धरानमा डेङ्गु संक्रमित बढे, विद्यालय बन्द
संक्रमितलाई शय्या पाउन मुस्किल

सुनसरीको धरान उपमहानगरपालिकामा डेङ्गु संक्रमण नियन्त्रणका लागि पालिकाभित्रका सबै शैक्षिक संस्थाको पठनपाठन बन्द गरिएको छ । मङ्गलबार कार्यपालिका बैठकबाट उक्त निर्णय गरिएको हो । 

विद्यालयमा पठनपाठन बन्द गरी डेङ्गु नियन्त्रण अभियान चलाउने निर्णय गरेको धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज साम्पाङले जानकारी दिए । उपमहानगरले बिदाको बेला विद्यालयका शिक्षक, विद्यार्थीलाई डेङ्गु नियन्त्रणका लागि अभियानमा सहभागी गराउन आह्वान गरेको छ । 

बैठकले शिक्षक र विद्यार्थीसँगै सबै वडामा सामाजिक सङ्घसंस्था, टोल विकास समिति, स्थानीय समुदाय एकसाथ आ–आफ्नो वडाको टोलटोलमा खटिन अनुरोध गरेको छ ।

डेङ्गु फैलाउने एडिज एजिप्टाई जातको लामखुट्टेको फुल पार्ने स्थान, लार्भा र प्युपा बन्ने स्थान पहिचान गरी नष्ट गर्ने अभियान चलाउन विद्यालय बन्द गरिएको धरान उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले बताए ।

वडा समिति कार्यालय आ–आफ्नो वडामा निःशुल्क जाँच र औषधि वितरणका लागि स्वास्थ्य शिविर सञ्चालन गरे पनि लामखुट्टेको फुल, लार्भा र प्युपा नै नष्ट नगरेसम्म डेङ्गु नियन्त्रण नहुने देखिएकले व्यापक जनपरिचालन गर्ने निर्णय गरिएको धरान–१५ का वडाध्यक्ष नरेशकुमार इवारामले बताए ।

धरानमा डेङ्गुबाट गत जेठ तेस्रो सातायता एक बालिकासहित आठ जनाको मृत्यु भइसकेको छ । निजी क्लिनिक, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतमा डेङ्गुका बिरामीले शय्या पाउन मुस्किल भएको छ ।  



यही साउन १५ गतेसम्ममा चार हजार दुई सय १८ जनाको जाँच गर्दा २ हजार ४ सय ९५ जनामा डेङ्गु पोजिटिभ पाइएको धरान उपमहानगरका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए । रासस 



  • प्रकाशित मिति : साउन १७, २०८० बुधबार ८:४३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया