समाजवादी मोर्चामा नअटाएपछि बाबुरामको घोषणा : अब उदाउँदै गरेका नयाँ शक्तिसँग सहकार्य गछौँ

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले समाजवादी मोर्चा सत्ता दोहनका लागि मात्र बनेको टिप्पणी गरेका छन् । उनले केवल अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने आशयका साथ समाजवादी मोर्चा बनेको टिप्पणी गरेका हुन् ।

भट्टराईले आफूसँग कुनै परामर्श र छलफल नगरी रहस्यमय ढंगले समाजवादी मोर्चाको एकतर्फी घोषणा गरेकोप्रति पनि असन्तुष्टि पोखेका छन् ।

‘पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिक–राजनीतिक विषयप्रतिको अरुचि/अनिच्छा र खाली तत्कालीन संसदीय अंकगणितप्रतिको अतिशय लिप्साको प्रतिफल स्वरूप हामीसँग कुनै परामर्श र छलफलबिनै रहस्यमय ढंगले कथित ‘समाजवादी मोर्चा’ को एकतर्फी घोषणा हुनपुग्यो,’ भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नयाँ युगको नयाँ ढंगको समाजवादवारे कुनै स्पष्ट सोच नभएको र सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यसमा हामी संलग्न हुने प्रश्नै उठेन, किनकी त्यो समाजवादको उदात्त ध्येयप्रति नै ठूलो घात हो ।’

यस्तै, उनले आफू नयाँ वैकल्पिक शक्ति निर्माणकै पक्षमा रहेको पनि स्पष्ट पारेका छन् ।  

‘जहाँसम्म हामी नयाँ शक्तितिर कि पुरानो शक्तितिर भन्ने प्रश्न छ हामी नै वास्तवमा वैचारिकरूपले गत एक दशकदेखि देशमा नयाँ वैकल्पिक राजनीति–शक्तिका प्रमुख प्रवर्तक भएकाले हामी नयाँ वैकल्पिक शक्ति निर्माणकै पक्षमा रहेको र रहने कुरा स्वतः स्पष्ट छ,’ भट्टराईले भनेका छन्, ‘बीचमा केही क्षेत्रीयतावादी शक्तिहरूसँग सहकार्य गर्दा हाम्रो छवि जनसमक्ष धमिलिन पुगेको कुरालाई स्वीकार्दै हामीले आत्मालोचनासहित त्यसलाई सच्याउने कार्य गरिसकेका छौँ ।’ 

उनले आफूहरू अब नयाँ पार्टीहरूसँग सहकार्य गर्न तयार रहेको पनि उल्लेख गरेका छन् । 



‘अतः नयाँ युगको र देशको आवश्यकताअनुरूप हामी देशमा उदाउँदै गरेका सबै अग्रगामी नयाँ शक्तिहरूसँग सहकार्य गर्दै वृहत् नयाँ वैकल्पिक शक्ति निर्माणमा प्रतिबद्ध रहेको र रहने कुरा द्विविधारहित ढंगले स्पष्ट पार्न चाहन्छौं,’ भट्टराईले भनेका छन् । 



  • प्रकाशित मिति : असार २४, २०८० आइतबार ९:२८:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया