चार प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । यस्तै, नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहान देशभर सामान्य बदली रही कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही  स्थानहरू तथा बाँकी  प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।  

साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको  छ । मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका  थोरै  स्थानमा  हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, राति बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

वर्षाका कारण नदीको जल सतह हल्का बढ्न सक्ने, गेग्रान  बहाव, बाढी, पहिरो, भू–क्षयजस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि,  दैनिक  जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने  असुविधा, जोखिमलगायत चट्याङ तथा हावाहुरीको क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।





  • प्रकाशित मिति : भदौ २३, २०८० शनिबार ७:१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया