logo-img

बाढीग्रस्त कागबेनी तीन दिनदेखि अन्धकारमा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

मुस्ताङको बाढीग्रस्त क्षेत्र बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा तीन दिनदेखि विद्युत् अवरुद्ध भएको छ । विद्युत् अवरुद्ध हुँदा स्थानीय अन्धकारमा रात बिताउन बाध्य भएका छन् । 

आइतबार राति आएको बाढीले खोला किनारमा रहेका दर्जन बढी पोल बगाउँदा विद्युत् अवरुद्ध भएको हो । बाढीले विद्युतका पोलसँगै तार पनि बगाएकाले विद्युत् सञ्चालनका लागि पोल र तार मर्मतको काम भइरहेको प्रमुख जिल्ला अधिकारी अनुप केसीले जानकारी दिए । 



बाढीले पोल र तारमा क्षति पुर्‍याएकाले मर्मतका लागि अझै केही दिन लाग्ने उनले बताए । उनका अनुसार यस क्षेत्रमा विद्युत् वितरणको काम निलगिरि उपभोक्ता सहकारीले गर्दै आएको छ । 

‘अहिले विद्युत् पूर्णरूपमा अवरुद्ध छ । सञ्चालनका लागि सहकारीले कामदार खटाएर मर्मतको काम गरिरहेको छ’, प्रजिअ केसीले भने, ‘उपभोक्ता सहकारीलाई भोलिका दिनमा कुनै दुर्घटना नहुने गरी प्रभावकारीरूपमा काम गर्न निर्देशन दिएका छौँ । उहाँहरूले अस्तिदेखि नै पोल र तार मर्मतको काम गरिरहनु भएको हो ।’

विद्युत् अवरुद्ध हुँदा कागबेनीका सयौं नागरिक अन्धकारमा बस्न बाध्य भएको धावा दोर्जे गुरुङले बताए । ‘अहिले बाढीपीडित कोही आफन्तकोमा आश्रय लिएर त कोही सुरक्षित स्थानमा अस्थायी गाँठ बनाएर बसेका छन्,’ उनले भने, ‘विद्युत् फोन सम्पर्क गर्न पनि समस्या भइरहेको छ ।’ 



खानेपानी सञ्चालनको तयारी 

बाढीले खानेपानीका पाइपलाइन तथा धारा बगाउँदा अवरुद्ध बनेको खानेपानी आजदेखि सञ्चालनमा आउने गरी काम सम्पन्न भएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिए । मंगलबारदेखि पारीको गाउँमा खानेपानी सञ्चालनमा ल्याइएको जानकारी दिँदै उनले आज साँझसम्म सबै ठाउँमा खानेपानी सञ्चालनमा आउने बताए ।  



प्रजिअ केसीका अनुसार अहिले स्थानीयले मूल र नजिकैको खोलाबाट पानी भरेर उपभोग गर्दै आएका छन् । बाढीले कागबेनीका २९ घर बगाएको छ भने १३ घरमा आंशिक क्षति भएको उनले जानकारी दिए ।

उनका अनुसार बाढीले चारपाङ्ग्रे सवारी दुई, मोटरसाइकल ३०, पशुचौपाया २५, एउटा पक्की मोटरेबल पुल, तीन काठेपुल, प्रभु बैंकको घर बगाएको थियो भने जनशान्ति माध्यमिक विद्यालयमा आंशिक क्षति पुर्‍याएको छ । रासस  

  • प्रकाशित मिति : साउन ३१, २०८० बुधबार १३:१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया