नेपाली क्रिकेट टिमलाई प्रधानमन्त्रीले दिए बधाई
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९ औँ एसियाली खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको भन्दै नेपाली क्रिकेट टिमको प्रशंसा गरेका छन् । उनले मंगलबार सामाजिक सञ्जालमार्फत् टिमको प्रदर्शनको प्रशंसा गरेका हुन् । 

‘मंगोलिया र माल्दिभ्ससँगको प्रतिस्पर्धामा कीर्तिमानसहित प्राप्त गरेको सफलताप्रति हार्दिक बधाई । साथै आज बिहान भारतसँग भएको खेलमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टिमलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ प्रधानमन्त्री दाहालले भनेका छन् । 

एसियन गेम्सअन्तर्गत क्रिकेटमा नेपाल आज भारतसँग २३ रनले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । भारतले प्रस्तुत गरेको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपालले ९ विकेटको क्षतिमा १ सय ७९ रन मात्र बनाउन सक्यो । यद्यपि भारतविरुद्ध नेपालको खेल प्रदर्शन निकै प्रशंसायोग्य रह्यो ।  

नेपालले आफ्नो इनिङमा कुल १४ छक्का हिर्कायो । पहिले ब्याटिङ गरेको भारतले भने आफ्नो इनिङमा १२ छक्का मात्र हिर्काएको थियो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १५ बलमा ४ छक्काको मद्दतमा सर्वाधिक ३२ रन बनाए ।

उनले शिवम दुबेको ओभरमा लगातार तीन छक्का हिर्काउँदै खेल रोचक बनाएका थिए । यस्तै, सन्दीप जोराले १२ बलमा तीन छक्का र एक चौकाको सहयोगमा २९ रनको इनिङ खेले ।  

यस्तै, कुशल मल्लले पनि २२ बलमा २९ रन नै बनाए । उनले आफ्नो इनिङमा २ छक्का र २ चौका प्रहार गरे । कुशल भुर्तेलले ३२ बलमा चार चौका र एक छक्कासहित २८ रन जोडे । अविजित रहेका करण केसीले १३ बलमा दुई छक्काको मद्दतमा अविजित १८ रन बनाए । आसिफ शेख १०, सोमपाल कामी ७, गुलसन झा ६, सन्दीप लामिछाने ५ र कप्तान रोहित पौडेल ३ रनमा आउट भए । 



भारतका लागि रवि बिस्नोई र आवेश खानले तीन/तीन विकेट लिए । अर्शदीप सिंहले दुई र साई किशोरले एक विकेट हात पारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २ सय २ रन बनायो । उसका लागि यशस्वी जैसवालले १ सय रन बनाए ।  

उनले ४९ बलमा शतक बनाएर नेपालमाथि दबाब बनाएका थिए । यस्तै, अविजित रहेका रिंकु सिंहले ३७ तथा शिवम दुबेले २५ रन जोडे । कप्तान ऋतुराज गायकवाडले २५ रनमा आउट भए । 



नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा ३१ रन दिएर सर्वाधिक दुई विकेट लिए । यस्तै, सन्दीप लामिछाने र सोमपाल कामीले एक/एक विकेट हात पारे । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ । भारत भने सेमिफाइनल प्रवेश गरेको छ ।  


  • प्रकाशित मिति : असोज १६, २०८० मंगलबार १३:५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया