मन्त्री ज्वाला भन्छन्- चाडपर्वलक्षित सडक मर्मतका लागि बजेट अभाव छ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चाडपर्व लक्षित सडक मर्मत, सम्भारका लागि बजेटको अभाव रहेको बताएका छन् । बजेटको अभावका कारण दसैँअघि नै सडक मर्मत, सम्भार र यातायात व्यवस्थापनको काम भनेजस्तो हुनसक्ने अवस्था नरहेको मन्त्री ज्वालाको भनाइ छ । 

बुधबार संघीय संसद प्रतिनिधि सभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले दसैँलगायतका चाडपर्व अघि नै सडक र यातायात क्षेत्रको उचित व्यवस्थापनका गर्नका लागि प्रक्रियागत झमेला समेत रहेको बताए । मन्त्री ज्वालाले भएको स्रोत र साधनको अधिकतम परिचालन गरी दसैँअघि नै सडक मर्मत र यातायातको आवश्यक व्यवस्था मिलाउनका लागि मातहतका निकायलाई निर्देशन दिइएको पनि बताए । 

उनले काठमाडौं उपत्यकाको खाल्डाखुल्डी भने दसैँअघि नै व्यवस्थापन गरिसक्ने प्रतिवद्धतासमेत व्यक्त गरे । ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय चाडपर्व लक्षित यातायात व्यवस्था सहजीकरण र सडक मर्मत सम्भारका लागि गम्भीर छ । अब बजेटको अभाव छ । यहाँहरूलाई जानकारी छ । अब बजेटको अभावले भनेजस्तो नहुन पनि सक्छ । प्रक्रियागत झमेलाहरू पनि छन् । तर, भएका स्रोतलाई अत्यधिक प्रयोग गरेर सडक मर्मत गर्ने कुरा, खाल्डाखुल्डी व्यवस्थापन गर्ने कुरा र यातायात सहज गर्ने कुरामा मन्त्रालय गम्भीर छ,’ मन्त्री ज्वालाले भने, ‘दसैँअगाडि चाहिँ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत पर्ने सडकहरूका खाल्डाखुल्डी हामीले व्यवस्थित गरिसक्छौँ । यो चाहिँ समितिमा हाम्रो कमिटमेन्ट हो । त्यसै अनुसार हामीले निर्देशन दिइरहेका छौँ । र, उहाँहरू त्यो काममा लागि सक्नुभएको छ । तर सडक भनेको चाहिँ सबै भौतिक पूर्वाधार मन्त्रालयको मात्रै हो कि भन्ने आम जनताको माझमा परेको छ । अब माननीय ज्यूहरूलाई भन्न चाहन्छु–करिडोरअन्तर्गतका सडकहरू शहरी विकास मन्त्रालयअन्तर्गत पर्दछ । कतिपय भित्री सडकहरू महानगरपालिका, पालिकाको मातहतका पर्दछन् ।’ 

उनले दसैँअघि नै बसको टिकटका लागि अग्रिम बुकिङ खुला गर्ने जानकारी दिए । उनले जथाभाबी भाडा लिएर यात्रुहरूलाई ठग्ने व्यवसायीमाथि कडा कारबाही गर्ने चेतावनीसमेत दिए ।  





  • प्रकाशित मिति : असोज १८, २०८० बिहीबार ७:४६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया