logo-img

सरकारले मलाई योग्य ठानेर लुम्बिनी विकास कोषको जिम्मेवारी दिएको हो : ल्हारकाल लामा

लुम्बिनी विकास कोषको उपाध्यक्षमा मनोनीत भएका डा. ल्हारकाल लामाले आफूलाई योग्य ठानेर सरकारले जिम्मेवारी प्रदान गरेको बताएका छन् । 

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लामाले आफू बुद्धको उपदेशबाट एक इन्च दायाँबायाँ नहिँडेको र आफ्नो जीवन दर्शन नै त्यही भएको बताएका छन् । तर लुम्बिनी विकास कोषको उपाध्यक्षमा भएको आफ्नो नियुक्ति पछि केही सञ्चार माध्यमले आफूमाथि गम्भीर लाञ्छना लगाएको गुनासो उनको छ ।  

उनले भने, ‘विगत केही वर्षयता जब जब मलाई राज्यको तर्फबाट जिम्मेवारी दिइन्छ त्यही बेला म विरुद्ध यस्ता लान्छना लगाउने गिरोह र मिडिया सधै संगठित रुपमा सक्रिय हुने गरेका छन् र तिनीहरू एउटै जमात छन् । उनीहरूले लगाएका अभियोगहरूको अदालती परीक्षणमा समेत मैले सधैँ सफाइ पाएको छु तर जब उनीहरूको स्वार्थमा धक्का लाग्छ,तब म विरुद्ध समाचारका खेती हुने गरेका छन् । यो भनेको सम्मानित अदालतको समेत अवहेलना हो । ’ 



संविधान सभा सदस्य, व्यवस्थापिका संसद्को सदस्य वा राजनीतिक दलको जिम्मेवार पदमा रहेका बेला अन्तर्राष्ट्रिय फोरमहरूमा आफूले देशको र बुद्ध जन्मस्थल लुम्बिनीको पक्षमा बोलेको उनको भनाइ छ । तर जब देशको पक्षमा केही काम गर्ने बेला हुन्छ त्यति बेला अवरोध सिर्जना गर्ने नियतले आफूविरुद्ध विभिन्न अफवाहहरू फैलाइने गरेको गुनासो पनि उनले गरे । 

उपाध्यक्ष लामाले अगाडि भने, ‘म हेलम्बुजस्तो दुर्गम गाउँमा गरिब आदिवासी जनजाति परिवारमा जन्मिनु,मैले बौद्ध दर्शनको शिक्षादीक्षा लिएर बुद्धत्वको प्रचार प्रसारमा आफ्नो जीवन समर्पित गर्नु नै मेरो अपराध हो भने यो अपराधबाट मैले कहिल्यै सफाइ पाउन सक्दिन । कहिले नागरिकताको प्रश्न उठाए,कहिले सम्पत्ति शुद्धीकरणको । कहिले हातहतियारको त कहिले ठगीको । तर ती सबै म विरुद्ध र मैले अवलम्बन गरेको धार्मिक आस्थामाथि हिलो छ्याप्ने नियतबाट लगाइएका अभियोग थिए भन्ने सम्मानित अदालतबाट पुष्टि भइसकेका छन् । ’ 

लुम्बिनी विकास कोषको जिम्मेवारी केही मान्छेका लागि जागिर होला तर आफ्नो लागि भने गहन जिम्मेवारी भएको पनि लामाले बताए ।





  • प्रकाशित मिति : साउन २२, २०८० साेमबार १७:४६:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया