प्रविधिमार्फत् स्वास्थ्य सेवा पहुँच योग्य र गुणस्तरीय बनाउँदै छौँ : मन्त्री बस्नेत
फाइल तस्बिर

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सबै किसिमका उपाय र प्रविधिको अबलम्बन गरी स्वास्थ्य सेवालाई पहुँचयोग्य र गुणस्तरीय बनाइने बताएका छन्। 
    
डिजिटल हेल्थ दिवसको अवसरमा आज एक सन्देश जारी गर्दै मन्त्री बस्नेतले ‘डिजिटल हेल्थ’ माध्यमबाट स्वास्थ्य सेवालाई मितव्ययी, सहज, पहुँचयोग्य र गुणस्तरीय बनाउने बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २०७६ साउन ४ गते ‘ई-हेल्थ’ मार्गचित्र कार्यान्वयनमा ल्याएको थियो ।  सोही दिनदेखि मन्त्रालयले हरेक वर्ष साउन ४ गते डिजिटल हेल्थ दिवस मनाउँदै आएको छ । स्वास्थ्य क्षेत्रमा सूचना प्रविधिको प्रयोगका लागि विश्व स्वास्थ्य सङ्गठनको ‘ई-हेल्थ’को अवधारणालाई मन्त्रालयले अवलम्बन गर्दै विस्तारित रुप ‘डिजिटल हेल्थ’को कार्यान्वयनको चरणमा पुगेको हो ।

मन्त्री बस्नेतले भने, ‘डिजिटल हेल्थलाई स्वास्थ्य क्षेत्रको व्यवस्थापकीय क्षमतावृद्धि र आधुनिकीकरण गरी स्वास्थ्य सेवालाई मितव्ययी, सहज, पहुँचयोग्य र गुणस्तरीय बनाउँदै स्वास्थ्यकर्मीको व्यावसायिक क्षमता वृद्धि गर्ने औजारको रुपमा लिएका छौँ ।’

सूचना प्रविधिको विश्वव्यापी प्रतिस्पर्धामा सामेल हुनु विकल्परहित भएको अवस्थामा जनशक्तिको क्षमता विकास गरी स्वास्थ्य सेवा व्यवस्थापनलाई प्रविधिमैत्री बनाउन जरुरी रहेको उनको भनाइ छ । मन्त्रालयले डिटिजल हेल्थको कार्यान्वयन बहुपक्षीय सहकार्य र प्रयासबाट मात्र सम्भव हुने भएकाले यसको नियमन, विकास र विस्तारमा सूचना प्रविधिको क्षेत्रमा कार्य गर्ने सरकारी निकाय, साझेदार संस्था, विज्ञ समुदाय, शैक्षिक संस्था र पत्रकारिता क्षेत्रसँग सहकार्य गर्न आह्वान समेत गरेको छ । 

सन् २०२१ को सूचना जनगणनाका अनुसार  झण्डै ७३ प्रतिशत घरपरिवारमा कम्तीमा एउटा स्मार्ट मोबाइल फोन, आधाजसो परिवारमा टेलिभिजन रहेको र ३८ प्रतिशत परिवारमा इन्टरनेटमा पहुँच छ । यस्तै, ५५ प्रतिशत स्वास्थ्य संस्थामा इन्टरनेट सहितको कम्प्युटर रहेको तथ्यले स्वास्थ्य क्षेत्रमा सूचना तथा प्रविधिको प्रयोग बढिरहेको देखिएको मन्त्रालयको भनाइ छ । 

उनले गुणस्तरीय स्वास्थ्य सेवामा सर्वव्यापी पहुँच पुर्याउने अभिभारा मन्त्रालयले लिएको बताए । 





  • प्रकाशित मिति : साउन ४, २०८० बिहीबार १२:४७:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया