधबार १४:१७:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया