अब कुकुर पाल्न दर्ता अनिवार्य

बागलुङ नगरपालिकाले छाडा कुकुर, सामुदायिक कुकुर र घरपालुवा कुकुरको व्यवस्थापनका लागि कुकुर दर्ता गर्ने काम थालेको छ । नगरपालिकाले चालू आर्थिक वर्षदेखि घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने नीति लिएको हो ।

नगरपालिकाले कुकुर दर्तासँगै रेबिजविरुद्धको खोप प्रदान गर्ने, छाडा कुकुर नियन्त्रण गर्न बन्ध्याकरण गर्ने, घरपालुवा कुकुरको तथ्याङ्क सङ्कलन गर्ने, दर्ता गर्ने र निःशुल्क औषधि उपचार तथा परामर्श दिन थालेको हो । 

नगरभित्र रहेका छाडा कुकुरको व्यवस्थापन गर्न पालिकाले ‘घरपालुवा तथा सामुदायिक कुकुर व्यवस्थापन कार्यविधि–२०७९’ बनाएर कार्यान्वयनमा ल्याएको छ । कार्यविधि अनुसार घरपालुवा कुकुरको दर्ता गरी रेबिज विरुद्ध खोपको व्यवस्थापन गर्ने, छाडा कुकुर पाल्नका लागि कुकुर होस्टेल निर्माण गर्ने तथा मृत्यु भएका कुकुरको शव व्यवस्थापन गर्ने उल्लेख छ ।  

कार्याविधि कार्यान्वयनअन्तर्गत कुकुर दर्ता गरी खोप कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ ।  चालू आर्थिक वर्षमा कुकुर होस्टेल स्थापना गरिने नगरपालिकाका पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटाले जानकारी दिए । उनका अनुसार पालिकाले चालू आर्थिक वर्षमा छाडा कुकुर नियन्त्रण तथा होस्टेल निर्माणका लागि १५ लाख रुपैयाँ विनियोजन गरेको छ ।  

नगरपालिकाले आर्थिक वर्षको पहिलो दिनबाटै कुकुर व्यवस्थापनका लागि घरपालुवा कुकुरको दर्ता गर्न थालेको प्रमुख सापकोटाले बताए । घरपालुवा कुकुरको अनिवार्य दर्ता गर्नुपर्ने उहाँको भनाइ थियो । उनका अनुसार घरपालुवा कुकुरको दर्तासँगै भिटामिन, रेबिज र अन्य रोगको खोप प्रदान गर्न थालिएको छ भने घरधनीलाई कुकुर दर्ता प्रमाणपत्र प्रदान गर्न थालिएको छ ।

पशु सेवा शाखा प्रमुख सापकोटाका अनुसार कुकुर दर्ताका लागि २ सय रुपैयाँ तिर्नुपर्नेछ भने नवीकरणका लागि १ सय रुपैयाँ तिर्नुपर्नेछ । नगरपालिकाले दर्ता भएका कुकुरलाई एक वर्षमा १ हजार रुपैयाँभन्दा बढी सेवासुविधा दिने उनले बताए ।



‘घरधनीले नगरपालिकामा ल्याएर कुकुरलाई दर्ता गर्नुपर्नेछ । दर्ता गरेको कुकुरलाई एक वर्षसम्म खोप, उपचार र आवश्यक परामर्श निःशुल्क गर्नेर्छौँ,’ प्रमुख सापकोटाले भने, ‘नगरपालिकामा दर्ता भइसकेका कुकुरलाई दर्ता नं सहितको बेल्ट घाँटीमा बाँधेर पठाउने गरेका छौँ ।’

घरपालुवा कुकुर हराएमा खोज्न सजिलो हुनुका साथै हराएको कुकुरले कसैलाई टोकेमा घाँटीमा बाँधिएको बेल्टका आधारमा कुकुरधनी पत्ता लगाउन सहज हुने उनले बताए । रासस



  • प्रकाशित मिति : साउन २, २०८० मंगलबार १२:५४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया