गगन थापालाई रवीन्द्र मिश्रको प्रश्न - देशभन्दा ठूलो सिद्धान्त कसरी हुन्छ ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले कांग्रेस महामन्त्री गगन थापालाई देशभन्दा ठूलो सिद्धान्त कसरी हुन्छ ? भनेर सोधेका छन् । बिहीबार सामाजिक संजालमा उनले थापालाई देशभन्दा माथि विचार र देशभन्दा ठूलो सिद्धान्त कसरी हुन्छ ? भनेर प्रश्न गरेका हुन् ।

‘विचार व्यक्तिको हुन्छ । व्यक्ति एकल हुन्छ। विचार पार्टीको हुन्छ । पार्टी समूहको हुन्छ। देश सबै जनताको हुन्छ, जसभित्र व्यक्ति र पार्टी दुवैको विचार अटाउनु पर्छ। अनि देशभन्दा माथि विचार कसरी हुन्छ? देशभन्दा ठूलो सिद्धान्त कसरी हुन्छ ? ’ सामाजिक सञ्जालमा उनले लेखेका छन् । 

महामन्त्री थापाले बुधबार अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा ‘विचारभन्दा माथि देश मान्ने पार्टी कांग्रेस होइन। कांग्रेस विचार र सिद्धान्तमा चल्ने पार्टी हो’ भन्ने अभिव्यक्ति दिएका थिए । सो अभिव्यक्तिप्रति विमति राख्दै मिश्रले जवाफ फर्काएका हुन् ।

‘आज आफ्नै कार्यकर्ता र नेताको घाँटी रेट्ने, छातीमा गोली ठोक्ने माओवादीको वैशाखी नटेकी कांग्रेसले राजनीति गर्नै नसक्ने भएको छ। गरिहाल्यो भने पनि त्यसले कांग्रेसको पुरानो प्रतिष्ठा र गौरव फर्काउन नसक्ने अवस्थामा पुगेको छ। कांग्रेस यस्तो अवस्थामा पुगिसक्यो, हेरिराख्नोस्, तपाईँ नै प्रधानमन्त्री हुनुभयो भने पनि, तपाईँले फाट्टफुट्ट केही राम्रा काम बाहेक समग्र देश रूपान्तरणको कार्य गर्नै सक्नुहुन्न।’ मिश्रले लेखेका छन् ।

उनले कुनै बेला आफू प्रधानमन्त्री भए भन्ने भावनालाई नै जीवनको सबैभन्दा ठूलो उपलब्धि ठान्नु पर्ने अवस्था आउने भन्दै उनले विचार भन्दा देशलाई माथि राख्न अनुरोध गरेका छन् । 

‘म देशको प्रधानमन्त्री भएँ’ भन्ने भावनालाई नै तपाईँले जीवनको सबैभन्दा ठूलो उपलब्धिका रूपमा हेर्नु पर्ने अवस्था आउने छ। तपाईँ चार पटक सांसद, एक पटक मन्त्री र पार्टीको महामन्त्री भएको मान्छे, तपाईँले विचारभन्दा माथि देशलाई राखिदिनुभयो र कांग्रेसलाई बीपीको मार्गमा फर्काउने चेष्टा गर्नुभयो भने, यो देश र कांग्रेस पार्टीका लागि त्यो भन्दा ठूलो देन अर्को हुने छैन। तपाईँ ‘राजनीतिकर्मी’बाट ‘राजनेता’ बन्नु हुनेछ ! राजनेता बन्ने कि राजनीतिकर्मी बन्ने आफैँ निर्क्योल गर्नुहोला,’ मिश्रले थापालाई भनेका छन्  । 





  • प्रकाशित मिति : साउन २५, २०८० बिहीबार १३:५१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया