logo-img

सर्वाधिक विकेट लिने ५ नेपाली बलर, कसको नाममा कति ?
सन्दीपले पूरा गरे दोहोरो शतक !

नेपाली क्रिकेट टिमले पछिल्लो समय आफ्नो खेल प्रदर्शनबाट सबैलाई आकर्षित गरिरहेको छ । एकपछि अर्को उपलब्धि हासिल गर्न नेपालले ब्याटिङ/बलिङ दुवै पक्षबाट समर्थक र खेल विश्लेषकको मन जितिरहेको हो ।

नेपालले हरेक खेलमा कुनै न कुनै उपलब्धि हासिल गरिरहेको छ । आइतबार सम्पन्न एसियन गेम्सको क्रिकेट प्रतिस्पर्धामा माल्दिभ्सविरुद्ध पनि नेपाली खेलाडीले राष्ट्रिय कीर्तिमान बनाए ।  



विशेषगरी माल्दिभ्सविरुद्ध स्पिनर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा २ सय विकेटको आँकडा पूरा गरे । उनी अब २ सय अन्तर्राष्ट्रिय विकेट लिने पहिलो नेपाली बलर बनेका छन् । 

सन्दीपले एकदिवसीय र टी–२० गरी ९७ अन्तर्राष्ट्रिय म्याचमा २ सय विकेट पूरा गरेका हुन् । उनको नाममा ५१ ओडिआईमा ११२ तथा ४६ टी-२० खेलमा ८८ विकेट विकेट छ ।

सन्दीप एकदिवसीयमा सर्वाधिक छिटो १ सय विकेट पूरा गर्ने विश्वकै पहिलो बलर पनि हुन् । उनले ४२ ओडिआईमै यो विश्वकीर्तिमान बनाएका थिए । यस्तै, सन्दीप नेपालको तर्फबाट टी-२० सर्वाधिक विकेट लिने बलरसमेत हुन् । 



सन्दीपपछि नेपालको तर्फबाट सर्वाधिक अन्तर्राष्ट्रिय विकेट लिने बलर हुन् करण केसी । उनले अहिलेसम्म ९२ खेलमा १३६ अन्तर्राष्ट्रिय विकेट लिएका छन् । करणको नाममा हालसम्म एकदिवसीयमा ७४ तथा टी-२० मा ६२ विकेट छ ।



यो सूचीको तेस्रो नम्बरमा अर्का अलराउन्डर सोमपाल कामीको नाम आउँछ । उनले अहिलेसम्म ९३ अन्तर्राष्ट्रिय खेलमा १०५ विकेट लिएका छन् । सोमपालले ४० विकेट टी-२० तथा ६५ विकेट ओडिआईमा लिएका हुन् ।  

नेपालको तर्फबाट सर्वाधिक अन्तर्राष्ट्रिय विकेट लिने सूचीको चौथो नम्बरमा अलराउन्डर दीपेन्द्र सिंह ऐरीको नाम आउँछ । उनले अहिलेसम्म ९८ अन्तर्राष्ट्रिय म्याच खेलेका छन् । जसमा दीपेन्द्रले ३६ ओडिआई र २२ टी-२० गरी कुल ५८ विकेट लिएका छन् । 

यो सूचीको पाँचौं स्थानमा तीव्र गतिका बलर अविनाश बोहरा समावेश छन् । उनले अहिलेसम्म ३९ टी-२० र दुई ओडिआई खेल खेलेका छन् । जसमा अविनाशले टी-२० मा ४८ विकेट लिएका छन् । एकदिवसीयमा भने उनी विकेटविहीन छन् ।

पछिल्लो समय अविनाश टी-२० टिममा मात्र मौका पाइरहेका छन् । उनले आइतबार माल्दिभ्सविरुद्ध ६ विकेट लिँदै राष्ट्रिय कीर्तिमान बनाए । अविनाश अब टी-२० अन्तर्राष्ट्रियमा एक खेलमा ६ विकेट लिने पहिलो नेपाली बलर बनेका छन् । 

  • प्रकाशित मिति : असोज १५, २०८० साेमबार १२:१२:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया