बागमती क्रिकेट संघले काठमाडौं महानगरसँग मिलेर ५० विद्यालयका प्रशिक्षकलाई तालिम दिने

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र बागमती क्रिकेट संघका अध्यक्ष पारस खड्काबीच भेटवार्ता भएको छ । आजको भेटमा काठमाडौं महानगरपालिकाले बागमती प्रदेश क्रिकेट संघको प्राविधिक सहयोगमा केही विद्यालय तथा वडामा क्रिकेट नेट राख्ने सहमति भएको छ ।

मेयर शाहले पछिल्लो समय काठमाडौंबाट राष्ट्रिय टोलीको प्रतिनिधित्व गर्ने खेलाडी कम हुनुमा खेल्ने मैदान भएको उल्लेख गर्दै क्रिकेट नेटको व्यवस्था गर्न लागिएको उल्लेख गरेका छन् ।

‘पारस खडका, ज्ञानेन्द्र मल्ल, पृथु बास्कोटापछि काठमाडौंबाट राष्ट्रिय टोलीबाट प्रतिनिधित्व गर्ने अर्को खेलाडी नै निस्किएन । कारण काठमाडौंमा खेल्ने वातावरण नै नभएर हो । स्थानीय सरकारको दायित्व भनेकै स्थानीयजनतालाई खेल्ने वातावरण तयार पार्ने नै हो,’ मेयर शाहले भनेका छन्, ‘त्यसअनुरूप हामीले बागमती प्रदेश क्रिकेट सङ्घको प्राविधिक सहयोगमा केही स्कुलहरू तथा वडाहरूमा क्रिकेट नेट राख्ने व्यवस्था गर्दैछौँ ।’

त्यस्तै, कुशल प्रशिक्षकको पनि अभाव रहेको जनाउँदै बागमती संघको सहकार्यमा काठमाडौं क्रिकेट प्रशिक्षक विकास कार्यक्रम, आइसिसी लेभल जिरो क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्ने पनि उनले उल्लेख गरेका छन् । जसअन्तर्गत ५० नयाँ क्रिकेट प्रशिक्षकलाई तालिम दिई त्यसपछि शहर भरका इच्छुक खेलाडीलाई क्रिकेटको ज्ञान र सीप फैलाउन सहयोग गर्ने मेयर शाहले बताएका छन् । 

‘बागती प्रदेशभित्र लेबल १ देखि ३ सम्मको सर्टिफाइड क्रिकेट प्रशिक्षक २५ जना मात्रै रहेका छन् । प्रशिक्षक र खेलाडीको अनुपातलाई हेर्दा यो निकै कम हो । यस खाडललाई सम्बोधन गर्न हामीले वाग्मती क्रिकेट संघको सहकार्यमा  काठमाडौं क्रिकेट प्रशिक्षकविकास कार्यक्रम, आइसिसी लेभल जिरो क्रिकेट कोच विकास कार्यक्रम सुरु गर्दै छौँ, जसअन्तर्गत ५० नयाँ क्रिकेट प्रशिक्षकलाई तालिम दिइ त्यसपछि सहर भरका इच्छुक खेलाडीहरूलाई क्रिकेटको ज्ञान र सीपहरू फैलाउन सहयोग गर्ने छ,’ मेयर शाहले सामाजिक सञ्जालमार्फत घोषणा गरेका छन् ।
 





  • प्रकाशित मिति : भदौ २९, २०८० शुक्रबार १८:५४:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया