logo-img

वसन्तपुरमा इन्द्रजात्राको रौनक (तस्बिरमा)

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

वसन्तपुर आज इन्द्रजात्रा हेर्ने दर्शकले भरिएको छ । यहाँ मानिसहरूको खचाखच उपस्थिति छ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा मनाइँदै छ ।

जात्रा हेर्न उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,  गरिबी निवारण तथा सहकारीमन्त्री रन्जिता श्रेष्ठ, पर्यटनमन्त्री सुदन किराती, काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलगायत उच्च अधिकारी हनुमानढोका पुगिसकेका छन् ।

इन्द्रजात्रा अवलोकन गर्न विदेशी पर्यटक पनि वसन्तपुर पुगेका छन् । केहीबेरमा कुमारीको रथारोहण हुनेछ । हनुमानढोकास्थित गद्दी बैठकबाट राष्ट्रपति रामचन्द्र पौडेलले कुमारीलगायत रथको अवलोकन गर्ने कार्यक्रम रहेको छ । 

सोही अवसरमा यहाँ हजारौँ सर्वसाधारण पनि जात्रा अवलोकन गर्न पुगका छन् । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाइँदै आइएको छ । विशेषगरी वसन्तपुरमा देखाइने जात्रा विश्वभर चर्चित रहीआएको छ । 

भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
 
भाद्र शुक्ल द्वादशीका दिन ठड्याइएको लिंगोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिंगोको फेदमा भैरवको पूजा गरिन्छ । शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रुपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रुपमा पनि इन्द्रजात्रालाई लिइन्छ । 

जात्राभर भक्कुनाच, महाकालीनाच, लाखेनाच, दशअवतार तथा देवराज इन्द्रको वाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ । इन्द्रध्वजाको लिंगो ठड्याएको आठौँ दिनपछि अर्थात् आश्विन कृष्ण चौथीका दिन ‘इन्द्रध्वज पातन’ गर्ने अर्थात् लडाउने चलन छ । 



 



 


 

 

  • प्रकाशित मिति : असोज ११, २०८० बिहीबार १६:३:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया