logo-img

प्रधानमन्त्रीको दाबी : जनताको दैनिकी परिवर्तन गर्न सरकार क्रियाशील छ
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यसहित अगाडि बढेको बताएका छन् । नेपालीको मौलिक सांस्कृतिक पर्व गाईजात्रा तथा जनैपूर्णिमा (रक्षाबन्धन) का अवसरमा शुभकामना दिँदै उनले मुलुकमा विद्यमान विकृति, विसंगति, भ्रष्टाचार र बेथितिको अन्त्य गरी सुशासन कायम गर्न सरकार दृढ रहेको बताए ।

प्रधानमन्त्री दाहालले व्यवस्थामा आएको गुणात्मक परिवर्तनअनुरूप जनताको दैनिक जीवनमा परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको उल्लेख गरेका छन् । ‘विभिन्न महामारी, विश्व भूराजनीतिक सङ्कट र हाम्रो आफ्नै व्यवस्थापकीय कौशलताका सीमाका कारण अप्ठ्यारो परिस्थितिमा रहेको अर्थतन्त्रलाई लयमा फर्काएर विकास र समृद्धिको क्षेत्रमा तीव्रता दिने सरकारको सङ्कल्प छ’, उनले भनेका छन् ।

प्रधानमन्त्री दाहालले पछिल्लो समय सरकारका तर्फबाट लिइएका पहल देशको समुन्नति र जनताको बृहतर हितको चाहनाद्वारा परिलक्षित रहेको बताए । ‘यस ऐतिहासिक अवसरमा इतिहासदेखि कायम हुँदै आएको हाम्रो एकता तथा सद्भावलाई राष्ट्र र जनताको हित एवं विकासका पक्षमा थप उचाइमा पुर्‍याउनसमेत आम जनसमुदायमा अपिल गर्दछु’, उनले भनेका छन् ।



प्राचीनकालदेखि नै नेपाल विभिन्न जातजाति, भाषाभाषी, सभ्यता र संस्कृतिको संगमका रूपमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र एकतासहित अक्षुण्ण एवं सार्वभौम राष्ट्रका रूपमा रहिआएको प्रधानमन्त्री दाहालले उल्लेख गरेका छन् । जाति, भाषा र पर्वको विविधताले सभ्यता र संस्कृतिमा नेपालको वैशवशाली गौरव प्रमाणित गरेको जनाउँदै उनले यो सबै नेपालीका निम्ति ऐतिहासिक पहिचान र आत्मसम्मानको विषय भएको बताएका छन् ।

प्रधानमन्त्री दाहालले गाईजात्रा र जनैपूर्णिमा (ऋषितर्पणी) पर्वले सबै नेपालीलाई राष्ट्र निर्माणको साझा भावनाद्वारा प्रेरित भई सामाजिक सद्भाव र एकतासहित पारिवारिक आत्मीयता, प्रेम र खुसी कायम गर्न सकोस भनी शुभकामना व्यक्त गरेका छन् । उनले स्वदेश तथा विदेशमा रहेका समस्त नेपालीमा सुख, शान्ति, समृद्धि एवं निरन्तर प्रगतिको कामना गरेका छन् । 





  • प्रकाशित मिति : भदौ १४, २०८० बिहीबार ९:३३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया