प्रा. दाहाललाई सुशील कोइराला राष्ट्रिय पत्रकारिता पुरस्कार

वरिष्ठ पत्रकार हिमालय टाइम्सका प्रधान सम्पादक प्रा.पुरुषोत्तम दाहाललाई सुशील कोइराला राष्ट्रिय पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । नेपालगञ्जमा आयोजित एक कार्यक्रममा संघीय सांसद तथा नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले सम्मान प्रदान गरेका हुन् । 

दाहालले नेपाली पत्रकारिता, स्वतन्त्रता आन्दोलन, मानव अधिकार अभियानसहित साहित्यमा पुर्याएको योगदान प्रशंसनीय रहेको भन्दै सह–महामन्त्री राठौरले नेपाली कांग्रेसको शुभेच्छुक र भ्रातृ संस्थाहरूले पार्टीको सिद्धान्त, विचार, नीति र कार्ययोजनालाई सफल बनाउन लाग्नुपर्ने बताए । 

अनुशासनविना लोकतान्त्रिक संस्कृति विकास नहुने तथा लोकतन्त्र सबल नहुने स्पष्ट पार्दै राठौरले आमनागरिकसमक्ष सकारात्मक सन्देशसाथ पुर्याउन आह्वान गरे । 

पुरस्कार तथा सम्मान ग्रहण गर्दै दाहालले दलीय दबाब र अनुशासनमा आबद्ध हुनासाथ स्वतन्त्रता आन्दोलनमा सक्रिय संस्थाहरू अनुबन्धित हुनुपर्ने अवस्था आउने भएको हुनाले शिक्षक, प्राध्यापक, पत्रकार, कानुन व्यवसायी वा कर्मचारीहरू दलीय छाताभन्दा बाहिर रहन सके मात्रै लोकतन्त्रको मर्यादा कायम हुने विचार प्रकट गरे ।

दाहालले ०४६ साल पछिका प्रधानमन्त्रीमध्ये कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारीजस्तै सुशील कोइरालाको छवि स्वच्छ रहेको बताए । जसरी ०४७ मा भट्टराई नभएको भए संविधान जारी हुने थिएन, त्यसरी नै ०७२ मा सुशील कोइराला नभएको भए संविधान जारी हुन सम्भव नभएको उनको भनाइ थियो । 



मदन भण्डारी र जीवराज आश्रितको मृत्यु र दरबार काण्डजस्तै गरी सुशील कोइरालाको निधन प्रकरण पनि रहस्यपूर्ण भएको हुनाले अनुसन्धान हुनुपर्नेमा उनले जोड दिए । 

नेपाल प्रेस युनियनका केन्द्रीय सभापति शिव लम्सालले पत्रकारितालाई मर्यादित बनाउन र लोकतान्त्रिक संस्कृति विकास गर्न प्रेस युनियन निरन्तर सक्रिय रहेको र संगठन विस्तारमा लागेको जानकारी दिए । 



कार्यक्रममा नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसी, महासचिव दिलीप पौडेल, प्रेस युनियन बाँकेका पूर्वअध्यक्ष हेमन्त कर्माचार्य, मेघराज वली, प्रेस चौतारी, प्रेस सेन्टरका स्थानीय अध्यक्ष, प्रेस युनियनका प्रदेश पदाधिकारी र नेपाली कांग्रेसका नेतासहितका वक्ताले प्रेसको भूमिकाको चर्चा गरे । 

कार्यक्रममा अग्रज पत्रकारिता पुरस्कार नेपाल टिभीका विजयकुमार बर्मा, सिर्जनशील पत्रकारिता पुरस्कार गजे थापामगर, जगन्नाथ पत्रकारिता पुरस्कार लोकमाया (सुमित्रा) सुवेदी र उदीयमान पत्रकारिता पुरस्कार कृष्ण अधिकारीलाई प्रदान गरिएको थियो । 

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालाको स्मृतिमा २५ हजार पाँच सय ५५ रुपैयाँ राशि रहेको सुशील कोइराला राष्ट्रिय पत्रकारिता पुरस्कार संविधानसभा सदस्य अब्दुल हमिद सिद्धिकी भोलाद्वारा स्थापित दुई लाख रुपैयाँको कोषबाट सञ्चालन गरिएको हो ।

  • प्रकाशित मिति : साउन २९, २०८० साेमबार २१:४९:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया