पोषणमा साथ दिने ‘मेरो पोषण साथी’ मोबाइल एपको स्वास्थ्य मन्त्रीद्वारा शुभारम्भ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले गर्भवती, सुत्केरी तथा दुई वर्ष मुनिका बालबालिकाको स्वास्थ्य तथा स्याहारमा मार्गदर्शन गर्ने ‘मेरो पोषण साथी’ मोबाइल एपको शुभारम्भ गरेका छन् । 

यो मोबाइल एपले गर्भवती तथा सुत्केरी महिला, दुई वर्ष मुनिका बालबालिकाका आमाबाबु वा स्याहारकर्ताहरूलाई स्याहार, खानपान र स्वास्थ्य सेवाको उपभोग सम्बन्धी सामयिक र उपयोगी जानकारी प्रदान गर्दछ ।

कार्यक्रममा बोल्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालीहरूको स्वास्थ्य सुधार र उज्ज्वल भविष्यको लागि मेरो साथी मोबाइल एप महत्त्वपूर्ण भएको बताए । मन्त्री बस्नेतले भने, ‘स्वास्थ्यका विषयहरू सम्बोधन गर्न जरुरी छ र त्यसको लागि यो मोबाइल एप एउटा प्रयास मात्र हो । बच्चालाई आमाको दूध चाहिन्छ किन कि त्यसमा पौष्टिक तत्त्व हुन्छ । तर, आमाको दूध राम्रोसँग आउनको लागि आमाले पनि पौष्टिक खानेकुरा खानुपर्ने हुन्छ । यो एपले कम्तीमा त्यसप्रति पनि चेतना जगाएर सहयोग गर्नेछ ।’

नेपाली प्रयोगकर्ता मैत्री एपले दर्ता गर्दा दिइएको विवरणको आधारमा बच्चाको तौल, खानपान, उमेर लगायतको रेकर्ड राख्दछ र त्यसै अनुसार आवश्यक व्यवहारहरूको बारेमा स्याहारकर्तालाई जानकारी दिनेछ । 

कार्यक्रममा बोल्दै स्वास्थ्य सचिव देव कुमारी गुरागाईँले स्वास्थ्य सबैको नागरिकको मौलिक हक भएको र यो एपले समग्र स्वास्थ्य अवस्थामा नै बहु आयामिक प्रभाव पार्ने बताइन् । उनले भनिन्, ‘यो एपले पोषण व्यवहारका साथसाथै नेपाल सरकारले प्रदान गर्ने आधारभूत स्वास्थ्य सेवाको उपभोग गर्न पनि प्रोत्साहन गर्दछ । त्यसैले समग्र स्वास्थ्य प्रणालीलाई नै सुदृढ तुल्याउन यो एपले सहयोग गर्नेछ ।’

कार्यक्रममा स्वास्थ्य र पोषणसँग सम्बन्धित डिजिटल पुस्तकालय तथा स्रोत केन्द्रको पनि शुभारम्भ गरिएको छ । डिजिटल लाइब्रेरीले स्वास्थ्यकर्मी, विद्यार्थी वा यो विषयमा रुचि राख्ने सबैको लागि नेपालमा आधारभूत स्वास्थ्य र पोषण सम्बन्धी दस्ताबेजहरू एकै स्थानमा सहजरूपमा उपलब्ध गराउने लक्ष्य लिएको छ ।



परिवार कल्याण महाशाखाका निर्देशक डा. विवेक कुमार लालले सबै नागरिकसम्म स्वास्थ्य र पोषणसम्बन्धी महत्त्वपूर्ण र उपयोगी जानकारी पुर्याउन महाशाखाले मोबाइल एप र डिजिटल लाइब्रेरीको सुरुवात गरेको बताए ।

कार्यक्रममा बोल्दै अमेरिकी विकास नियोग युएसएआइडीकी स्वास्थ्य निर्देशक प्याटरिसिया मेङगेचले यो एपले युवायुवती, विशेष गरी पहिलो पटक आमा बन्दै गरेका महिलाहरूलाई आफ्नो र बच्चाको स्वास्थ्य र पोषणबारे सुसूचित निर्णय लिन सशक्त बनाउने जानकारी दिए । उनले भने, ‘नेपाल सरकारको नीति र रणनीतिमा उल्लेख गरिएको प्राथमिकताहरू अनुरूप नै मोबाइल एप र डिजिटल लाइब्रेरी निर्माणमा सहयोग गरिएको हो । यो सहकार्यले नेपालको स्वास्थ्य र पोषणमा युएसएआइडीको प्रतिविद्धतालाई पुनः पुष्टि गरेको छ र नेपाल सरकारका यस्ता प्रयासलाई प्रभावकारी बनाउन युएसएआइडीले सधैँ हातेमालो गर्नेछ ।’



युएसएआइडीको आर्थिक तथा प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले विकास गरेको ‘मेरो पोषण साथी’ एप प्ले स्टोरबाट डाउनलोड गरी एन्ड्रोइड मोबाइलमा सजिलै प्रयोग गर्न सकिन्छ ।  

  • प्रकाशित मिति : भदौ १०, २०८० आइतबार १५:३१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया