असिनाले ढोरपाटनमा स्याउ उत्पादनमा कमी, किसान निराश

बागलुङको निसीखोला गाउँपालिका–५ मसगाउँका ७३ वर्षका जुमबहादुर बुढाथोकी मगरले स्याउ बगानमा इटालियन प्रजातिका ३ सय र स्थानीय प्रजातिका २ सय गरी ५ सय स्याउका बिरुवा लगाएका छन् । उनले दुवै प्रजातिका स्याउबाट गत वर्ष १५ क्विन्टल उत्पादन गरेर बिक्री गरे । तर यसपटक भने उनको स्याउ बगान रित्तै छ ।

गत चैत र वैशाखमा परेको असिनाका कारण मगरको स्याउ बगानको उत्पादनमा कमी आएको हो । उनले वि.सं २०४८ देखि  परम्परागत तरिकाले स्याउ खेती गर्दै आएका छन् । मगरको मसगाउँमा रहेको १५ रोपनी जग्गामा स्याउ खेती छ । दुई वर्षअघि मात्रै लगाइएको इटालियन प्रजातिको स्याउ गत वर्ष राम्रो उत्पादन दिएको भए पनि यस वर्ष उत्पादनमा कमी आएको उनको भनाइ छ । 

‘गत वर्ष १५ क्विन्टल स्याउ बिक्री गरेको थिए, यस वर्ष २० देखि २५ क्विन्टल बिक्री गर्ने लक्ष्य थियो’, किसान मगरले भने, ‘चैत र वैशाखमा परेको असिनाका कारण स्याउ उत्पादनमा कमी आयो, ढोरपाटन र निसेलढोर क्षेत्रमा पहिलोपटक असिना परेको थियो ।’

असिनाका कारण ढोरपाटन र निसेल्ढोर क्षेत्रका स्याउ किसान अहिले निराश भएको उनले बताए । परम्परगात स्याउखेती सफल नहुँदा निसेलढोर र ढोरपाटनका किसान स्याउखेतीभन्दा आलुखेतीतर्फ अग्रसर भइरहेका थिए । मगरले आफ्नो व्यक्तिगतरूपमा ढोरपाटन स्याउ फार्ममा नयाँ र पुराना स्याउ गरी १५ रोपनी जग्गामा स्याउ विस्तार गर्ने लक्ष्य राखेका छन् । 

उनले यस वर्ष दुई सय इटालियन प्रजातिका बिरुवा थप गरेका छन् । ‘ढोरपाटन स्याउ ब्लकको अध्यक्षसमेत भएँ, अहिले सामूहमा काम गरेका छौँ, ढोरपाटन र निसेलढोका स्याउ किसानको नेतृत्व म आफैँ गरिरहेको छु, परम्परागत स्याउ भएन’, मगरले भने, ‘इटालियन प्रजातिको स्याउ फस्टाएको छ तर यस वर्ष भने स्याउ उत्पादनमा निकै कमी आयो असिनाले स्याउका फूल झार्दा उत्पादन न्यून  भएको हो ।’

ढोरपाटन क्षेत्रमा हिमपातसँगै पानी र वर्षाका कारण मुस्ताङमा जस्तो स्याउको राम्रो उत्पादन नभएपछि किसान व्यावसायिक उत्पादनमा अग्रसर भएका थिएनन् । कृषि अध्ययनले समेत ढोरपाटनमा असिना र वर्षात् कारण व्यावसायिक स्याउखेती गर्न कठिन देखाएको थियो । तर कृषि ज्ञान केन्द्रको पहलमा इटालीबाट ल्याइएको आधुनिक प्रजातिको स्याउको बिरुवा ढोरपाटनमा परीक्षणका लागि मात्रै लगाइएको थियो । 



स्याउको परीक्षण सफल भएपछि अहिले पुनः नयाँ बिरुवा थप भइरहेको छ । सो क्षेत्रमा परम्परागत तरिकाले स्याउखेती गर्न थालेको वर्षौँ भए पनि व्यावसायिक उत्पादनका लागि आधुनिक प्रजातिको इटालीबाट ल्याइएको स्याउको बिरुवा नै उत्कृष्ट देखिएको छ ।

ढोरपाटन उपत्यका, सेन्तुङ, श्यालपाखे र निसेलढोर, मसलगायतको स्थानमा परम्पराकालदेखि नै फ्याट्टफुट्ट स्याउखेती हुने गरे पनि त्यसले व्यावसायिकता पाउन थिएन । ढोरपाटन–९ ढोरपाटन उपत्यकाका किसान रामबहादुर घर्तीले समेत एक सय ८१ वटा बिरुवामा केही बिरुवामा गत वर्षदेखि स्याउ फल्न थालेको बताउँदै यस वर्ष भने असिनाका कारण स्याउ निकै कम फलेको बताए ।  



यहाँका स्थानीय परम्परागत स्याउखेती छाडेर इटालियन प्रजातिको स्याउखेती लगाउन अग्रसर भए पनि यसपटक ढोरपाटन क्षेत्रको स्याउ उत्पादनमा भारी गिरावट आएको किसान रामबहादुरले बताए ।  

ढोरपाटन क्षेत्रमा २ सयभन्दा बढी किसानले परम्परागत र एक दर्जन किसानले व्यावसायिक स्याउखेती गर्दै आएका छन् । रासस 
 

  • प्रकाशित मिति : असोज ७, २०८० आइतबार ७:१३:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया