logo-img

हेलम्बु-याङ्री-लार्के सुरुङमार्ग बनाउन प्रस्ताव
प्रतीकात्मक तस्वीर

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–१ अम्बथानबाट पाँचपोखरी गाउँपालिकाको छिम्तीसम्म सुरुङमार्ग बनाउन प्रस्ताव गरिएको छ । 

मेलम्ची खानेपानी विकास समिति बोर्ड सदस्यसमेत रहेका हेलम्बु गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बुबाट–याङ्री र याङ्रीबाट हेलम्बु यातायात आवतजावतका लागि सो प्रस्ताव गरेका हुन् ।  

मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको कार्यक्रमअन्तर्गत याङ्री र लार्केको पानी मेलम्ची सुरुङमै थप गरेर काठमाडौं ल्याउने तयारी छ । सोही प्रयोजनका लागि थप नौ किलोमिटर ‘टनेल’ निर्माण गर्दा हेलम्बुको मुहानबाट याङ्री मुहानसम्मको भागमा खानेपानीको टनेल सँगसँगै हेलम्बुबाट याङ्री र याङ्रीबाट हेलम्बु यातायात आवतजावतका लागि सहज हुने उनको भनाइ छ ।  



याङ्री र लार्केको पानी काठमाडौं लैजानका लागि निर्माण हुने टनेलको डिजाइन गर्दा पानीसँगै यातायात आवतजावतका लागिसमेत सहज हुने गरीे बनाउन उनले आग्रह गरेका हुन् । अध्यक्ष शेर्पाले यातायातसहितको टनेल निर्माण गरिएमा हेलम्बु र पाँचपोखरी क्षेत्र दुवैतिरको पर्यटन प्रवर्द्धन र विकासमा टेवा पुग्ने बताए ।

दुईवटै पालिकाको छोटो दूरी र वैकल्पिकमार्गका रूपमा सो मार्ग प्रयोग गर्न सकिने उनको भनाइ छ । यसका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको र विभिन्न बैठकमा समेत आफूले कुरा उठाएको अध्यक्ष शेर्पाले बताए । ‘एडिबीले टनेलको डिजाइन गर्दा यातायात आवतजावतसहितको गर्नुपर्छ, यसले गर्दा यस भेगको पर्यटन प्रवर्द्धनमा मात्र नभएर विकासमा समेत टेवा पुग्छ,’ उनले भने ।

यो प्रस्तावका लागि पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामासँग पनि सल्लाह भएको जनाइएको छ । यस विषयमा स्थानीय राजनीतिक दल, जनप्रतिनिधि, समाजसेवी बुद्धिजीवी तथा सरोकारवाला निकायसँग चरण–चरणमा छलफल गरिसकेको र यसलाई निरन्तर अघि बढाइने अध्यक्ष शेर्पाको भनाइ छ । सो प्रस्तावमा मेलम्ची खानेपानी विकास समिति पनि सकारात्मक रहेको बताइएको छ । रासस  





  • प्रकाशित मिति : भदौ २२, २०८० शुक्रबार ७:३:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया