logo-img

शिक्षा क्षेत्रको मनपरी शुल्क बन्द गर्छौं : मुख्यमन्त्री जम्कट्टेल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले शैक्षिक निकायमा हुने मनपरी शुल्क बन्द गर्ने बताएका छन् । आज राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

शिक्षा क्षेत्रमा मनपरी शुल्क भएकाले अब प्रदेश सरकार आफैँले शुल्क निर्धारण गर्न लागेको उनले बताए । पढेपछि ऋण तिर्न विदेश जानुपर्ने बाध्यता धेरै विद्यार्थीको समस्या रहेकाले अब शिक्षा क्षेत्रको बृहत्तर विकासका लागि प्रदेश सरकार लागिपर्ने उनले बताए । 

मुख्यमन्त्री जम्कट्टेलले शिक्षा व्यापार नभई सेवाको भावनाले सञ्चालन हुनुपर्ने आफूहरुको जोड रहेको बताए । बागमती प्रदेश सरकार शिक्षा नीति ल्याउने तयारीमा रहेको भन्दै उनले यसका लागि नीतिगत सुझाबको अपेक्षामा रहेको बताए । 



बागमती प्रदेशमा शिक्षा क्षेत्रमा उल्लेख्य काम भए पनि धेरै कुराहरुको अभाव रहेको मुख्यमन्त्री जम्कट्टेलले स्विकार गरे । ‘मलाई थाहा छ शिक्षा क्षेत्रमा समस्या धेरै छन्, पाठयक्रमका समस्यादेखि शिक्षामा देखिएको अन्तरविरोध भनि साध्य छैन,’ उनले भने । 

मुख्यमन्त्री जम्कट्टेलले विशेषतः स्वास्थ्य क्षेत्र र प्राविधिक क्षेत्रको शिक्षा निकै महँगो हुँदै गएकोप्रति आफूले नजिकबाट बुझेको र यसलाई छिटै समाधानतर्फ लाग्ने प्रतिबद्धता व्यक्त गरे । 

कार्यक्रममा ०७९ सालमा बागमती प्रदेशमा माध्यमिक शिक्षा परीक्षा (कक्षा १०)मा उच्च जिपिए ल्याउने सामुदायिक र संस्थागत विद्यालयलाई प्रोत्सान गर्न नगदसहित सम्मान तथा पुरस्कृत गरिएको थियो । जसअनुसार सामुदायिक विद्यालयतर्फ सबैभन्दा बढी जिपिए ल्याई प्रथम हुन सफल मेघा मावि भक्तपुर नगरपालिकालाई नगद एक लाखसहित सम्मान गरिएको थियो । 



यस्तै, दोस्रो हुन सफल पृथ्वी मावि विदुर नुवाकोटलाई नगद ८० हजार, तृतीय हुन सफल श्रम राष्ट्रिय मावि काठमाडौंलाई ६० हजार, चौथो हुन सफल पृथ्वीनारायण मावि तारकेश्वर काठमाडौंलाई ४० हजार र पाँचौँ हुन सफल बलम्बु मावि चन्द्रगिरि नगरपालिका काठमाडौंलाई ३० हजारसहित सम्मान गरिएको थियो ।  

यस्तै, संस्थागत विद्यालयतर्फ सबैभन्दा बढी जिपिए ल्याई प्रथम हुन सफल रिलायन्स इन्टरनेसनल एकेडेमी, बूढानीलकण्ठ नगरपालिकालाई नगद एक लाख, द्वितीय हुन सफल हिज किड्स इन्टरनेसनल स्कुल, काठमाडौं महानगरपालिकालाई ८० हजार र तृतीय हुन सफल फ्लोरोसेन्ट माध्यमिक विद्यालय, टोखा नगरपालिकालाई ६० हजारसहित सम्मान गरिएको थियो । 



विसं २०७९ को माध्यमिक शिक्षा परीक्षामा बागमती प्रदेशबाट एक हजार तीन सय ६२ सामुदायिक विद्यालय र एक हजार पाँच सय ४८ संस्थागत विद्यालय गरी जम्मा दुई हजार नौ सय १० विद्यालयको सहभागिता थियो । 

सामाजिक विकासमन्त्री कुमारी मुक्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा सचिव डा. भीष्मकुमार भुसाल, विभिन्न विद्यालयका शिक्षक प्रतिनिधिलगायतको सहभागिता थियो ।

  • प्रकाशित मिति : असोज २, २०८० मंगलबार २१:५५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया