logo-img

चित्रबहादुर केसीको आरोप : सत्तापक्ष नै लुटपाट र भ्रष्टाचारमा लाग्यो

राज्य व्यवस्था तथा सुशासन समितिका सभापतिसमेत रहेका राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले वर्तमान सत्तापक्ष लुटपाट र भ्रष्टाचारमा लागेको आरोप लगाएका छन् ।

शुक्रबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको समितिको आन्तरिक कार्यविधि, २०८० को सम्बन्धको छलफलमा केसीले यसरी राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेपछि अहिलेको नेपालको स्थिति धेरै नै गम्भीर रहेको टिप्पणी गरेका हुन् ।

‘अहिलेको नेपालको स्थिति धेरै नै गम्भीर रहेको छ, राज्यसत्ता नै लुटपाट र भ्रष्टाचारमा लागेपछि गर्नुहुन्छ के ? कुन व्यक्तिभन्दा पनि सत्ता नै लुटपाटमा लागेपछि गाह्रो  छ । तर, हरेस खानुहुन्नँ,’ उनले भने ।  

समितिको बैठक बस्न नसक्नुमा आफ्नो मात्रै दोष नभएको सभापति केसीले यसको दोष सबैले लिनुपर्ने बताए । बैठक बस्नका लागि आफूले समिति सदस्यसँग छलफल गर्दा एजेन्डा छैन भनेर पन्छाइएका कारण बैठक बस्न नसकेको उनले स्पष्ट पारे ।

‘सभापतिको चुनाव हुनुपर्छ भन्ने मेरो मान्यता हो । यहाँ भनाइ के आयो भने, हामी सबैको बराबर जिम्मेवारी हो नि त त्यो । म यहाँ उमेरले जेठो भएकोले अहिले एकछिन सभापति भएको न हो । मैले बैठक बोलाएन भनेर त्यसरी मेरो थाप्लोमा हाल्नु त भएन नि । सल्लाहमा मैले भनिरहेको छु, किन बैठक बस्दैन ? साथीहरूले भन्नुहुन्छ, अहिले भर्खरै एजेन्डा छैन,’ केसीले भने, ‘म केही गरी अनुपस्थित भए पनि खुर्सानीबिना भान्सा अड्कन्न भन्छन् नि । त्यसकारण माननीयज्यूहरूले पहल गरेर यो बैठकलाई चलाउनुपर्छ ।’  

उनले आजको बैठकमा गृहमन्त्रीलाई बोलाइएको भए पनि नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठकका कारण गृहमन्त्री आउन नसक्ने जानकारी आफूलाई गराएको पनि बताए । केसीले मुलुकको तस्बिर डरलाग्दो देखिएको भन्दै सबैले जिम्मेवार भएर सडक, सदन र समितिमा गम्भीररूपले अगाडि जानुपर्ने बताए । 





  • प्रकाशित मिति : साउन १९, २०८० शुक्रबार १७:४०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया