logo-img

विविध कार्यक्रम गरी आत्महत्या रोकथाम दिवस मनाइँदै

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपालमा आत्महत्याका घटना बढ्दोक्रममा रहे पनि आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि प्रभावकारी काम हुन सकेको देखिएको छैन । मनोविद् तथा मनोचिकित्सकहरू आत्महत्या रोकथाममा सबै क्षेत्रको उत्तिकै भूमिका हुनुपर्नेमा जोड दिन्छन् । 

आज विश्व आत्महत्या रोकथाम दिवस मनाइरहँदा एक दिन दिवस मनाउने मात्र नभइ वर्षभरि नै समुदायलाई सचेत गराउने गरी कार्यक्रम गर्नुपर्नेमा विज्ञहरूको जोड छ । नेपालमा पनि आज विभिन्न कार्यक्रम गरी आत्महत्या रोकथाम दिवस मनाइँदै छ । 

मनोविद् डा. नरेन्द्रसिंह ठगुन्ना सरकारले रोकथामका नीति त्यसैगरी ल्याउनुपर्ने, संघसंस्था तथा स्थानीय तहले पनि सचेतनामूलक कार्यक्रमसहितका गतिविधि सञ्चालन गर्नुपर्ने र सञ्चारमाध्यमबाट पनि रोकथाम तथा न्यूनीकरणका लागि सन्देशमूलक र सावधानी अपनाउने गरी समाचार सम्प्रेषण गर्न सके न्यूनीकरणमा सहयोग पुग्ने बताउँछन् ।



आत्महत्याका घटना बढेपछि नेपालमा त्यसप्रति कुनै पनि निकाय गम्भीर नभएको उनको भनाइ छ । नेपालमा आत्महत्याका घटना बढ्दो क्रममा छन् । पछिल्लो १० वर्षको तथ्यांकअनुसार ५६ हजार बढीले आत्महत्या गरिसकेका छन् । यो सङ्ख्या त्यसको अघिल्लो १० वर्षको तुलनामा निकै बढी हो ।  

नेपाल प्रहरीका नायब महानिरीक्षक कुवेर कडायत आत्महत्याका घटना बढ्दो क्रममा रहेको बताउँछन् । आत्महत्याका घटना न्यूनीकरणमा ध्यान दिनुपर्नेमा उनी सुझाव दिन्छन् ।  

गत आर्थिक वर्षमा मात्रै झन्डै ७ हजारले आत्महत्या गरेका थिए । वि.सं २०७० मा ४ हजार ५ सय जनाले आत्महत्या गरेकामा १० वर्षपछि आव २०७९/८० मा सो सङ्ख्या बढेर ७ हजार पुग्नु चुनौतीपूर्ण अवस्था रहेको मनोविद् तथा मनोचिकित्सक बताउँछन् । 



अझ कोभिड–१९ को समयमा आत्महत्या गर्नेको संख्या बढेको थियो । त्यसैले यसलाई मानसिक स्वास्थ्य समस्याका रूपमा हेरेर रोकथामतर्फ लाग्नुपर्नेमा उनीहरूको जोड छ ।   

मनोविद् डा. ठगुन्ना आत्महत्या गर्न खोज्ने व्यक्तिले पहिले नै कुनै न कुनै संकेत दिने र गतिविधि देखाउने हुँदा त्यस्ता गतिविधिको ख्याल गर्न सकियो भने रोक्न सकिने बताउँछन् । परिवार वा अरूले बेवास्ता गरेमा मात्रै ऊ आत्महत्याको बाटो रोज्न पुग्ने उनको भनाइ छ । रासस 



  • प्रकाशित मिति : भदौ २४, २०८० आइतबार १०:५४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया