logo-img

मिथिला बिहारी नगरपालिकामा अख्तियारको छापा

धनुषाको मिथिला बिहारी नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ । ज्येष्ठ नागरिकको सम्मानका लागि रकम निकासा भए पनि सम्मान नगरिएको आरोपमा नगरपालिकामा अख्तियार बर्दिबासले छापा मारेको हो । 

नगरपालिका–९ अन्दुपट्टिका वडाध्यक्ष विन्द्येश्वर यादवले अनुचित कार्य गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासमा उजुरी दर्ता गराइएको छ । वडाध्यक्ष यादवले ज्येष्ठ नागरिकलाई सम्मान कार्यक्रमको लागि छुट्याइएको ४ लाखको बजेटमा एक कर्मचारी राजकुमार मण्डलको नाममा पेस्की भुक्तानी लिएको तर सम्मान नगरेको ज्येष्ठ नागरिकहरूले बताएको सो निवेदनमा उल्लेख गरिएको छ ।  

त्यस्तै, वैदेशिक रोजगारबाट फर्केका युवाहरूको लागि सीपमूलक तालिमका लागि ४ लाखको बजेटमा ३ लाख ९८ हजार ३ सय २५ रुपैयाँ भुक्तानी लिएको, वडा नं. ९ अन्तर्गत स्ट्रिट लाइट जडानका लागि ८ लाखमा ७ लाख ९२ हजार ९ सय २१ रुपैयाँ भुक्तानी लिएको, वडा कार्यालय सञ्चालन खर्च, मसलन्द, फर्निचर, इन्धन तथा सवारी ममर्तका लागि साढे चार लाखको बिल भरपाइ पेस गरेको १ लाख ७८ हजार भुक्तानी लिएको सो निवेदनमा उल्लेख गरिएको छ ।  



त्यस्तै, वडा ९ मा २ इन्चको कृषि पम्पिङसेटका लागि छुट्टयाइएको ५ लाखमा ४ लाख ८५ हजार ३२ रुपैयाँ भुक्तानी लिएको, विद्यार्थीका सिकाइ उपलब्धिको लागि श्री रामजानकी आधारभूत विद्यालय कटरैत तथा आधारभूत विद्यालय अन्दुपट्टिको लागि शैक्षिक सामग्री तथा पोसाक वितरण नगरी ९ लाख ९६ हजार ६ सय ६० रुपैयाँ भुक्तानी लिएको उजुरी पत्रमा उल्लेख गरिएको छ । 

यसैगरी, वडा नं. ९ अन्तर्गत खानेपानीका लागि ह्याण्डपाइप जडान तथा खरिदका लागि छुट्याइएको १० लाख मा ९ लाख ६६ हजार ७ सय ५१ रुपैयाँ भुक्तानी लिएको स्थानीय चन्द्रदीपकुमार यादव र धर्मनाथकुमार यादवले दिएको निवेदनमा उल्लेख गरिएको छ । 

पेस गरिएको सो निवेदनमा दुवै आधारभूत विद्यालयले यस विद्यालयमा कुनै पोसाक वितरण नभएको र सो वडाका ज्येष्ठ नागरिकले सम्मान नपाएको सही छाप गरिएको आधार पेस गरिएको छ । 





  • प्रकाशित मिति : साउन २८, २०८० आइतबार १५:०:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया