logo-img

खेलाडीको हौसला बढाउने किसिमका कार्यक्रमका ल्याउँछौँ : चतुरबहादुर चन्द

नेपाल क्रिकेट संघ (क्यान) को अध्यक्ष चतुरबहादुर चन्दले आगामी दिनमा खेलाडीको हौसला बढाउने खालका कार्यक्रमका साथ नयाँ कार्यसमिति अगाडि बढ्ने विश्वास दिलाएका छन् । 

आज नेपाली क्रिकेट टिमलाई शुभकामना तथा बिदाइ दिन आयोजित पत्रकार सम्मेलनमा उनले कार्यसमिति विगतको भन्दा उत्कृष्ट तरिकाले अगाडि बढ्ने भन्दै खेलाडीका सुधारका लागि काम गर्ने बताए । 



‘पहिलाभन्दा उत्कृष्टरूपमा यो कार्यसमितिले सबै खेलाडीको भावनाको कदर गर्दै आगामी दिनमा देखिने गरी, मनोबल कमजोर नहुने गरी हौसला बढाउने खालको कार्यक्रमका साथ अगाडि बढाउने विश्वास र प्रतिबद्धता जाहेर गर्न चाहन्छु,’ चन्दले भने ।

उनले खेलको लागि शुभकामना दिँदै उच्च मनोबलका साथ खेलेर मेडल जितेर आउनु आग्रह पनि गरेका छन् । यस्तै, क्यानका सचिव पारस खड्काले आगामी दिनमा देशलाई जिताउनको लागि नयाँ सोच, विचार र रणनीतिका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाएका छन् ।

उनले नेपाली क्रिकेटको नयाँ युगको सुरुआत गर्ने प्रयासमा रहेको भन्दै खेलाडीलाई मिहिनेतका साथ अगाडि बढ्न शुभकामना दिएका छन् ।  



‘कुनै पनि खेल, प्रतियोगितालाई सहज तरिकाले नलिनु होला, यही खेलमार्फत हामीले सम्पूर्ण जनतालाई एउटै ठाउँमा ल्याउन ठूलो भूमिका खेलेको छ । त्यसैले सबैको जिम्मेवारी छ,’ पारसले भने, ‘आगामी दिनमा आफ्नो देशलाई जिताउनका लागि नयाँ सोच, विचार र रणनीतिका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाउन चाहन्छु । यो प्रतियोगितामा मेडल ल्याउने लक्ष्य छ त्यसको लागि आफ्नो तर्फबाट तयारी गर्नुभएको होला ।’ 



पत्रकार सम्मेलनमा नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले हाम्रो उद्देश्य मेडल जित्नु भएको भन्दै त्यसको लागि निरन्तर प्रयास गरिरहेको बताए । उनले सबैजना खेलको लागि तयार रहेको र खेल राम्रो हुने आशा लिएको पनि बताए । 

‘विगत १०/१५ दिनेदेखि खेलहरू खेल्ने गरेका छौँ, तयारी एकदमै राम्रो भएको छ । हाम्रो उद्देश्य भनेको मेडल जित्नु नै हो त्यसको लागि हामीले हाम्रो प्रक्रियालाई निरन्तरता दिनुपर्छ,’ रोहितले भने, ‘हामी सबैजना खेलको लागि तयार छौँ र राम्रो खेल्ने छाैँ भन्ने आशा छ ।’   


  • प्रकाशित मिति : असोज ७, २०८० आइतबार ११:५९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया