logo-img

पुल मर्मत गर्न नेपाल-भारतको झुलाघाट नाका बन्द

भारतसँग सीमा जोडिएको झुलाघाटमा रहेको झोलुङ्गे पुल मर्मत गर्न थालिएको छ । महाकाली नदीमाथिको उक्त पुलको भारतीय सीमानातर्फ बेस (काठ) लक भाँच्चिएपछि मर्मत थालिएको हो ।

भारतीय पक्षले पुल मर्मतको काम गरिरहेकाले आज सीमानाकामा आवागमन बन्द गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले जानकारी दिए । भारतको पीडब्लुडी कार्यालयले पुल मर्मतको काम गरिरहेकाले एक दिनका लागि पुलमा आवागमन बन्द गरिएको हो ।

यसअघि सीमा क्षेत्रमा नेपाल-भारत समन्वय बैठक बसेको बेला पुल मर्मत गर्ने विषयमा दुवै पक्षका अधिकारीबीच सहमति भएको थियो । झुलाघाट नाकामा इष्ट इण्डिया कम्पनीले करिब डेढ सय वर्ष अगाडि निर्माण गरेको झोलुङ्गे पुलबाट आवतजावत गर्ने गरिएको छ । पुल जीर्ण भएकाले बेलाबेलामा मर्मत गर्ने गरिएको छ । यसअघि गत असारमा पनि पुल मर्मत गरिएको थियो । 



तत्कालका लागि काम दिने गरी मर्मत हुने पुलमा जोखिम भने कायमै छ । पुरानो काठको पुल भारतीय पक्षले बेलाबेला काम चलाउका लागि मर्मत गरे पनि पूर्णरूपले मर्मत हुन सकेको छैन । पुल मर्मत नहुँदा यहाँ आवतजावत गर्ने मान्छे दैनिक जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।

झुलाघाट नाका सदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रुपमा चिनिन्छ । झुलाघाटस्थित महाकाली नदीमा मोटरेबल पुल नहुँदा जीर्ण पुलबाटै आवतजावत गर्ने गरिएको छ ।  





  • प्रकाशित मिति : असोज ८, २०८० साेमबार १४:१७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया