logo-img

मनाङमा आवतजावत पूर्णरूपमा अवरुद्ध : ३५ किलोमिटरमा ३५ पहिरो

हिमाली जिल्ला मनाङमा आवतजावत पूर्णरूपमा अवरुद्ध भएको छ । डुम्रे–बेसीँशहर–चामे सडकअन्तर्गत लमजुङको बेँसीशहर नगरपालिका–६ खरखरेमा ट्र्याक भासिएपछि आवागमन अवरुद्ध भएको हो ।  

शुक्रबारदेखि परेको निरन्तर वर्षाका कारण यस सडक खण्डमा आवतजावत रोकिएको आयोजना कार्यालयले जनाएको छ । यस सडक खण्डअन्तर्गत लमजुङतर्फ बेलौती बिसौना, खरखरे, रामबजार, घोप्टे भिर, च्याम्चेलगायतका स्थानमा पहिरो खसेको आयोजना कार्यालयका सबइन्जिनियर सुमन अधिकारीले जानकारी दिए । उनले भने, ‘केही स्थानमा पहिरो खसेर अवरुद्ध भएका छन् भने खरखरेमा ट्र्याक नै भासिएको छ, यसले मनाङ आवतजावत ठप्प भएको छ ।’

सडक सञ्चालनका लागि विभिन्न स्थानमा पहिरो पन्छाउने काम गरिरहेको उनले बताए । निरन्तर वर्षा भइरहेकाले पहिरो पन्छाउन समस्या भइरहेको भन्दै उनले सडक सञ्चालनका लागि प्रयास जारी रहेको जानकारी दिए । 



सडकमा खसेको ढुङ्गा, माटो फाल्दै गर्दा माथिबाट पहिरो खसिरहेको जनाउँदै सबइन्जिनियर अधिकारीले  जोखिम मोलेरै काम गरिरहेको बताए ।

यस सडक खण्डअन्तर्गत मनाङतर्फभन्दा लमजुङतर्फ बढी पहिरो खसेको उनले जानकारी दिए । ‘लमजुङतर्फ ३५ किलोमिटर छ । किलोमिटरपिच्छे ३५ पहिरो खसेका छन्,’ उनले भने । 

प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले मनाङमा वर्षा नभए पनि लमजुङतर्फ निरन्तर वर्षा भइरहेको बताइन् । उनले पहिरोका कारण सडक अवरुद्ध रहेकाले पुनःसञ्चालनका लागि पहल भइरहेको जानकारी दिइन् ।



डुम्रे–बेसीँशहर–चामे–खाङ्सारसम्म १ सय ५ किलोमिटर छ । यसमध्ये डुम्रे–बेसीसहर–चामे सडकखण्डको ३० किलोमिटरमा पहिरो खसिरहने गरेको छ । खसेको पहिरो हटाउन आयोजना कार्यालयले विभिन्न स्थानमा एक्साभेटर तयारी अवस्थामा राखेको जनाएको छ । रासस 



  • प्रकाशित मिति : साउन २८, २०८० आइतबार १४:४४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया