पाटनमै पुगेर एक सयभन्दा बढी गोठालाको उपचार

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बागलुङको तमानखोला गाउँपालिका अधिकांश पशुपालक कृषक यतिबेला गुर्जाघाटमा छन् ।

गुर्जाघाट बागलुङ र म्याग्दीको सङ्गमस्थल हो । यसलाई स्थानीयवासीले बुकीका रूपमा चिन्छन् । करिब चार हजार मिटरको उचाइमा रहेको गुर्जाघाट यस याममा गोठ तथा पशुचौपायाले भरिएको छ ।

तमानखोलासँगै ढोरपाटन नगरपालिका, निसीखोला गाउँपालिका र म्याग्दी धौलागिरि गाउँपालिकाका विभिन्न स्थानबाट गोठाला पशुचौपाया लिएर यहाँ पुगेका छन् । जेठ दोस्रो सातादेखि बुकी लागेका गोठाला अब असोजमा मात्रै बेसी झर्छन् ।

करिब चार महिना लेकमै बस्ने गोठाला यस अवधिका लागि पुग्ने खर्चपर्च लिएर गएका हुन्छन् । खर्च सकिएपछि बेसी नै झर्नुपर्छ ।

गोठमा बस्ने, पशुचौपाया पाल्ने र निगालोका चोयाबाट विभिन्न सामग्री बुन्ने उनीहरूको दैनिकी हो । गाउँघर र स्वास्थ्य संस्थाबाट टाढा हुने हुँदा गोठाला बिरामी पर्दा पनि बेँसी झर्दैनन् । उनीहरू यस अवधिमा जडीबुटी र धामीझाँक्रीको भरमा बस्छन् । 

बुकीमा एउटा पनि धारा छैन । गोठालाले पोखरी, रुखको टोड्‍का र खुला मूलको पानी प्रयोग गर्ने हुँदा समय–समयमा बिरामी पर्ने गर्छन् । बिरामी हुँदा कतिपयको गोठमै ज्यान जान्छ ।



तमानखोलाले गोठालालाई लक्षित गरी बुकीमै पुगेर स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बर्खाको समय विद्यालय बन्द हुने हुँदा बालबालिका पनि अभिभावकसँग बुकीमा जान्छन् ।

बुकीमा बालबालिका र वृद्धवृद्धा सबै पुग्ने हुँदा उनीहरूका लागि शिविरमार्फत गोठमै स्वास्थ्य सेवाको व्यवस्था मिलाइको हो । गाउँपालिकाले तमानखोलाका मात्रै नभइ गुर्जाघाटमा बस्दै आएका अन्य पालिका र जिल्लाका गोठालाको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गरेको तमानखोलाका अध्यक्ष जोकलाल बुढा मगरले जानकारी दिए । 



‘स्वास्थ्य संस्था पुग्न धेरै समय लाग्ने हुँदा बुकीमै उपचारको व्यवस्था मिलाएका हौँ,’ उनले भने । तमानखोलाबाट गुर्जाघाट पुग्न एक दिनको पैदल यात्रा गर्नुपर्छ । अहिलेसम्म त्यहाँ सडक पुगेको छैन । बुकीभन्दा धेरैमाथि रहेका गोठालाले यसपटक सेवा लिन नपाएको अध्यक्ष बुढा मगरले बताए ।

‘गोठाला उपचारका लागि कि ढोरपाटन पुग्नुपर्छ, कि बोङ्गादोभान नै आउनुपर्छ, त्यहाँ कोही बिरामी भयो भने उपचार पाउँदैनन्, त्यसैले बुकीमै गएर स्वास्थ्य सेवा प्रदान गर्न थालेका हौँ’, अध्यक्ष बुढा मगरले भने ।

स्वास्थ्य शिविरका लागि बुकी पुगेका स्वास्थ्यकर्मी हरिबहादुर छन्त्यालले धेरै जसो गोठालामा ज्वरो आउने, पखाला लाग्ने, उच्च रक्तचापलगायत समस्या भएको बताए ।

केहीलाई गम्भीर किसिमको रोग देखा परेकाले सुविधायुक्त अस्पतालमा जान सुझाएको उनको भनाइ छ । अध्यक्ष बुढा मगरसहित १२ जनाको टोली बुकी पुगेर शिविर सञ्चालन गरेको थियो । उनीहरूले १ सयभन्दा बढी गोठालाको स्वास्थ्य उपचार गरेका थिए । रासस 

  • प्रकाशित मिति : साउन ३१, २०८० बुधबार १०:२४:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया