logo-img

आहा ! ‘स्मार्ट सिटी’

फराकिला सडक, चारैतिर हरियाली, झिलीमिली सडक बत्ती, व्यवस्थित ट्राफिक लाइट र पार्किङका साथै स्वच्छ, सुन्दर र सफा सहर । यो कल्पना सफ्टवेरिका कलेजका विश्वास अधिकारीको हो । ​सफ्टवेरिका कलेज अफ आइटी एन्ड ई–कमर्सद्वारा आयोजना गरिएको ‘टेक–एक्स २०२३’को प्रदर्शनीमा विद्यार्थीहरूले बनाएको ‘स्मार्ट सिटी’को मोडललाई धेरैले मन पराएका छन् । 

कम्प्युटर इन्जिनियरिङमा स्नातक तह तेस्रो वर्षमा अध्ययनरत विश्वास अधिकारीलगायत पाँचजना मिलेर बनाएको ‘स्मार्ट सिटी’ प्रोजेक्टको प्रदर्शनीमा आएका धेरैले उनीहरुको मुक्तकण्ठले प्रशंसा गरेका थिए । यस प्रोजेक्टको मुख्य उद्देश्य भनेको स्मार्ट सिटीमा बस्ने बासिन्दाको जीवनस्तरलाई उच्च बनाउने हो । स्मार्ट सहरमा स–साना कामहरू अटो सुचारु हुने व्यवस्था गरेर जनताको जीवनलाई सहज र सरल बनाउन सकिने यस प्रोजेक्टले सन्देश दिएको छ । 

विश्वासका अनुसार ‘स्मार्ट सिटी’ प्रोजेक्ट बनाउने काम कठिन थियो । ‘स्मार्ट सिटी’ मोडललाई यथार्थमा परिणत गर्न अवश्य नै गाह्रो हुने विश्वास बताउँछन् । ‘हामीले बनाएको ‘स्मार्ट सिटी’ मोडल यथार्थमा परिणत गर्ने भएपछि त्यहीअनुसारको स्रोतसाधन, कामदार, समय र लागत चाहिन्छ,’ विश्वासले भने ।’ 

उनीहरूले ‘स्मार्ट सिटी’मा स–साना कुरादेखि ठूला–ठूला कामलाई कसरी सहज बनाउन सकिन्छ भनेर अध्ययन गरेर सिटी मोडल तयार गरेका छन् । एउटा व्यवस्थित सहरमा मोबाइल एप र प्रविधिमार्फत सबै किमिसका सूचना र सेवा सुविधा दिन सकिने हिसाबले बनाएको यो सहरमा ट्राफिक व्यवस्थापनलाई निकै महत्व दिइएको छ । हरेक गाडीलाई प्रत्यक्ष रूपमा निगरानी गर्ने मात्रै होइन, कुन समयमा कहाँ थियो, कहाँ गयो र कहाँ छ भन्ने सबै थाहा हुन्छ । सहरको कुन ठाउँमा कति बेला र कहाँ बाढी जाने, कुन स्थानमा पानीको प्रदूषण बढ्नेलगायत विषयमा जानकारी दिने किसिमको एउटा सिस्टम पनि छ, यो सहरमा ।

‘स्मार्ट सिटी’मा हरेक कृषकलाई कुन बेला कस्तो किसिमको बाली लगाउने र माटोको गुणस्तर क्षणभरमै थाहा हुने व्यवस्था पनि छ । कुनै स्थानमा आगो लाग्न थालेको वा लाग्नेबित्तिकै तुरुन्तै दमकल आइपुग्छ  । कुनै स्थानमा रहेका पेट्रोल पम्पबाट चुहावट (लिकेज) भयो भने एकै स्थानबाट थाहा हुन्छ ।

‘ट्राफिक व्यवस्थापनका लागि ठाउँ–ठाउँमा क्यामेरा स्प्रेडआउट गरेर राखिएको छ । यी क्यामेराले लाइभ ट्रयाकिङ गरेर कुन ठाउँमा कुन गाडी छ र थियो सबै डेटाहरूलाई सेन्टरलाइज डेटाबेस सर्भरमा पठाउँछन्,’ विश्वास भन्छन्, ‘स्मार्ट सिटीका बासिन्दाले कुनै गाडीलाई खोज्न परेको खण्डमा गाडीको नम्बरप्लेट राखेर सर्च गरेपछि लाइभ ट्रयाकिङ र त्यो गाडी कुनै क्यामेराको अगाडि आउँछ भने त्यो लाइभ ब्रोडकास्ट पनि हुन्छ ।’ 



यससँगै गाडीको प्रि–हिस्ट्री डेटा गाडी कता–गएको थियो, कता छ जस्ता सबैकुरा एकैपटक एक्सेस गर्न सकिन्छ । क्यामेरा सर्भेलेन्स सबैतिर भएर अपराधका घटनामा पनि कमी आउँछ, जसले गर्दा यहाँका बासिन्दाले सुरक्षित महसुस गर्ने विश्वासको भनाइ छ । 

विश्वासका अनुसार ‘सिटी प्रोजेक्ट’मा फोकस गरिएको अर्को पक्ष प्रकोप व्यवस्थापनलाई गरिएको छ । यस व्यवस्थापनमा पानीको तह बढ्नासाथ बाढी आउने नआउने सम्भावनालाई मापन गरी अथोराइज्ड एन्टिटिजकहाँ अलर्ट (सावधानी)को संकेत जान्छ । यहाँको बासिन्दाका लागि एउटा एप्लिकेसन बनाइएको छ । जुन एप्लिकेसनको माध्यमबाट स्मार्ट सिटीमा बस्ने मानिसले सावधानीको संकेत पाउनेछन् । 



यससँगै स्मार्ट सिटीमा ‘पार्किङ एक्सेस’ गर्न पाइनेछ । पार्किङ एक्सेसको लागि स्मार्ट सिटीका बासिन्दाले एपमा गएर पार्किङ अप्सन रोज्नुपर्छ । पार्किङ रोजिसकेपछि एपमा ‘क्युआर स्क्यानर’ आउँछ । पार्किङको ढोकाबाहिर ‘क्युआर कोड’ राखिएको हुन्छ । यहाँका बासिन्दाले क्युआर स्क्यान गरिसकेपछि स्मार्ट पार्किङको ढोका स्वतः खुल्नेछ ।

‘स्मार्ट सिटी’अन्तर्गत राति भएपछि स्वतः सडक बत्ती बल्ने र उज्यालो भएपछि स्वतः निभ्ने किसिमको व्यवस्था पनि गरिएको छ । यस्तै, हरेक घर–घर र टोल–टोलमा स्मार्ट डस्टबिन राखिएको हुनेछ । डस्टबिन भरिएपछि मोनिटरलाई एप्लिकेसनद्वारा सन्देश जानेछ । स्मार्ट सिटीमा तापक्रम बढेपछि स्वतः पंखा घुम्ने पनि व्यवस्था रहेको विश्वासले जानकारी दिए । 

उनका अनुसार यो ‘स्मार्ट सिटी’मा मोबाइल एप र प्रविधिमार्फत ट्राफिक व्यवस्थापन, पानीको प्रदूषण, कृषिसम्बन्धी जानकारी र कुनै विपत् वा दुर्घटनाबारे तत्काल सूचना दिने संयन्त्र विकसित गरिएको छ । यो प्रोजेक्ट तयार पार्न करिब तीन लाख रुपैयाँ लागेको छ । 

  • प्रकाशित मिति : साउन १५, २०८० साेमबार १६:५०:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया