नेपाली फुटबललाई हेर्ने दृष्टिकोण बदल्ने गरी खेल्नेछु : सावित्रा भण्डारी

व्यावसायिक फुटबल खेल्न इजरायल जान लागेकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारीलाई बिदाइ गरिएको छ ।  

बुधबार युवा तथा खेलकुद मन्त्रालयमा एक कार्यक्रम आयोजना गरी उनलाई बिदाइ गरिएको हो । सावित्राले इजरायलको क्लब हापोएल रानानाबाट युरोपमा लिग खेल्दै छिन् । बिदाइ कार्यक्रममा बोल्दै नेपालका लागि इजरायली राजदूत हानन गोदारले इजरायली क्लबमा नेपाली खेलाडी भित्र्याउनु ऐतिहासिक क्षण भएको र सावित्राको खेल हेर्न आतुर रहेको प्रतिक्रिया दिए ।

उनले खेलकुदले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरे । ‘म धेरै नै खुसी छु, किनभने ऐतिहासिक क्षण छ, हामी सबै युरोप लिगमा नेपाली खेलाडी सावित्रा भण्डारीले खेलेको हेर्न आतुर छौँ,’ राजदूत गोदारले भने, ‘हाम्रो देश र दूतावास उहाँको स्वागतका लागि तयार छ । हामीले हस्ताक्षर गरेका छाैँ, अब उहाँले खेलेको खेल हेर्न बाँकी छ, यसले दुई देशको सम्बन्ध थप विस्तार हुनेछ ।’

बिदाइ कार्यक्रममा सावित्राले यति छोटो समयमा कल्पना नगरेको सम्मान पाएको बताइन् । उनले एसियाबाट युरोपमा लिग खेल्न जाँदै गर्दा आफूसँग चुनौती भए पनि त्यसलाई स्वीकार्न तयार रहेको बताइन् । उनले आफूले दक्षिण एसियामा आफूलाई प्रमाणित गरिसकेको र युरोपमा हुने लिगमा पनि अन्तिमसम्म नै प्रमाणित गर्न लागिपर्ने बताइन् ।  



‘मैले बंगलादेशबाट भिसाको अपिल गर्ने त्यसपछि गइहाल्छु भन्ने सोचेकी थिएँ, बंगलादेशबाट अस्ति आएँ, हिजोको दिन बाँकी थियो, यति छोटो समयमा यति ठूलो कार्यक्रम राखिदिनुभयो । त्यसका लागि मन्त्रीज्यूलाई हृदयदेखि नै आभार व्यक्त गर्छु । एसियाबाट युरोप लिगमा खेल्दैछु, मेरा लागि चुनौती छ, तर म सहजै स्वीकार्न तयार छु,’ सावित्राले भनिन्, ‘जसरी मैले दक्षिण एसियामा प्रमाणित गरेकी छु, यो मेरो लागि महत्वपूर्ण हुनेछ । यो इक्जामको लागि मेरो पहिलो चरण हो, फाइनल इक्जामसम्म आफूलाई तयार राख्नेछु । आम नेपाली महिला फ्यान्स, महिला फुटबललाई हेर्ने दृष्टिकोण भोलिका दिनमा फरक बनाउने प्रयास गर्नेछु । आउने पुस्ताका लागि मैले एउटा बाटो बनाउनका लागि पहिलो चरणको ढोका मैले खोल्दैछु ।’ 

कार्यक्रममा अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङले सावित्राले आफ्नो खेल कौशललाई राम्रोसँग प्रस्तुत गर्ने विश्वाससहित बधाइ दिए । 



  • प्रकाशित मिति : साउन ३, २०८० बुधबार १३:५३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया