logo-img

राष्ट्रिय महिला भलिबलको उपाधि पुलिसलाई

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

पोखरामा आयोजना गरिएको महिला तथा पुरुष ‘लामाचौर कप’ राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि महिलातर्फ नेपाल पुलिस क्लबले जितेको छ ।

पोखराको लामाचौरस्थित इन्द्रराज्यलक्ष्मी माध्यमिक विद्यालयको खेल मैदानमा आज सम्पन्न फाइनल खेलमा साबिक विजेता विभागीय टोली पुलिसले चिरपरिचित प्रतिद्वन्द्वी न्यू डायमन्ड युथ स्पोर्ट्स काठमाडौंलाई ३—१ सेटमा पराजित गरी उपाधि रक्षा गरेको हो । 

नवआदर्श सामुदायिक विकास समाज (नाकोड्स)ले हरितालिका तीज पर्वका अवसरमा राष्ट्रिय भलिबल प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिएको हो । पुलिसले डायमन्डमाथि १८—२५, २५—२२, २५—१४ र २५—२० को सेटमा पराजित गरेको हो । पहिलो सेटमा पराजय भोगेको पुलिसले लगातार तीन सेट आफ्नो पक्षमा पार्न सफल भयो ।
    
च्याम्पियन बनेको पुलिसले उपाधिसहित नगद एक लाख ५० हजार एक सय ११, ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्दा उपविजेतामा चित्त बुझाएको डायमन्डले एक लाख एक सय ११ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पायो ।



यसअघि लिग चरणको खेलमा पुलिसले सबै खेल जित्दै शीर्ष स्थानमा रहँदै फाइनल यात्रा तय गरेको थियो । सशस्त्र प्रहरीको एपिएफ क्लबले प्रतियोगितामा तृतीय हुँदै ५० हजार एक सय ११ पुरस्कार पायो । 

महिला भलिबलमा नेपाल पुलिस क्लब, न्यु डायमन्ड, सशस्त्र प्रहरीको एपिएफ क्लब र एभरेष्ट भलिबल क्लब बुटवलले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । 

यसैबीच प्रतियोगितामा पुुरुषतर्फ गण्डकी प्रदेश र नेपाल पुलिस क्बलबीचको फाइनल खेल आज रोकिएको छ । फाइनलमा दुई सेटको खेल समाप्तिपछि अँध्यारो भएपछि आजका लागि खेल रोकिएको हो ।



पुरुषतर्फको फाइनल खेल मंगलबार बिहान हुने आयोजकले जनाएको छ । पुरुषतर्फ लिगको अन्तिम खेलमा आज गण्डकीले नेपाल पुलिस क्लबलाई ३–२ को सेटमा हराउँदै पुलिससँग नै फाइनल खेल्ने गरी स्थान पक्का गरेको थियो । 



  • प्रकाशित मिति : असोज १, २०८० साेमबार २२:४१:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया