माग सम्बोधन नभए कडा आन्दोलन थाल्ने निजामती कर्मचारीको चेतावनी

नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनले, सरकारले आफ्ना माग पुरा नगरे कडा आन्दोलन थाल्ने चेतावनी दिएको छ । काठमाडौंमा पत्रकार सम्मेलन मार्फत राष्ट्रिय भेला तथा विधान अधिवेशन २०८० को निर्णय तथा घोषणापत्र सार्वजनिक गर्दै युनियनले संघीय निजामती ऐन जारी हुँदै गर्दा सरकारले आफ्ना मागहरू सम्बोधन नगरे कडा ढंगले प्रस्तुत हुने चेतावनी दिएको हो । 

कार्यक्रममा युनियनका केन्द्रीय अध्यक्ष गोपालप्रसाद पोखरेलले यदि सरकारले संघीय निजामती ऐन पास गरेन र गरिहाले पनि आफूहरूले उठाएका मुद्दालाई सम्बोधन नगरे कडा आन्दोलनमा उत्रने चेतावनी दिए ।

उनले भने, ‘लोकसेवाबाट जुन सहमति भएर त्यो ऐन फर्केर आएपछि हाम्रो केही कुरा सम्बोधन भएर आएन भने अरू ट्रेड युनियनले आन्दोलन गर्छन् गर्दैनन् थाहा छैन । नेपाल निजामती कर्मचारीले कडा आन्दोलनका घोषणा गर्छ ।’

उनले सरकारसँग भएको छलफलमा आफ्ना मागहरू सम्बोधन भएको जानकारी पाएको र उच्च ओहोदाका कर्मचारीले भने आफ्ना मागहरूको बारेमा केही अप्ठ्यारो गरिरहेको दाबी गरे ।
 
राष्ट्रिय भेला तथा विधान अधिवेशन–२०८० भव्यताका साथ सफल भएको बताएका उनले राष्ट्रिय भेला तथा विधान अधिवेशन २०८० सम्पूर्ण जिल्ला/विभागीय अध्यक्षहरू, महाधिवेशन प्रतिनिधिहरू र आधिकारिक ट्रेड युनियनका अध्यक्षहरूले व्यक्त गरेको विचार र सुझावका आधारमा यस अगाडि युनियनले गरेका निर्णय र कार्यक्रमप्रति समर्थन गर्दै ‘काठमाडौँ घोषणापत्र–२०८०’ जारी गरेको जानकारी दिए । 





  • प्रकाशित मिति : भदौ ३, २०८० आइतबार १७:५६:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया