logo-img

कसले गर्‍यो ‘धरान संकट’को बीजारोपण ?

केही साताअघि धरान उपमहानगरपालिकामा सार्वजनिक रूपमा गोरु काटेर भोज गरिएको विरोधमा हिन्दू संघ संगठनहरू आन्दोलित भएका छन् । हिन्दु धर्मावलम्वीहरूले लक्ष्मीका रूपमा पूजा गर्ने गाई र यसको वंश रक्षाको माग गर्दै उनीहरूले शनिबारका लागि धरानमा बृहत् शान्ति र्यालीको घोषणा गरेका थिए । तर, स्थानीय प्रशासनले सम्भावित झडपको आशंका गर्दै धरानमा कर्फ्यु लगाएपछि त्यहाँ र्‍याली हुन पाएन । तर, इटहरीलगायत धरान प्रवेश गर्ने नाकाहरुमा हिन्दूहरुले प्रदर्शन गरे ।   

सोही आन्दोलनको सन्दर्भलाई लिएर राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले देशव्यापी आन्दोलनको चेतावनी दिएका छन् । शनिबार राप्रपाको संसदीय दलको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले नेपालको सिमानाभित्र गाई, गोरु मार्नेलाई तीन वर्षको जेल सजायको स्पष्ट कानुन रहेको भन्दै अपराधीलाई सजाय नभए धरानमा सुरु भएको आन्दोलन सिंहदरबारसम्म आइपुग्ने चेतावनी दिए। 

उनले भने, ‘यदि उक्त कार्य भएन भने यो आन्दोलन धरानमा टेलर मात्रै हो, यो आन्दोलन देशभरि हुन्छ । र तपाईंले थामेर थाम्न सक्नुहुन्न सिंहदरबारभित्र पनि आन्दोलन हुन्छ ।’ धरानको अपराधमा जनजातिजस्तो देखिने देशका धर्म बेचेका केही अराजकवादी युरोपियन युनियनका डलरवादीहरूको संलग्नता भएको उनले बताए ।



शाहीले संकेत गरेझैँ नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा जातीय द्वन्द्व निम्त्याउने काम गरिरहेको आरोप नै लगाए । 

शनिबार विराटनगरमा आयोजित नेपाल प्रेस युनियन मोरङ शाखाको पदस्थापना कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिलेको अवस्थामा जातीय द्वन्द्व निम्त्याउने प्रयास प्रधानमन्त्रीले गरिसक्नुभएको छ । देशको परिस्थिति धार्मिक खासियत लडखडाएको छ ।’

के भनेका थिए प्रधानमन्त्रीले ? 



दुई साताअघि गत साउन २४ गते विश्व आदिवासी दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले ‘कोशीको घटनाले नयाँ चेतना पैदा भएको र त्यसैको बलमा सबै प्रदेशलाई पहिचानसहितको नामाकरण गर्न सकिने बताएका थिए । सबै प्रदेशको नामाकरण जातीय पहिचानको आधार हुनुपर्ने भन्दै उनले सबै प्रदेशको नामाकरण जातीय आधारमा राख्न अहिले पनि आफूले प्रयास गरिरहेको दाबी गरे ।
 
सो कार्यक्रममा उनले आगामी ०८४ सालको निर्वाचनमा पहिचानका पक्षधरहरुलाई मत दिएर जिताए संसदबाटै सबै प्रदेशको नामाकरण पहिचानसहितको हुने आश्वासनसमेत दिए । कोशी प्रदेश नामाकरण भएपछि चलेको आन्दोलनलाई बल पुग्नेगरी उनले आफू पहिचान र अधिकारको नेता भएकाले आदिवासी, जनजातिको पक्षमा निर्णय गर्नुपर्छ भन्ने दायित्वबोध गरेको बताए । 

‘मैले शेर्पामा गएर शेर्पा प्रदेशको नामाकरण पनि घोषणा गरेकै थिएँ । किराँतको पनि मैले गरेकै थिएँ,’ उनले सो कार्यक्रममा भनेका थिए, ‘तर, त्यसलाई कार्यान्वयन गर्नका निम्ति जति सदनमा हामीलाई चाहिने हो, त्यो शक्ति पहिचानका पक्षधरलाई प्राप्त भएन । त्यसले गर्दा त्यसलाई लागू गर्न सकिएन ।’



प्रधानमन्त्री दाहालको सो अभिव्यक्तिलाई लिएर प्रतिपक्षी दल एमाले मात्रै होइन, सत्तारुढ दल नेपाली कांग्रेसकै नेताहरुले पनि उनको आलोचना गरिरहेका छन् । 

शनिबार मात्रै नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गृहनगर दमकमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सामाजिक न्याय प्राप्तिका लागि जात र धर्मका नाममा विभेद गर्न नमिल्ने बताए । 

‘कोशी प्रदेश’को नाममा सुरुदेखि नै अडान लिँदै आएका उनले पहिचानका आधारमा प्रदेशको नाम राख्नै नमिल्ने बताए । केचनाजस्ता होचो स्थानबाट सगरमाथाको फेदसम्मका मान्छेलाई मिल्ने नाम कोशी प्रदेश नै उपयुक्त भएको उनले दाबी गरे । 

‘कोशी’ सबै जातजाति, भाषाभाषीको अपनत्व हुने साझा नाम भएको पनि धारणा राखे । कोशी प्रदेश नामकरण हुँदा सबैलाई राम्रो हुने भन्दै उनले जातीयताका नाममा विवाद गर्न नहुने बताए ।

धरानमा पछिल्ला दिनमा भइरहेको गतिविधिमा प्रत्यक्ष रुपमा प्रदेशको नाम विवादको भूमिका नदेखिए पनि कतै न कतै यसको प्रभाव देखिन्छ । सुरुमा हिन्दू मन्दिर नजिकै इशाई चर्च बनाउन दिएको भन्दै हिन्दूहरुले धरानका मेयर हर्क साम्पाङको आलोचना गर्दै आएका थिए । सो विवाद सेलाउन नपाउँदै त्यही धरानमा हिन्दूूहरुले पूजा गर्ने प्राणीलाई काटेर भोज लगाएपछि हिन्दूहरू झनै आक्रोशित बनेका हुन् ।  

शनिबार निषेधाज्ञा जारी गरेर स्थानीय प्रशासनले तत्कालका लागि सम्भावित ठूलो झडप रोके पनि यो यत्तिकै सम्हालिने सम्भावना कम छ । हिन्दूवादी संघसंगठनले प्रदर्शनलाई निरन्तरता दिने घोषणा गरेका छन् । गोरु काटेर खानेहरूलाई सरकारले तत्काल पक्राउ गरेर कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने नत्र आन्दोलन अझै सशक्त रुपमा अघि बढ्ने हिन्दू संघ संगठनले चेतावनी दिएका छन् ।   

यसैबीच, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले केही दिनयता धरानमा भइरहेका गतिविधि र त्यसले सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे सरकार गम्भीर रहेको बताएका छन् । शनिबार वक्तव्य जारी गर्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक एकता र सद्भावको पक्षमा उभिन धरानबासीसँग अपील गरेका छन् । 
सम्भावित समस्याबाट समाज र नागरिकलाई सुरक्षित राख्न सरकारले आवश्यक सतर्कता अपनाएको उनको भनाइ छ । धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ उनले गम्भीर ध्यानाकर्षण गराएका छन् । 

त्यस्तै, नेपाली कांग्रेसले पनि केही दिनयता धरानमा भएको द्वन्द्वप्रति गम्भीर चिन्ता प्रकट गरेको छ । सभापति शेरबहादुर देउवाद्वारा जारी विज्ञप्तिमा सामाजिक, धार्मिक, राजनीतिक समग्र सद्भावका लागि सार्वजनिक अपीलसमेत गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘परापूर्व कालदेखि विभिन्न जात–जाति, धर्म, संस्कृति र सम्प्रदायका नागरिक आपसी सम्मान र गहिरो सद्भावले मिलेर बसेका मात्रै होइनौँ, राष्ट्र निर्माण र विकासका लागि हातेमालो गर्दै आएका छौँ । नेपालको कानुनले हरेक व्यक्ति र सम्प्रदायलाई अरूको धर्म, संस्कृति र आस्थामा चोट नपुर्याई आ–आफ्नो धर्म, संस्कृतिको पालना गर्ने स्वतन्त्रता प्रदान गरेको कुरा पनि भुल्नु हुँदैन । साथै कसैको धर्म, संस्कृति र परम्पराप्रति कसैले दख्खल पुर्याउन पनि उचित हुँदैन ।’ 

नेपालीको भावना र चाहनाविपरीत धार्मिक–सामाजिक सद्भाव भड्काउने गतिविधि कसैको पनि हितमा नहुने र हुन पनि नसक्ने भन्दै विज्ञप्तिमा भनिएको छ, ‘यसबाट उत्पन्न हुने धार्मिक, सामाजिक तथा राजनीतिक अस्थिरता र अराजकताको धमिलो पानीमा खेल्न खोजेका दृश्य अदृश्य शक्तिहरूलाई सहयोग पुग्ने कुरामा दुई मत छैन ।’

यसले निम्त्याउन सक्ने परिस्थिति बेलैमा अनुमान गरी हरेक व्यक्ति, समुदाय र सम्प्रदाय सचेत र संयम हुनु आजको आवश्यकताभएको कांग्रेसको ठहर छ । 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले धरानमा पछिल्लो समय विकास भएको घटनाबारे सबै पक्ष संवेदनशील बन्नुपर्ने धारणा राखेका छन् । 

कार्यक्रमका सहभागी हुन चितवन पुगेका लामिछानेले भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सामाजिक सञ्जालमा वैमनश्यता फैलाउने प्रतिक्रिया नदिन र संवादको माध्यमबाट समस्या समाधानमा जोड दिन सबैलाई आग्रह पनि गरे । 

कुनै पनि अतिवादलाई स्वीकार गर्न नसकिने भन्दै उनले सबै पक्ष शान्तिपूर्ण ढंगले अगाडि बढ्नुपर्ने बताए । उनले सबैलाई सद्भाव कायम राख्न अपिल समेत गरे । 

सभापति लामिछानेले आमसञ्चार माध्यममा त्रियाशीलहरुलाई अझ बढी जिम्मेवार भएर लाग्न अनुरोध गरे । सामाजिक सञ्जालका प्रयोगकर्ता रहेका जुनकुनै दलका समर्थक सदस्य भए पनि यस्ता घटनामा संयमित हुन र एक अर्काको धर्म, आस्था र संस्कारलाई सम्मान गर्न आग्रह गरे । 

  • प्रकाशित मिति : भदौ ९, २०८० शनिबार २२:५६:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया