logo-img

सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १३ कलेजो र एकभन्दा बढी मिर्गौला प्रत्यारोपण

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपण सुरु गरेको भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले १३ जनामा सफलतापूर्वक कलेजो प्रत्यारोपण गरेको छ ।

नेपालमै पहिलोपटक ०७२ मंसिर २२ गतेदेखि कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले यसै सातासम्म आइपुग्दा १३ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले जानकारी दिए । 

०७९ को अन्तिमसम्म १० जनामा कलेजो प्रत्यारोपण गरेको केन्द्रले ०८० सालमा तीनजनाको सफल कलेजो प्रत्यारोपण गर्न सफल भएको छ, यही साउन ३२ गते एउटा र भदौ २ गते दुईवटा कलेजो सफल प्रत्यारोपण गरिएको उनले बताए । 

विश्वमै सबैभन्दा जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण नेपालमै केन्द्रले न्यून शुल्क अर्थात् १५ लाखमै कलेजो प्रत्यारोपण हुँदा विदेशिने करोडौँ रुपैयाँसमेत जोगिएको र कलेजो प्रत्यारोपण सहज भएको उनले बताए । नेपालमा कलेजो प्रत्यारोपण सुरु गर्दा विदेशी विशेषज्ञ चिकित्सकको टोलीको नेतृत्वमा नेपालका चिकित्सकसहितको संलग्नतामा भएकोमा पछिल्लो समयमा नेपालकै चिकित्सकको दक्षता वृद्धि गरी स्वदेशकै चिकित्सकबाट कलेजो प्रत्यारोपण सेवा निरन्तर गरिरहेको उनले बताए । 
    
‘नेपालकै चिकित्सकको दक्षतामा थप वृद्धि गरी स्वदेशी चिकित्सकबाटै कलेजो प्रत्यारोपण गर्न सक्ने अवस्थामा पुगेका छौँ,’ डा. श्रेष्ठले भने, ‘यसअघि हुने प्रत्यारोपणमा भारत, कोरिया लगायतका देशबाट विज्ञ टिम आएर कलेजो प्रत्यारोपण गर्ने गरेकोमा यसपटक एकजना मात्र विशेषज्ञ चिकित्सकको सहयोगले केन्द्रमा सफलतापूर्वक आफ्नै जनशक्तिबाट एक सातामा दुई कलेजो प्रत्यारोपण गर्न सफल भयौँ ।’

केन्द्रका कार्यकारी निर्देशक एवं प्रत्यारोपणविज्ञ डा. श्रेष्ठको नेतृत्वमा कलेजो प्रत्यारोपण शल्य चिकित्सक डा. शिल्भाकुमार नागानाथनसहित नेपाली विज्ञ चिकित्सकसहितको टोलीले शल्यक्रिया गरेका थिए । 

दुवै कलेजो प्रत्यारोपणमा सर्जन डा. रोशन घिमिरे, डा. सपना बर्मा, डा. रामबाबु साह, डा. ललितकुमार दास, कलेजो फिजिसियन डा. कर्ण राजवंशी, एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा. रेखा श्रेष्ठ, डा. रस्मित श्रेष्ठ, डा. शिवसुन्दर जचल, रेडियोलोजी विभागका डा. कृष्ण बुढाथोकी, डा. समीर दवाडी, डा. विवेक नेपाल, डा. जस्मिन जोशी र नर्सिङ टोलीको सहभागिता रहेको थियो । 



केन्द्रका निर्देशक डा. श्रेष्ठले केन्द्र स्थापनाको ११ वर्षको अवधिमा एक हजार एक सय जनाको सफल मिर्गौला प्रत्यारोपण गरेको जानकारी दिँदै केन्द्रले ०७४ वैशाख २८ गतेदेखि पहिलोपटक मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगबाट प्रत्यारोपण सुरु गरेको थियो । 

अहिलेसम्म पाँचजना मस्तिष्क मृत्यु भएका व्यक्तिको अंग प्राप्त गरी १३ जनामा प्रत्यारोपण गरेको उनले जानकारी दिए । 



अंग प्रत्यारोपणको लागि अंगदान अत्यावश्यक रहेको भए पनि जनचेतनाको कमीले प्रत्यारोपणसम्बन्धी उपयुक्त कानुन बने पनि कार्यान्वयन पक्षमा उल्लेख्य प्रगति हुन नसकेको उनको गुनासो छ । 

शव गाडेर खेर जाने वा जलेर खरानी हुने मानव अंग दान दिने परम्पराको विकास गर्नसके एकजना मस्तिष्क मृत्यु भएको व्यक्तिबाट दुई मिर्गौला, दुई फोक्सो, एक कलेजो, एक मुटु, एक प्यांक्रियाज, एक सानो आन्द्रालगायत आठवटा अंग दान गरी थप जनाको ज्यान बचाउन सकिने कार्यकारी निर्देशक डा. श्रेष्ठले बताए । 

मस्तिष्क मृत्यु भएका व्यक्तिको अंगदान गर्ने परम्पराको विकास भए नेपाल अंग प्रत्यारोपणमा आत्मनिर्भर हुनसक्ने र करोडौँको रकम विदेशिनबाट जोगिने तथा धेरैको ज्यान बचाउन सकिने उनले बताए । 

केन्द्रले सरकारको सहयोगमा डायलाइसिस सेवा विस्तार गर्न देशको सातै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने तयारी गरेको छ । 

गण्डकी प्रदेशका साथै कर्णाली प्रदेशअन्तर्गतको सुर्खेत प्रादेशिक अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भइसकेको जानकारी दिँदै उनले सेती प्रादेशिक अस्पताल धनगढी, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौँडा अस्पताल र कोशी प्रदेशको कोशी अस्पताल विराटनगर हुँदै देशको सातै प्रदेशमा प्रत्यारोपण कार्यको तयारी भइसकेको बताए । 

  • प्रकाशित मिति : भदौ ४, २०८० साेमबार २२:५६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया