भक्तपुर क्याम्पस प्रमुखको आग्रह : तालाबन्दीले गाह्रो भयो, वार्ताबाट अगाडि बढौँ

भक्तपुर क्याम्पसमा क्याम्पस प्रमुखको नियुक्तिलाई लिएर भइरहेको विवाद अझै समाधान हुन सकेको छैन ।

त्रिवि कार्यकारी परिषद्ले नयाँ क्याम्पस प्रमुख नियुक्ति गरेपछि गत २२ जेठमा नेविसंघ इकाइले विरोध जनाएपछि अहिलेसम्म यो विवाद समाधान हुन नसकेको हो । 

विवाद कायमै रहँदा हाल पनि क्याम्पस प्रमुखको कार्यकक्ष, प्रशासनको ताला खुल्न सकेको छैन ।

नेविसंघले क्याम्पस प्रमुखको कुर्सी र नवनियुक्त क्याम्पस प्रमुख कविता लुइँटेल भट्टराईको नेमप्लेट नजिकैको रुखमा झुन्ड्याउनुको साथै शिक्षक तथा कर्मचारीले हाजिर गर्ने दुईवटा थम्प मेसिनसमेत गायब पारेको छ ।

क्याम्पस प्रमुख भट्टराईले नेविसंघसँग अनौपचारिक कुरा भइरहे पनि औपचारिक वार्ता भने हुन नसकेको जानकारी दिइन् । उनले तालाबन्दीले क्याम्पसमा कार्यरत प्राध्यापक, कर्मचारीको तलब पाउने अवस्थामा समेत अवरुद्ध भइरहेको पनि उल्लेख गरेकी छन् ।  

‘प्राज्ञिक क्षेत्रको सम्मानित क्याम्पस प्रमुखको कुर्सी, नेमप्लेट रूपमा झुन्ड्याउने कार्यले आजको एक्काइसौं शताब्दीको मानव चेतनालाई गिज्याइरहेको छ भने अर्कोतिर निरन्तरको क्याम्पस प्रमुखको कक्ष, लेखा शाखा र प्रशासनको तालाबन्दीले क्याम्पसमा कार्यरत प्राध्यापक, कर्मचारीको तलब पाउने अवस्थामा समेत अवरुद्ध भएको छ,’ भट्टराईले मंगलबार जारी गरेको प्रेस विज्ञप्ति भनिएको छ, ‘त्रिविको वार्षिक योजनामा परेका यस क्याम्पसका पूर्वाधार विकासका कामहरूलाई निरन्तरता दिने र निर्माण भइरहेका कामलाई पूर्णता दिने स्थितिमा समेत असर परेको छ ।’



उनले निमित्त क्याम्पस प्रमुख सुदर्शना शाक्यलाई दुर्व्यवहार गरिएको, गलहत्याएको भन्ने प्रचारमा कुनै सत्यता नभएको पनि प्रष्ट पारेकी छन् ।

क्याम्पस प्रमुख भट्टराईले क्याम्पसमा देखा परेको समस्या समाधानका लागि आपसी संवाद र वार्ताका माध्यमबाट अगाडि बढ्न पनि सरोकारवालामा अपिल गरेकी छन् । 



  • प्रकाशित मिति : साउन ३, २०८० बुधबार ९:४०:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया