logo-img

सिटिइभिटी र आयोगको विवादका कारण परीक्षा स्थगित

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी) ले विभिन्न विषयको लागि शनिबारदेखि सञ्चालन गर्न लागेको प्रवेश परीक्षा अन्तिम समयमा आएर आज स्थगित गरेको छ । 

सिटिइभिटीले शनिबार र बुधबारलाई निर्धारण गरेको विभिन्न विषयको प्रवेश परीक्षा आज सूचना जारी गरी स्थगित गरेको सिटिइभिटीका परीक्षा नियन्त्रक प्रमोदभक्त आचार्यले राससलाई जानकारी दिए ।

चिकित्सा शिक्षा आयोग र सिटिइभिटीबीच चिकित्सा शिक्षा ऐन कार्यान्वयनको विषयमा विवाद बढेपछि सिटिइभीटीले परीक्षा स्थगित गरी उक्त परीक्षा आगामी भदौ २ र ६ गते परीक्षा सञ्चालन गर्ने भएको हो । आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरी र सीटीईभीटीका उपाध्यक्ष खगेन्द्रप्रसाद अधिकारीको उपस्थितिमा सिसिटिभीको प्रवेश परीक्षा सञ्चालनका विषयमा छलफल गर्न शिक्षा मन्त्रालयमा बुधबार र बिहीबार बैठक बसेको थियो । 

बैठकमा शिक्षामन्त्री अशोककुमार राई र शिक्षा सचिव सुरेश अधिकारीले दुई संस्थाबीच आपसमा समन्वय गरेर अघि बढ्न निर्देशन दिएपछि सोही अनुरूप आगामी १५ दिनभित्र सहमति एवं समन्वय गरेर सञ्चालन गर्ने गरी हाललाई परीक्षा स्थगित गरेको बताइएको छ ।  

सिटिइभिटीले विगतका वर्षमा जस्तै प्रमाणपत्र तहका नर्सिङ, फार्मेसी, ल्याब असिस्टेन्ट, डेन्टल हाइजेनिष्टलगायत स्वास्थ्यसँग सम्बन्धित विभिन्न विषयको अध्ययन गर्ने संस्थालाई सम्बन्धन दिने, सिट निर्धारण गर्ने, भर्ना आह्वान गर्ने, परीक्षा सञ्चालन गर्ने, परीक्षाफल सार्वजनिक गर्ने लगायतका कार्य गर्दै आएको छ ।

आयोगले भने चिकित्सा शिक्षा ऐन विपरीत मेडिकल शिक्षा पठनपाठन गराउने शिक्षण संस्थालाई सम्बन्धन दिने, सिट निर्धारण गर्ने भर्ना आह्वान गर्ने, चिकित्सा शिक्षाको नियमन गर्ने अधिकार आयोगको मात्रै रहेको जनाउँदै आएको छ । 



सिटिइभिटीले आयोगसँग समन्वय नगरी ऐनविपरीत सम्बन्धन दिने, भर्ना आह्वान गर्ने, सिट निर्धारण गर्ने, शुल्क निर्धारण गरेको भन्दै आयोगले असहमति जनाएपछि दुई संस्थाबीच विवाद चर्किँदै आएको थियो ।  



  • प्रकाशित मिति : साउन १९, २०८० शुक्रबार २२:२०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया