म्याग्दीको गुर्जामा स्याउखेतीको सफल परीक्षण, इटालीबाट ल्याइएको थियो बिरुवा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

म्याग्दीको धवलागिरि गाउँपालिका–१ गुर्जामा उच्च घनत्वको स्याउखेतीको परीक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटालीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुई वर्षअघि गुर्जामा रोपिएका थिए ।  

गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले स्याउको बोटमा यस वर्षदेखि फल लागेको जानकारी दिए । 'परीक्षणका लागि जोखिम मोलेर स्याउखेती गरिएको थियो', उनले भने, 'सबै बोटमा फल लागेको छ ।' गुर्जाको स्याउखेती भएको ठाउँको उचाइ समुद्री सतहदेखि २ हजार ७ सय मिटर छ ।

गुर्जाको हिमाली कृषि सहकारी संस्थाले बाँझो जमिनको झाडी फाँडेर घेराबार गरी स्याउको बगैँचा बनाएको थियो । नाइलीबाङमा २६  कृषकले करिब २० रोपनी जग्गामा स्याउखेती गरेका हुन् । अन्यत्र यही उचाइमा खेती सफल भएकाले गुर्जामा पनि स्याउखेती गरिएको थियो । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयको ५० प्रतिशत अनुदान सहयोगमा आर्थिक वर्ष २०७८/७९ मा सात सय उच्च घनत्वको स्याउको कलमी बिरुवा लगाइएको थियो ।

आव २०७७/७८ मा कृषि ज्ञान केन्द्रको ५० प्रतिशत अनुदान सहयोगमा २ सय ५६ र वडाको प्रस्तावमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा ५ सय ९२ बिरुवा रोपिएका थिए । कृषि ज्ञान केन्द्रका प्राविधिक श्यामशरण कुर्मीले गुर्जामा जिल्लामै पहिलोपटक स्याउखेतीको परीक्षण सफल भएको बताए । 

'हावापानी, वातावरण र अनुकूल भूगोल भएकाले गत वर्षदेखि गुर्जामा उच्च घनत्वको स्याउखेती थालिएको थियो', उनले भने, 'छिटो फल्ने, धेरै उत्पादन दिने, फल टिप्न र खेती गर्न सजिलो हुने उच्च घनत्वको स्याउखेती विस्तारको सम्भावना बढेको छ ।'

यसअघि गुर्जामा स्थानीय जातको स्याउखेती गरिए पनि अपेक्षाकृत सफलता हासिल भएको थिएन । 'पुराना र परम्परागत रैथाने स्याउका बोटले उत्पादन तथा गुणस्तरीय स्याउ फलाउन छाडेपछि त्यसको साटो छिटो फल्ने उच्च घनत्वको स्याउ बिरुवा लगाउन थालिएको हो', वडाध्यक्ष छन्त्यालले भने, 'उच्च घनत्वको स्याउखेती विस्तार गरेर गुर्जामा खेर गइरहेको बाँझो जमिनको सदुपयोग गर्न र कृषकको आम्दानी बढाउन जोड दिन्छौँ ।' रासस





  • प्रकाशित मिति : भदौ १५, २०८० शुक्रबार ९:५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया