मनसुन : अझै केही दिन निरन्तर वर्षा

काठमाडौं उपत्यकासहित देशभर मनसुनी वर्षा भइरहेको छ । मुलुकमा मनसुनी वायुको आंशिक प्रभाव रहनुका साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले देशका आधिकांश स्थानमा वर्षा भइरहेको हो ।
     
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार उक्त मौसमी प्रणालीको प्रभावले अझै केही दिन निरन्तर वर्षाको सम्भावना छ । महाशाखाका मौसमविद विनु महर्जनले देशका धेरैजसो स्थानमा आगामी दुई÷तीन दिन निरन्तर वर्षाको सम्भावना रहेको बताए । 

पछिल्लो एक घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भएको छ । आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको सम्भावना छ । राति पनि कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङसहित भारी वर्षाको सम्भावना छ । 

नेपालमा मनसुन गत वर्ष जेठ ३१ गतेदेखि प्रवेश गरे पनि देशभर फैलिन झण्डै दुई साता लागेको थियो । मनसुन प्रभावकारी नहुदाँ पछिल्लो एकसाता राम्रोसित वर्षा हुन सकेको थिएन । विगत दुई दिनयता भने देशका सबैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।
     
‘मनसुन न्यून चापीय रेखा नेपालको सरदर स्थानभन्दा दक्षिणतिर सरेको छ, सोही कारण विगत एक साताको तुलनामा केही दिनदेखि वर्षा निरन्तर भइरहेको छ । आगामी केही दिन  वर्षा निरन्तर हुने देखिन्छ,  कतिपय स्थानमा भारी वर्षाको सम्भावना छ”, मौसमविद् महर्जनले भने । 
 
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार यही साउन ६ गतेसम्म देशभर ३७ प्रतिशत मनसुनी वर्षा भएको छ । गत जेठ १८ देखि यही साउन पाँच गतेसम्म देशभर सरदर पाँच सय ३८ दशमलव दुई मिलिमिटर वर्षा भएको छ । मनसुन अवधिभर नेपालमा एक हजार चार सय ६२ मिलिमिटर वर्षा हुने गरेको शाखाले जनाएको छ ।





  • प्रकाशित मिति : साउन १३, २०८० शनिबार १६:४६:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया