logo-img

यातायात व्यवस्था कार्यालय नवलपुर : १८ दरबन्दीमा ७ जना मात्र कर्मचारी

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेको यातायात व्यवस्था कार्यालयमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा समस्या भएको छ । कार्यालयमा आवश्यकताअनुसार कर्मचारी अभाव हुँदा सहजरूपमा सेवा प्रदान गर्न समस्या हुने गरेको कार्यालय प्रमुख टेकबहादुर घर्तीमगरले जानकारी दिए ।

कार्यालयमा १८ जनाको दरबन्दीमा सात जनामात्रै कर्मचारी रहेको उनले बताए । ‘दरबन्दीअनुसार  कर्मचारी छैनौँ, सेवाग्राहीको चाप हुँदा समयमा सेवा प्रदान गर्न समस्या हुने गर्दछ,’ उनले भने । करारमा रहेका ६ कर्मचारी हटेसँगै थप समस्या भएको उनले बताए ।

चालू आर्थिक वर्षदेखि करारमा कर्मचारी नियुक्ति नगर्ने प्रदेश सरकारको नीति रहेको छ । कर्मचारी कम हुँदा कार्यालयबाहेकको समयमा समेत सेवाग्राहीको आवश्यकता हेरी सेवा दिनुपर्ने अवस्था रहेको उनले बताए ।
 
कार्यालयमा कर्मचारी कम भएपछि पालैपालो बिहान बेलुकाको समयमा सवारी चालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षा लिने गरेको कार्यालय प्रमुख घर्तीमगरले बताए ।



समयमा काम गर्न नसक्दा सेवाग्राहीको गुनासो बढ्न सक्ने भएकाले थप कर्मचारीको व्यवस्थापन गर्न प्रदेश सरकारसँग उनले आग्रहसमेत गरे । पूर्व– पश्चिम राजमार्गको मध्यभागमा रहेको कार्यालय हुँदा सवारी चालक अनुमतिपत्रका लागि यस कार्यालयमा धेरै सेवाग्राही आउने गरेका छन् । 

कार्यालयले गत आर्थिक वर्षमा ३१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०७९÷०८० मा कार्यालयबाट उपलब्ध विभिन्न सेवासुविधा प्रवाह गरेवापत ३१ करोड ६६ लाख ४८ हजार ४५ रुपैयाँ राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख घर्तीमगरले जानकारी दिए । 

आव २०७८÷७९ मा २६ करोड ६६ लाख ६९ हजार पाँच सय ४८ रुपैयाँ राजस्व सङ्कलन भएको थियो । गत आवमा यातायात क्षेत्रको आम्दानी, प्रशासनिक सेवा शुल्क, चालक अनुमतिपत्र, सवारी दर्ता किताब, सवारीसाधन कर सङ्कलन, सवारी आयकरलगायत सेवा शुल्कमा केही रकम वृद्धिसँगै पहिलेको तुलनामा गत आवमा ४ करोड ९९ लाख ७८ हजार ४ सय ९७ रुपैयाँ राजस्व सङ्कलन भएको हो ।  



सवारीसाधन लाइसेन्स नवीकरण, परीक्षणकालीन लाइसेन्स वितरण, स्मार्ट कार्डलगायत सवारी दर्ता लगायतको सेवा कार्यालयले उपलब्ध गराउँदै आएको छ । रासस 



  • प्रकाशित मिति : साउन १४, २०८० आइतबार ७:३१:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया