‘टेक–एक्स २०२३’ प्रदर्शनी सम्पन्न : विद्यार्थीदेखि मन्त्रीसम्मले गरे अवलोकन (भिडियाेसहित)

सफ्टवेरिका कलेज अफ आइटी एण्ड ई–कमर्सद्वारा आयोजित ‘टेक–एक्स २०२३’ चारदिने प्रदर्शनी आज (आइतबार) सम्पन्न भएको छ । डिल्लीबजारस्थित कलेजको प्रांगणमा बिहीबारदेखि सुरु भएको उक्त प्रदर्शनीमा पाँच हजारभन्दा बढी अवलोकनकर्ताले अवलोकन गरेको कलेजले जनाएको छ । यस्तै, प्रदर्शनीको अन्तिम दिन विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थिति रहेको थियो । 

चार दिनसम्म आयोजना भएको उक्त प्रदर्शनीमा राजनीति, कला, खेलकुद, शिक्षा तथा आइटीमा रुचि भएका व्यक्तिहरूले अवलोकन गरेका थिए । प्रदर्शनीको अन्तिम दिन विवेकशील साझा पार्टीकी अध्यक्ष समीक्षा बास्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, र्यापर निर्णय श्रेष्ठ, निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष डिके ढुंगानालगायतले अवलोकन गरेका थिए । 

‘सबै प्रोजेक्ट त हेर्न पाइनँ । उहाँहरूले मेजेर फोकस गरेर बनाएका प्राेजेक्ट हेरेँ । ट्राफिक लाइट, दृष्टिविहीनलाई गाइड गर्ने उपकरण, साइबर सेक्युरिटीलगायत प्रोजेक्ट बनाइएका छन्, जुन एकदमै राम्रो लाग्यो,’ अध्यक्ष बास्कोटाले भनिन्, ‘अर्को मलाई मनपरेको प्रोजेक्ट भनेको हाम्रो एटिएम सिस्टम कति कमजोर वा बलियो के छ भन्ने देखाइएको छ । त्यसैगरी स्मार्ट सिटीको कल्पना गरेर बनाइएको प्रोजेक्ट पनि एकदमै राम्रो छ ।’

‘विद्यार्थीहरूले बनाएका सबै प्रोजेक्टमार्फत हाम्रो देशमा के–के आवश्यक छ र कसरी त्यसलाई बनाउने भन्ने मोडलहरू देखाइएको छ । अहिलेको युवा टेक्नोलोजीमा धेरै अगाडि रहेको मैले पाएँ,’ बास्कोटाले भनिन् । उनका अनुसार नेपाललाई टेक्नोलोजीमा अगाडि बढाउनका लागि संघीय सरकार, प्रदेश तथा स्थानीय तहले सफ्टवेरिकाजस्ता कलेजसँग सहकार्य गरेर नेपालका युवालाई टेक्नोलोजीमा संलग्न गराउनुपर्छ । 

यसैगरी उपाध्यक्ष परियारले सामान्य कुरा पनि धेरै ध्यान दिनुपर्ने रहेछ भन्ने जानकारी प्रदर्शनीद्वारा थाहा भएको बताए । उनी भन्छन्, ‘नेपालको साइबर सेक्युरिटीलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने कुरा यहाँ आएर थाहा पाएँ । नेपाली विद्यार्थीसँग धेरै नै इनोभेटिभ आइडिया छन् । उनीहरूको क्षमता प्रदर्शनका राज्य र निजी क्षेत्र मिलेर उचित ठाउँ दिन सकियो भने नेपालले आइटीमा फड्को मार्छ ।’



निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष डिके ढुंगाना ‘टेक–एक्स २०२३’ प्रदर्शनीमा आइसकेपछि विद्यालय शिक्षालाई आइटीमय कसरी बनाउने भन्ने आइडिया आएको बताए ।  ‘सफ्टवेरिका कलेजले आयोजना गरेको ‘टेक–एक्स २०२३’ असाध्यै राम्रो लाग्यो । नेपालमा यो किसिमको प्रयास भइरहेको जानकारी पाउँदा खुसी लागेको छ । नेपालको आइटी क्षेत्रमा सफ्टवेरिका कलेजले जुन योगदान दिइरहेको छ, त्यसको लागि धन्यवाद दिन चाहन्छु । सफ्टवेरिका कलेजको यो प्रदर्शनीको मुक्तकण्ठले प्रशंसा गर्छु,’ अध्यक्ष ढुंगानाले भने । शिक्षा क्षेत्रमा आइटीलाई अगाडि बढाउन र दैनिक कक्षा कोठामा शिक्षण विधिमा प्रविधिलाई कसरी जोड्न सकिन्छ भनेर प्याब्सनले गृहकार्य गरिरहेको उनको भनाइ छ ।   



त्यसैगरी सफ्टवेरिका कलेज प्रमुख प्रमोद पौडेलले चारदिने ‘टेक–एक्स २०२३’ प्रदर्शनी सोचेभन्दा धेरै सफल भएको बताए । ‘चारदिने प्रदर्शनीमा विभिन्न क्षेत्रका व्यक्तिसहित स–साना बालबालिकाको राम्रो उपस्थिति रह्यो । र, उपस्थिति सबैले प्रदर्शनीको प्रशंसा गरिरहेका छन्,’ प्रमुख पौडेलले भने । 

उनका अनुसार पहिलो दोस्रो प्रदर्शनीभन्दा यो तेस्रो प्रदर्शनी अत्यन्त राम्रो भएको छ । तेस्रो प्रदर्शनी राम्रो हुनुको मुख्य कारण पहिलो र दोस्रो प्रदर्शनीमा भएका कमी–कमजोरीलाई सुधार गरेर प्रदर्शनी गरिएकाले सबैले प्रशंसा गरेको उनको भनाइ छ । 

सफ्टवेरिका कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले पनि ‘टेक–एक्स २०२३’ प्रदर्शनी सफलतापूर्वक समापन भएको बनाए । उनका अनुसार प्रदर्शनी जुन उद्देश्य दिने हेतुले सुरु गरिएको थियो, त्यो उद्देश्य पूरा भएको छ । प्रदर्शनीले आइटीमा क्षेत्रमा कसरी परिवर्तन ल्याउन सकिन्छ भन्ने दर्शाएको उनको भनाइ छ । 

‘यो प्रदर्शनीले सरकारलाई पनि आइटी क्षेत्रलाई द्रुत गतिमा अगाडि बढाउन किन आवश्यक छ भन्ने देखाएको छ । यससँगै बालबालिकालाई सानै कक्षादेखि आइटीमा कसरी संलग्न गराउने सफ्टवेरिकामार्फत स्कुल एसोसियनसँग सहकार्य गरेर काम अघि बढिरहेको छ,’ अध्यक्ष श्रेष्ठले भने । 

‘टेक–एक्स २०२३’ प्रदर्शनीको अवलोकनपछि हब इन्टरनेसनल इजुकेसनका अध्यक्ष उद्धव खड्काले सरकारले आइटी क्षेत्रलाई अगाडि बढाउनुको विकल्प नरहेको बताए । उनले कार्यक्रमको आयोजना गरेकामा शुभकामना दिँदै आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिन सुझाब दिए । ‘टेक्नोलोजीको प्रयोग नगरी हामी चल्नै सक्दैनौँ, टेक्नोलोजिविना संसार असम्भव छ भन्ने कुरालाई आत्मसात् गर्दै सफ्टवेरिका कलेजले आइटी क्षेत्रमा पुर्याउन खोजेको योगदानलाई हामी सबैले मिलेर सहयोग गर्नुपर्छ,’ अध्यक्ष खड्काले भने । यसका साथै उनले निजी क्षेत्र र सरकार मिलेर आइटी क्षेत्रको विकासलाई अघि बढाउनुपर्नेमा जोड दिए । 

बिहीबारदेखि सुरु भएको ‘टेक–एक्स २०२३’ प्रदर्शनीको उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गरेकी थिइन् । उक्त प्रदर्शनीमा सफ्टवेरिका कलेजमा स्नातक तहमा अध्ययनरत विद्यार्थीले बनाएका विभिन्न प्रविधिका प्रारूप र मोडल प्रदर्शनीमा राखिएका थिए । 

प्रदर्शनीमा स्मार्ट सिटी, स्मार्ट ट्राफिक लाइट, डढेलो लाग्दा जानकारी दिने प्रविधि, इथिकल ह्याकिङसहित सञ्चारसम्बन्धी विभिन्न पक्षबारे विद्यार्थीले प्रस्तुति दिइरहेका थिए । यस प्रदर्शनीको मुख्य आकर्षणको केन्द्रका रूपमा ‘रोबो वार’ रहेको थियो । विद्यार्थीले बनाएको रोबोटलाई सुरक्षाको घेराभित्र राखेर प्रतिस्पर्धा गराएको दृष्य एकदमै रोमाञ्चित थियो । प्रदर्शनीमा उपस्थित अवलोकनकर्ताले विद्यार्थीहरूको प्रोजेक्टको प्रशंसा गरेका थिए ।

  • प्रकाशित मिति : साउन १४, २०८० आइतबार १९:५७:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया