मेरो भ्वाइसको विजेता प्रितम राई र डान्स युनिभर्सका विजेता खुसी कार्की

नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिभर्स’को उपाधि प्रितम राई (भारत)ले र नृत्यतर्फको ‘मेरो डान्स युनिभर्स’ को उपाधि खुसी कार्की (थाइल्यान्ड)ले हात पारेका छन् ।

त्यसैगरी ‘मेरो भ्वाइस युनिर्भस’को फस्ट रनरअप शिशिर ठटाल (भारत) र ‘मेरो डान्स युनिर्भस’ को फस्ट रनरअप देवी गर्बुजा (बेल्जियम)ले हत पारे । ती प्रतियोगिताको आज भएको अन्तिम प्रतिस्पर्धा (ग्रान्ड फिनाले)मा अन्तिम पाँच–पाँच प्रतियोगीबाट उनीहरू छानिएका हुन् । उनीहरू दर्शक तथा श्रोताको मतबाट छानिएका हुन् ।

मेरो भ्वाइस युनिभर्स सेकेन्ड रनरअफमा शरद हुमगाईं (नेपाल), थर्ड रनरअपमा परेश राई (नेपाल) र फोर्थ रनरअप साइराज खाती (भारत) रहे । त्यस्तै ‘मेरो डान्स युनिभर्स’ सेकेन्ड रनरअपमा मिग्मा डि लेप्चा (भारत), थर्ड रनरअपमा स्वस्तिक अर्याल (नेपाल) र फोर्थ रनरअपमा नेसन सुस्लिङ मगर (नेपाल) रहेका छन् । 

इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरेको दुवै प्रतियोगिताका विजेताले जनही एक करोड, फस्ट रनरअपले ३० लाख र सेकेन्ड रनरअपले २० लाख, थर्ड रनरअपले १० लाख र फोर्थ रनरअपले पाँच लाखसहित विभिन्न पुरस्कार प्राप्त गरेका छन् । 

आज साँझ गोदावरीको सनराइज कन्फ्रेन्स हलमा भएको ‘टप फाइभ’ बीचको ‘ग्रान्ड फिनाले’ मा समूह नृत्यतर्फ भने नेपाल प्रहरी (नेपाल) विजेता बनेको छ । सो समूहले २० लाख पुरस्कार प्राप्त गरेको छ । 

फस्ट रनअर अपमा नितृ कला प्रतिष्ठान (धरान)ले १० लाख र सेकेन्ड रनरअपमा भारती कल्चर ग्रुप (भारत)ले पाँच लाख प्राप्त गरे । 



उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पुरस्कार प्रदान गरे । कलाकारलगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको ठूलो संख्याको उपस्थिति रहेको उक्त ग्रान्ड फिनालेमा विजेता र उपविजेता घोषणा गरिएको र उनीहरूलाई प्रधानमन्त्री दाहालले बधाई ज्ञापन गर्दै पुरस्कार वितरण गरेका थिए । 

त्यस अवसरमा उनले संसारभर नेपाल र नेपाली चिनाउने गरी आयोजना गरिएको यो प्रतियोगिता नेपाली भाषा र संस्कृतिको संरक्षण र संवर्द्धनका लागि एक महाअभियान भएकाले यसलाई आगामी दिनमा थप विस्तारित गर्न आग्रह गरे । 



गायन प्रतियोगिताका निर्णायकमा ‘मेरो भ्वाइस युनिभर्स’मा गायक दीप श्रेष्ठ, सुरेश अधिकारी, अञ्जु पन्त, पुष्पन प्रधान, सुजता बर्मा थिए भने नृत्य प्रतियोगिता ‘मेरो डान्स युनिभर्स’मा अभिनेत्री मिथिला शर्मा, शंकर बिसी, दिलीप रायमाझी, प्रियंका कार्की, केकी अधिकारी र नरमान राई निर्णायक थिए । 

यी प्रतियोगिताका लागि उक्त फाउन्डेसनले गत वर्षदेखि विश्वका विभिन्न ५२ देशबाट प्रतिभा छानेको थियो । ती देशबाट गायनमा एक सय २० र नृत्यमा एक सय २० जना कलाकार छानी उनीहरूलाई तीन महिनाअघि नेपाल ल्याएर प्रतिस्पर्धा गराएको थियो ।

  • प्रकाशित मिति : भदौ २, २०८० शनिबार २३:२:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया