शिर डोलेश्वरमा श्रावणी मेलाको तयारी पूरा, २ लाख दर्शनार्थीले अवलोकन गर्ने आकलन

भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित प्रसिद्ध केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा १ साउनेदेखि लाग्ने श्रावणी मेलाको अन्तिम तयारी पूरा भएको छ ।

मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले हरेक वर्षझैँ यस वर्ष पनि साउन १ गतेदेखि भदौ ६ गतेसम्म लाग्ने ३५ दिने श्रावणी मेलाको तयारी सकिएको बताए । यस वर्ष करिब दुई लाखले मेला अवलोकन गर्ने अपेक्षा गरिएको उनको भनाइ छ । श्रावणी मेलामा शनिबार र सोमबार दर्शनार्थीको अत्यधिक भीड हुने भए पनि पूजा गर्न एक घन्टाभन्दा बढी बस्न नपर्ने गरी व्यवस्थापन गरिएको जानकारी दिए ।

उनले विगतका वर्ष श्रावणी मेलाबाट करिब ५० लाख रुपैयाँ बचत हुने गरेको भन्दै यस वर्ष भारतीय पर्यटक बढेकाले १ करोड २५ लाख रुपैयाँसम्म बचत हुने अपेक्षा गरिएको अध्यक्ष बस्नेतले बताए ।

पञ्चस्नान गर्ने दर्शनार्थीका लागि पञ्चस्नानका सामग्रीका लागि १ हजार १ सयको रसिद काटेर दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको छ । व्यवस्थापन समितिका महासचिव हरिशरण बस्नेतले साउन १ गते सोमबार बिहान स्थानीय पौखेलस्थित चन्द्रविनायक मन्दिरबाट कलश यात्रा गरी मेलाको शुभारम्भ गरिने जानकारी दिए ।  
    
उनले २ साउनदेखि ८ गतेसम्म पण्डित जनार्दन पौडेलबाट शिव पुराण कथावाचन, साउन ९ गतेदेखि १५ गतेसम्म पण्डित उद्धवनारायण बास्कोटा शास्त्रीबाट पुरुषोत्तम महात्म्य वाचन, साउन १६ गतेदेखि २२ गतेसम्म पण्डित राघव अर्यालबाट श्रीमद्भागवत महापुराण वाचन गरिने जानकारी दिए ।  

साथै साउन २३ गतेदेखि २७ गतेसम्म पण्डित बालकृष्ण अर्यालबाट विभिन्न धार्मिक प्रवचन, साउन २८ गतेदेखि भदौ ५ गतेसम्म विभिन्न गुरुहरूबाट धार्मिक प्रवचनका साथै कलाकारले भजनकीर्तन प्रस्तुत गर्नुहुनेछ । वि.सं २०६६ भदौमा मन्दिरलाई केदारनाथको शिर घोषणा गरिएको थियो । सोही अवसरमा ६ भदौमा विशेष कार्यक्रम आयोजना गरी मेलाको समापन गरिँदै आइएको छ ।



मेला अवधिमा स्वयंसेवक परिचालन गरिनेछ भने स्वास्थ्य शिविर पनि आयोजना गरिनेछ । सूर्यविनायक नगरपालिका–८ का वडाध्यक्ष पुष्पराज बस्नेतले डोलेश्वर मन्दिर धार्मिकसँगै पर्यटकीय गन्तव्यकारूपमा समेत विकास गर्दै गएको बताउँदै नगरपालिकाले यहाँका शिवालयलाई समेटेर शिव सर्किटको निर्माण सुरु गरेको बताए ।  
    
डोलेश्वर क्षेत्र धार्मिक पर्यटकीय दृष्टिकोणले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत ख्याति कमाउन थालेकाले नगरपालिकाले आर्थिक विकासका लागि विभिन्न कार्यक्रम गर्दै आएको छ । मेलाका लागि नेपाली सेनाको इन्द्र बक्स गण सूर्यविनायक, नेपाल प्रहरी, सामुदायिक वन उपभोक्ता महासङ्घ भक्तपुर तथा विभिन्न सङ्घसंस्था एवं स्थानीयको सहभागिता हुनेछ । सूर्यविनायक नगरपालिकाको सहयोगमा निर्माण भएको मुलद्वार भोलि उद्‍घाटन गरिनेछ । रासस



  • प्रकाशित मिति : असार ३१, २०८० आइतबार १३:६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया