logo-img

कैदी मृत्यु प्रकरण : सात प्रहरी, आठ कैदीविरुद्ध अदालतमा मुद्दा दर्ता

संखुवासभाको जिल्ला कारागार खाँदबारीमा दुई कैदीबन्दीको कुटपिटबाट मृत्यु घटनाका १५ आरोपितविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ । 

गत साउन २४ गते जिल्ला कारागारमा भएको कैदी हत्या प्रकरणमा सरकारी वकिल कार्यालयले सातजना प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालत संखुवासभामा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको छ । 

घटनामा संलग्न १५ जनालाई जिल्ला सरकारी वकिल कार्यालयका वकिल सन्तोषप्रसाद भण्डारीले आज कर्तव्य ज्यान मुद्दा दर्ता गराएका हुन् । 



कारागारका सुरक्षाकर्मी र केही कैदीबन्दीको यातनाबाट संखुुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलांगी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको मृत्यु भएको थियो । सो घटनामा १५ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिएको सरकारी कार्यालयले जनाएको छ । 

कैदी हत्या घटनामा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षा गार्ड दमनसिंह राई, हवल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षा गार्ड नुसन राई विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको छ । 

कैदीको मृत्यु घटनामा कारागारमा कैद भुक्तान गरिरहेका आठजनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरिएको छ । 



चौकीदार राम कार्की, बडानाइके अनिष शर्मा कट्टेल, सचिन राई, सहनाइके सुमन सारुमगर, टीकाराम चौहान, नवीनकुमार राई तथा कैदी मीनबहादुर तामाङ र इन्द्रध्वज घिमिरेविरुद्ध पनि कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको हो । 

भाग्न खोजेका कैदीलाई नियन्त्रणमा लिएर सुरुमा उनीहरूले कुटपिट गरेर यातना दिएको सिसी क्यामेरा फुटेजमा देख्न सकिन्छ । बाहिर कुटेर दुवैजनालाई कारागारभित्र छिराइएको थियो । 



मुलुकी अपराध संहिता, २०७४ को दफा १८६ बमोजिम क्षतिपूर्ति, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूर्ति मागसहित मुद्दा दर्ता गरिएको छ । मुलुकी अपराध संहिता, २०७४ को दफा ४१, दफा १७७ र दफा १८६ र अपराध पीडित संरक्षण ऐन, ७५ को क्षतिपूर्तिसम्बन्धी व्यवस्था आकर्षित हुने गरी मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालयका वकिल सन्तोषप्रसाद भण्डारीले बताए । 

प्रहरी हिरासतमा रहेका कारागारका कम्प्युटर अपरेटर इन्द्रनारायण यादव, कार्यालय सहयोगी ढकलाल कार्की, प्रहरी जवान अमृतबहादुर कार्की, मुकेश विक र मनोज सोङ्मी सरकारी साक्षीको रूपमा अदालतमा पेस हुने गरी रिहा भएको जिल्ला अदालतका संखुवासभाले जनाएको छ ।

  • प्रकाशित मिति : भदौ २२, २०८० शुक्रबार २२:२९:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया