विद्यालय बन्दबाहेकको विकल्प खोज्न मानवअधिकार आयोगकाे आग्रह

मानवअधिकार आयोगले शिक्षकहरूले विद्यालय नै बन्द गरेर गरिरहेको आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मानवअधिकार आयोगले आज बिहीबार विज्ञप्ति निकालेर गम्भीर यसबारे ध्यानाकर्षण भएको जनाएको हो ।

संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकप्रति असन्तुष्टि जनाउँदै देशैभरका विद्यालय बन्द गरेर शिक्षकहरूले काठमाडाैंमा आन्दोलन गरिरहेका छन् । 

शिक्षकले आफ्नो वृत्ति विकासका साथै संस्थागत हकहितका लागि माग राख्नु, विचार व्यक्त गर्नु, शान्तिपूर्ण प्रदर्शन गर्नु मानव अधिकारको मूल्य मान्यता अनुकूल नै भए पनि विद्यालय बन्द गरेर पठनपाठन अवरुद्ध गर्नुले बालबालिकाको शिक्षाको अधिकारको उल्लंघन भएको विज्ञप्तिमा उल्लेख छ । शिक्षकको आन्दोलनबाट विद्यालय शान्ति क्षेत्र घोषणालाई समेत प्रत्यक्ष असर पुगेको आयोगको भनाइ छ ।

आयोगले आफ्ना माग राख्न विद्यालय बन्दबाहेकको विकल्प खोज्न, वार्ताको माध्यमबाट समस्याको समाधान गर्न र आन्दोलनमा हिंसात्मक अवस्था सिर्जना हुनसक्नेतर्फ सचेत हुन आन्दोलनरत शिक्षकलाई आग्रह गरेको छ । 

यस्तै, आयोगले शिक्षकका जायज माग वार्ताबाट सम्बोधन गर्न सरकारको समेत ध्यानाकर्षण गराएको जनाएको छ ।





  • प्रकाशित मिति : असोज ४, २०८० बिहीबार १८:३९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया