एसियन गेम्सका लागि नेपाली टिमको बिदाइ, मेडल जित्ने दाबी

एसियन गेम्सका लागि चीन जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।  नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले एक कार्यक्रमबीच खेलाडीलाई बिदाइ गरेका हुन् । नेपालले यही २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ ।

नेपालले समूह चरण पार गरेपछि भारत, पाकिस्तान, श्रीलंका वा बंगलादेशमध्ये कुनै देशसँग प्रतिस्पर्धा गर्नेछ । ​बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले राम्रो अभ्यास गरेको र मेडल जित्ने लक्ष्य आफूहरूको रहेको बताए । उनले मेडल हात पार्नका लागि सबै खेलाडी तयार रहेको बताए ।  

‘राम्रो अभ्यास गरेका छौँ । हामी सबैको लक्ष्य मेडल जित्ने छ । त्यसको लागि सम्पूर्ण खेलाडीहरू रेडी छौँ । आउने दिनमा एकदमै राम्रो गर्नेछौँ,’ उनले भने ।  

खेलाडीलाई बिदाइ गर्दै नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले आगामी दिनमा सबैले देख्नेगरी मनोबल कमजोर नहुनेगरी आफूहरू लाग्ने बताए । उनले नयाँ कार्यसमितिले खेलाडीको हौसला बढाउने गरी काम गर्ने प्रतिबद्धता जनाए ।  

चन्दले नेपालले एसियाडमा हुने क्रिकेटमा मेडल जित्ने उच्च सम्भावना रहेको बताए । उनले क्रिकेट खेललाई नेपालमा धेरैले रुचाएको भन्दै थप मनोबल बढ्ने गरी खेल्न आग्रह गर्दै जितको शुभकामना दिए ।    



‘पहिलाको भन्दा उत्कृष्टरूपमा यो कार्य समितिले यहाँहरूको भावनाको कदर गर्दै आगामी दिनमा देखिने गरी मनोबल कमजोर नहुनेगरी हामी हौसला बढाउने छौँ । एसियाडको अग्रिम शुभकामना छ । हामी मेडलका लागि उच्च मनोबलका साथ खेल्नेछौँ । यसमा सम्भावना छ,’ चन्दले भने, ‘नेपालको शिर उच्च हुनेगरी खेलिरहनुभएको छ । मनोबल बढिरहेको छ । सबैले मन पराउनुभएको छ । एकतावद्ध भएर खेल्नुपर्छ ।’ 

कार्यक्रममा क्यानका सचिव पारस खड्काले नेपाली क्रिकेटको नयाँ युगको सुरुवात गर्ने प्रयासमा आफूहरू रहेको बताए । उनले कुनै पनि खेललाई सहज तरिकाबाट नलिन आग्रह गर्दै खेलले देश र जनतालाई एक ठाउँमा ल्याउने ठूलो भूमिका खेलेको बताए ।



देशलाई जिताउन नयाँ सोच र रणनीतिका साथ अघि बढ्ने बताए । उनले अहिलेको नेपालको लक्ष्य मेडल जित्ने रहेको बताए ।  

नेपाली टिममा विकेटकिपर विनोद भण्डारी, आसिफ सेख, ब्याट्सम्यान कुशल भुर्तेल, रोहितकुमार पौडेल र सन्दीप जोरा, अलराण्डरमा दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, तीव्र गतिका बलरमा सोमपाल कामी, करण केसी, गुल्सन झा, प्रतिश जिसी र अविनाश बोहरा, स्पिनरमा सन्दीप लामिछाने रहेका छन् ।


  • प्रकाशित मिति : असोज ७, २०८० आइतबार ११:३७:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया