आदिकवि भानुभक्तको जन्मजयन्ती तीन दिन मनाइने

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी मनाइने भएको छ । 

आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीका अवसरमा दीपावली, खुला कविता प्रतियोगिता र रामायण वाचन प्रतियोगिता गरिने आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका कार्यकायरी निर्देशक शङ्कर रानाभाटले जानकारी दिए । उनका अनुसार नेपाली साहित्यको  प्रवर्द्धन गर्ने उद्देश्यले उक्त प्रतियोगितामा देशभरका साहित्यकारलाई निम्तो गरिएको बताए । 

खुला कविता प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय  हुनेलाई क्रमशः १० हजार रुपैयाँ, सात हजार रुपैयाँ र पाँच हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ । यस्तै रामायण वाचनतर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु पाँच हजार, रु तीन हजार र रु एक हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रतियोगितामा सहभागिताका लागि इमेलबाट पनि कविता पठाउन सकिने व्यवस्था गरिएको छ ।  उक्त कार्यक्रममा साहित्यिक क्षेत्रका विभिन्न व्यक्तिलाई सम्मान समेत गरिने छ । जन्मजयन्तीको कार्यक्रममा बालन, कुमालका पाउदुरे र मगरका कौराह नृत्य प्रदर्शन गरिने अध्यक्ष ऋषिराम पन्तले दिए ।
    
छायाङ्कन हुँदै आदिकवि सम्बन्धी गीत 

‘भानुभक्त आचार्य हुन् नेपालका आदिकवि
 साहित्यका शिखरको चहकिलो रातो छवि
रामायण लेखे उनले, अकविता मेटे उनले
साहित्यको यौटा नयाँ मूल बाटो भेटे उनले
तनहुँका डाँडाकाँडा त्यसै पनि हराभरा 
भानुभक्त जन्मेपछि मुस्कुराई वसुन्धरा’

यो गीत राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यका बारेमा ८२ वर्षीय गायक रामबाबु सुवेदीले लेखेको र गीत गाएका हुन् । भानुभक्तको क्षेत्र र उनका कृतिलाई सदैव जीवन्त राख्नका लागि गायक सुवेदीले भानुभक्तसम्बन्धी बालगीत गाएका हुन् । 
    
बालबालिकाबाट नै आदिकविको संरक्षण र प्रवद्र्धनमा जोड दिनसके उनी सदैव जीवन्त रहने उनको बुझाइ छ । उनले माया, पिरती, बिछोडका गीतमा बालबालिकालाई सहभागी गराउनुभन्दा उनीहरुको उमेरलाई सुहाउँदो गीतमा सहभागिता गराउँदा उनीहरूमा सकारात्मकता विकास हुनेको उनको भनाइ छ । 
    
उक्त गीत २१०औँ भानु जयन्तीको अवसरमा सार्वजनिक गर्ने गरी भानुभक्तको गीतमा स्थानीय १२ बालिकालाई सहभागी गराइएको निर्देशक आचार्य गोपालले जानकारी दिए । 



राष्ट्रिय विभूति आदिकवि भानुभक्तलाई उक्त गीतले जीवन्त राख्ने उनको भनाइ छ । भानुभक्तकै जन्मस्थलमा छायाङ्कन गरिएको उक्त गीत यही असार २९ गते २१०औँ भानु जन्मजयन्तीका अवसरमा सार्वजनिक गरिनेछ ।  



  • प्रकाशित मिति : असार २२, २०८० शुक्रबार ११:४:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया