आडम्बरी शिक्षा : बालबालिका शारीरिक र मानसिक शोषणमा

काठमाडौंस्थित डिल्ली बजार बस्ने रमिला खड्का सात वर्षीय छोरा रिहांश खड्कालाई दिनहुँ स्कुल लैजाने र ल्याउने काम गर्छिन् । उनका छोरा अहिले एक कक्षामा पढ्छन् । उनी कक्षा एकमा पढ्ने भए पनि उनको स्कुलको झोला हेर्दा लाग्छ, उनी कुनै भरिया हुन् र सामान बोकेर कतै पुर्याउन जाँदै छन् । 

रियांशले असिनपसिन भएर कापी, किताबसहितको झोला बोकेको देख्दा रमिलाको मन कटक्क खान्छ । उनी छोराको बाध्यता बुझेर आफैँ झोला भिरेर छोराको विद्यालयतिर लाग्छिन् । छोरालाई बिहान ९ः४५ मा स्कुल पुर्याउनु र बेलुकी ४ः०० बजे स्कुलबाट घर लिएर आउनु रमिलाको दैनिकी हो । यसबाहेकको समय उनी बिहान १० देखि साँझ ६ बजेसम्म एउटा निजी कार्यालयमा काम गर्छिन् ।

‘कहिले त कस्तो झर्को लाग्छ, आफूले काममा जानुपर्छ । बिहान त उसको (छोरा) र मेरो घरबाट निस्कने समय एउटै हुन्छ । तर, बेलुकी उसको स्कुलको बिदा ४ बजे हुन्छ । अफिसबाट हतारिँदै आउनुपर्छ,’ रमिला भन्छिन्, ‘बाबुलाई स्कुलबाट लिएर आएर कोठा पुर्याउँछु । त्यसपछि फेरि हतारिँदै अफिस पुग्छु । अफिसबाट ६ बजेमात्र छुट्टि हुन्छ । बाबुले आउनजान त सक्थ्यो, तर उसले कापी, किताब, टिफिन, पानीको बोतल भारी हुन्छ, मम्मी, सक्दिन बोक्न भन्छ ।’ छोराले झोला बोक्न नसक्दा आफूले नै बोकेर स्कुल पुर्याउने गरेको उनी सुनाउँछिन् । 

रिहांशको शारीरिक बनावट होचो र मोटो छ । सोही कारणले पनि उसलाई झोला बोक्न कठिन हुने गरेको रमिलाको बुझाइ छ । रमिलाका अनुसार रिहांशका किताब मात्रै ११ वटा छन् । किताबपिछ्छे कापी छन् । खाजा बक्स र आधा लिटर  पानीको बोटल बोक्दा त झोलाको तौल ३–४ केजी हुन्छ । 

रिहांशलाई झैँ आफ्नो स्कुलको झोला अरूले बोकिदिए पनि हुन्थ्यो भन्ने लाग्छ, आहानालाई । आहाना विष्ट अहिले चार वर्षकी भइन् । उनी दिनहुँ आफ्नी आमा सुनीतासँग स्कुल नजाने ढिपी कस्छिन् । सोही विद्यालयमा पढ्ने आहानालाई स्कुल जान मन पर्दैन । झोला बोकेर स्कुल जानुपर्दा त झन् उनी सडकमै लडिबुडी गर्दै रून्छिन् ।  

‘छोरीलाई स्कुल पठाउने दिनअगाडि नै मन चिसो भइहाल्छ । स्कुल जान्नँ भनेर रून थाल्छे । आफूलाई भने उसलाई कतिबेला स्कुल पुर्याएर काममा जाउँला हुन्छ । सानै उमेरमा उसलाई स्कुल पठाउने रहरभन्दा पनि बाध्यता हो,’ सुनीता भन्छिन्, ‘काठमाडौंको बसाइ, बेरोजगार भएर खानबस्न सकिँदैन । आफूले जागिर नगरी बच्चा हुर्काउन सकिँदैन । त्यही भएर पनि उसलाई स्कुल पठाए, अब बानी पर्ला नि !’ आहाना सानै भएर स्कुल जान मन नगरेको भए पनि विस्तारै बानी पर्नेमा भने सुनीता विश्वस्त सुनिन्छिन् । 



आडम्बरी शिक्षा : बालबालिका शोषणमा

हिजोआज बालबालिका आफ्नो क्षमताभन्दा बढी तौल भएको स्कुल झोला बोकर हस्याङफस्याङ गर्दै स्कुल गइरहेका देखिन्छन् । ६–७ वर्षका बालबालिकाका अभिभावकले उनीहरूको झोला बोकेर स्कुल पुर्याइरहेका हुन्छन् । तर, ४–५ कक्षामा पढ्ने बालबालिका भने सकी–नसकी स्कुलको झोला बोकिरहेका हुन्छन् । 



नेपालमा पाँच वर्ष पूरा भएपछि मात्रै बालबालिकालाई स्कुल पठाउनुपर्ने नियम छ । पाँच वर्ष पूरा भएका बालबालिकालाई कक्षा एकमा भर्ना गर्न सकिन्छ । तर, पछिल्लो समय भने बालबालिका दुई–तीन वर्षमै प्रि–स्कुल भन्दै धमाधम स्कुल भर्ना गरिन्छ ।

नेपालको शिक्षा प्रणाली विपरीत बालबालिकालाई स्कुल पठाउनु अनुचित भएको नेपाल अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी बताउँछन् । उनका अनुसार पाँच वर्षमुनिका बालबालिकालाई स्कुल पठाउन आवश्यक नै छैन । यदि पठाइहाले पनि किताब र गृहकार्यको बोझ थमाउनुहुँदैन । 

एक वा दुई कक्षा पढ्ने विद्यार्थीलाई गृहकार्य गर्न दिनुहुँदैन । त्यसभन्दा ठूलो कक्षाका बालबालिकालाई विषयवस्तु हेरेर, विद्यार्थीको मनोभावलाई बुझेर गृहकार्य दिनुपर्छ । विद्यार्थीलाई आधा वा एक घण्टाको गृहकार्य दिनुपर्छ । किताबको भारी पनि बोक्ने त्यसमाथि घरमा आउँदा विद्यार्थीलाई गृहकार्य बोझ बोकाउनु उचित नभएको उनको तर्क छ । 

‘विद्यालयहरूले गृहकार्य पनि न्यूनतम दिनुपर्छ । धेरै गृहकार्य दिएर बालबालिकालाई बोझ थोपार्नु पनि राम्रो होइन । विद्यालय भनेको विद्यार्थीमैत्री हुनुपर्छ,’ अध्यक्ष भण्डारी भन्छन्, ‘स्कुल जाँदा विद्यार्थी रमाउने वातावरण बनाउनुपर्छ । धेरै किताबको बोझ हाल्ने, गृहकार्यको भार दिने प्रवृत्तिलाई हटाउनुपर्छ ।’ 

उनका अनुसार हिजोआज विद्यार्थीलाई अत्यधिक किताब बोकाइन्छ, जुन बालबालिकाहरूको लागि उपयुक्त होइन । उनी सुनाउँछन्, ‘हिजोआज नेपालमा आडम्बरी शिक्षालाई बढी जोड दिइएको पाइएको छ । बालबालिकालाई यस किसिमको शिक्षा दिनु अपराध नै हो । न्यूनतम पढ्नुपर्ने कुरा पढाउनुपर्छ तर पढाइका नाममा विद्यार्थीको शारीरिक तथा मानसिक शोषण गर्नुहुँदैन ।’

सानै उमेर स्कुल पठाउँदा तथा धेरै गृहकार्य दिँदा बालबालिकालाई राम्रो हुन्छ भन्ने गलत बुझाइका कारण बालबालिकामा दबाब परिरहको अध्यक्ष भण्डारीले स्पष्ट पारे । ‘गृहकार्य न्यूनतम, बालबालिकाको उमेर समूह हेरेर दिनुपर्छ । गृहकार्य तथा पढाइका नाममा उनीहरूको मनोरञ्जन पनि खोसिँदै छ,’ अध्यक्ष भण्डारीले भने । 

प्रायः विद्यालयहरूले बर्खायाम, दसैँ र चिसोयाम गरेर वर्षमा तीनपटक बिदा दिन्छन् । विद्यार्थीलाई बिदाको समयमा अत्यधिक गृहकार्य दिने गरेको पनि अध्यक्ष भण्डारी सुनाउँछन् । उनी भन्छन्, ‘दसैँ मनाऊ, रमाऊ भनेर सरकारले छुट्टि दिएको भए पनि स्कुलले भने बिदामा बालबालिकालाई थेग्न नसकिने गरी गृहकार्य दिने गरेको पाइएको छ ।’

पर्व मनाउने बेला गृहकार्य गर्दै बस्नु पर्दा बालबालिकाको मानसिक स्वास्थ्यलाई समेत असर पारिरहेको देखिएको उनले आंैल्याए । बालबालिकाको ढाड दुख्ने गरी किताबको भारी बोकाएर, मानसिक तनाव नै हुने गरी गृहकार्य दिएर पढाएको शिक्षाको औचित्य नभएको उनको ठम्याइ छ । 

उनका अनुसार यस्तो शिक्षाको हाल नकारात्मक असर देखा नपरे पनि कालान्तरमा भने बालबालिकामा सिक्ने क्षमतामा ह्रास आउने, डराउने, तर्सिने, जीवनदेखि हरेस खाने, समस्या समाधान गर्ने क्षमतामा कमी आउनेलगायत समस्या देखिने उनको भनाइ छ । 

शिक्षाविद् विद्यानाथ कोइराला उमेर नपुगी बालबालिकालाई स्कुल पठाउनु सहरीकरणको असर भएको बताउँछन् । मानिस प्रायः एकल परिवारमा बसिरहेका हुन्छन् । एकल परिवार भएकाले बालबालिकालाई हेर्ने मानिसको अभाव हुन्छ । सोही कारण सहरहरूमा खुलेको प्रि–स्कुलहरूमा लगेर बालबालिकालाई भर्ना गरिदिने प्रवृत्ति बढिरहेको उनको ठम्याइ छ । 

‘पाँच वर्षमुनिका बालबालिकालाई स्कुल पठाउनु भनेको कुनै फललाई समय नपुगी इन्जेक्सन लगाएर पकाउनुजस्तै हो,’ शिक्षाविद् कोइराला भन्छन्, ‘उमेरअनुसार सिकाइ मिलेन भने बालबालिकालाई अनावश्यक मानसिक तनाव हुन्छ । त्यसैगरी किताब तथा गृहकार्यको भारी बोक्दा बालबालिकाको कलिलो शरीरलाई दुःख हुन्छ ।’ 

उनी भन्छन्, ‘नेपालमा पछिल्लो समय बालबालिकाको आवश्यकभन्दा पनि किताब बिक्रीबाट हुने कमिसनतिर ध्यान गएको देखिन्छ । कमिसनको लोभमा कलिला बालबालिकालाई किताबको भारी बोकाइनुका साथै मानसिक र शारीरिक शोषण गरिँदै छ । अभिभावक पनि धेरै किताब भएपछि धेरै पढ्छ भन्ने गलत बुझाइका कारण आफ्ना बालबालिकालाई दमन गरिरहेका छन् ।’

विषयको बोझ सिकाउने कि सिक्ने कला सिकाउने भन्ने कुरामा विद्यालयले ध्यान दिनुपर्छ । बालबालिकालाई अहिले विषयको बोझ सिकाउनै पर्दैन । किनकि अहिलेका बालबालिका इन्टरनेटमा खोज्न सक्छन् । त्यो प्रक्रिया विद्यालय र शिक्षकले बुझ्ने हो भने बच्चाहरूलाई किताबको भारी बोकाउनु नपर्ने शिक्षाविद् कोइरालाको बुझाइ छ । 

विषयको बोझभन्दा कला सिकाउन जरुरी 

सानै उमेरमा बालबालिकालाई स्कुल पठाउनु गलत होइन । तर, १० वर्षमुनिका बालबालिकालाई अत्यधिक किताब बोकाउनु, अत्यधिक गृहकार्य दिनु उचित नभएको कान्ति बाल अस्पतालका मनोचिकित्सक डा. उत्कर्ष कार्की बताउँछन् ।

उनका अनुसार प्रि–स्कुलमा बालबालिकालाई भर्ना गर्दा कम्तीमा ३ वर्ष पूरा भएको हुनुपर्छ । स्कुल भर्ना गरियो भन्दैमा बालबालिकालाई किताब घोकाउने, गृहकार्य दिने कार्य गर्नुहुँदैन । ‘पाँच वर्षमुनिका बालबालिका खाने, बस्ने एकअर्कोसँग घुलमिल गर्न स्कुल जानु ठिकै हो । तर, हाम्रो मानसिकता के छ भने साना बालबालिका स्कुल गएपछि उसले कखरा, एबिसिडी, अआ जान्नैपर्छ, जुन गलत हो,’ डा. कार्की भन्छन्, ‘५ वर्षमुनिका बालबालिकालाई अभिभावकसँग बस्न, रमाउन दिनुपर्छ । 

उनीहरूलाई प्रि–स्कुलका नाममा पढ्न बाध्य पार्नुहुँदैन । यो उमेरमा सिर्जनात्मक कार्य गराउँदा बालबालिकाहरू रमाउँछन्, चाँडो पनि सिक्छन् ।’ विद्यालयमा किताबलाई भन्दा प्रयोगात्मक शिक्षालाई बढी जोड दिनुपर्ने उनको सुझाब छ । 

उनका अनुसार चाँडै स्कुल पठाउँदा, किताबको भारी बोकाउँदा, गृहकार्यमा बढी जोडबल गर्दा भविष्यमा गएर उनीहरूमा अध्ययनमा रूची नहुने, स्कुल जान आनाकानी गर्ने, आत्तिने, डराउने, रूने कराउनेजस्ता समस्या देखिन सक्छन् । त्यसैले बालबालिकालाई विषयको बोझभन्दा कला सिकाउन जरुरी रहेको डा. कार्कीकोे तर्क छ । 

‘अभिभावकले आफ्नो बच्चालाई अरूको बच्चासँग तुलना गर्ने कार्यले पनि उनीहरूको मानसिक स्वास्थ्यमा असर गरिरहेको हुन्छ,’ डा. कार्की भन्छन्, ‘अभिभावकले कहिले पनि अरूको बच्चासँग तुलना गर्नुहुँदैन । बच्चाको मनोभावलाई बुझेर व्यवहार गर्नुपर्छ ।’ उमेरसँगै सिकाइको तह मिल्यो भने बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यमा फाइदा हुने उनको भनाइ छ । 

यस्तै, शिक्षाविद् कोइरालाका उनका अनुसार बालबालिकालाई किताबको भारी बोकाउनुका साटो स्कुलमा पुस्तकालय निमार्ण गरिनुपर्छ । रुचिअनुसारको किताब पढ्ने वातावरण स्कुलले निर्माण गरिदिए उनीहरूलाई बोझ पनि हुँदैन, सिकाइमा पनि कुनै बाधा पर्दैन । यसका साथै अभिभावकलाई पुस्तक किन्ने आर्थिक भार पनि कम हुन्छ । बालबालिकालाई पुस्तकालयसँग अभ्यस्त नगराई उनीहरूलाई किताबको चाङ लगाइदिँदा मानसिक र शारीरिक कष्ट हुन्छ । 

पछिल्लो समय निजी स्कुलका विद्यार्थीहरूमा किताबको अत्यधिक चाप देखिन्छ । त्यसलाई पनि समयमै नियमन र नियन्त्रण गर्न आश्यक रहेको शिक्षाविद् कोइरालाको भनाइ छ । उनी भन्छन्, ‘स्थानीय निकाय, संघीय सरकारले निजी स्कुल सञ्चालकहरूसँग छलफल गरी उनीहरूलाई निजी स्कुल सञ्चालन गर्ने ढाँचा परिवर्तन गर्न सुझाब दिन अत्यन्त आवश्यक रहेको छ ।’ 

कलिला बालबालिकाहरूमाथि पढाइको बोझ थपिदिँदा निकट भविष्यमा समस्या निम्तिने हुँदा यस किसिमको प्रवृत्तिलाई समय रहँदै सबैले मनन गर्न विज्ञको सुझाब छ ।

  • प्रकाशित मिति : साउन ३, २०८० बुधबार १७:०:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया