सधैं बैसरी पहिरोको समस्यामा पर्यटक, सडक निर्माण कछुवा गतिमा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

१६ श्राद्धका कारण केही दिनयता हिमालपारिको जिल्ला मुस्ताङ धार्मिक पर्यटकले खचाखच छ । दिनहुँजसो मुस्ताङ जाने र फर्कने पर्यटकका कारण जोमसोम–बेनी सडकखण्डमा गाडी लस्करै गुडेका देखिन्छन् । 

उक्त सडकखण्डमा बैसरीलगायत केही स्थानमा पटकपटक गइरहने पहिरोका कारण घण्टौँ गाडी रोकिँदा यात्रुले सास्ती भोग्नु परेको छ । सोह्र श्राद्धलाई लक्षित गरी मंगलबार नवलपुरबाट हिँडेका सरोज ढकाल र उनको परिवार बेलुका गलेश्वर आएर बसे ।  

बुधबार बिहानै मुस्ताङका लागि हिँडेका उनीहरू त्यहाँबाट करिब दुुई–तीन किलोमिटरको दूरीमा पुग्दा सडकमाथिबाट खसेको पहिरोले अघि बढ्नसक्ने अवस्था रहेन । ढकाल परिवार त्यहाँबाट सुरक्षित भई बस्नका लागि पुनः गलेश्वर नै फर्कियो ।

दिउँसो साढे ३ बजे पहिरो पन्छाएपछि मात्रै उनीहरू मुस्ताङतर्फ अघि बढ्नुभयो । ढकाल परिवार जस्तै यस सडकखण्डमा यात्रा गर्ने जो कोही पनि यो समस्या दिनानुदिन भोग्दै आएका छन् । बुधबार बैसरीदेखि रुप्सेलगायत चार–पाँच ठाउँमा पहिरो गएको थियो । त्यसो त मंगलबार पनि झन्डै दिनभरजस्तै उक्त क्षेत्रका पहिरोका कारण पर्यटकले सास्ती भोग्नु परेको थियो ।

बैसरीको पहिरोको कष्टले पर्यटकलाई सास्ती भएको बताउने ‘पुन होटेल’ बैसरीका सञ्चालक जसमाया पुन यहाँको पहिरोको जोखिम आफूहरूका लागि दैनिकी जस्तै बनेको बताउँछिन् । वर्षातमा यहाँ जाने गरेका पहिरोले बेनीसम्म आउन जान पनि निकै समस्या हुने गरेको बताउँदै पुनले हिउँद लागिसके पनि समस्या ज्युँकोत्युँ रहेको दु:खेसो सुनाइन् ।   

‘दिनदिनै जाने गरेको पहिरोले बाटो अवरुद्ध हुँदा पर्यटकले निकै कष्ट पाउने गरेका छन्,’ उनले भनिन्, ‘वर्षौँदेखिको समस्या समाधान नहुँदा स्थानीयले भोग्ने गरेका दुःख त कति छन् कति ।’



उक्त खण्डमा निर्माण कार्यलाई बढाए पनि कछुवाको गतिमा हुँदा समस्या पर्ने गरेको स्थानीयको दुःखेसो छ । ९ जेठ वि.सं २०७२ मा राति बैसरीमा आएको पहिरो उक्त स्थान र आसपासका क्षेत्रमा लगातार रुपमा पहिरोको समस्या पर्ने गरेको छ । उक्त समयमा बस्तीमाथिबाट पहाडको ढिस्कै खसेर कालीगण्डकी नदी १६ घण्टासम्म थुनिएको अवस्थालाई यहाँका स्थानीय कल्पनासमेत गर्न सक्दैनन् ।

बेनी जोमसोम आवतजावत गर्ने यात्रुका लागि चौतारीजस्तै बनेको यो ठाउँ बेगखोला, बैसरी भगवती, राम्चे, पिप्लेलगायत आसपासका स्थानका मानिसको किनमेल गर्ने स्थानीय बजारसमेत थियो ।



बैसरीको त्यो प्राचीन मौलिकता पहिरोसँगै हराएको अर्का स्थानीय सोमबहादुर पुनले बताए । केही दिनअघि मात्र बैसरीमा पहिरो खस्दा एक चालकले ज्यान गुमाएको उनले जानकारी दिए । ‘मुस्ताङ जाने पर्यटक बर्सेनि बढ्दै गएका अवस्थामा बैसरीको पहिरो दीर्घकालीन समस्याका रुपमा चुनौती बनेको छ’, उनले भने, ‘निर्माणाधीन सडकलाई चाँडो सम्पन्न गर्ने गरी संवेदनशील ठाउँलाई प्राथमिकताका साथ काम गर्नु आवश्यक छ ।’

मुस्ताङमा पर्यटकको बढ्दो आकर्षणलाई आत्मसात् गर्दै सडक पूर्वाधारलाई व्यवस्थित गर्ने कुरालाई उच्च प्राथमिकतामा राख्नुपर्ने नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका अधिकृत सागर श्रेष्ठले बताए ।   

पर्यटकीयरूपमा मुस्ताङको धेरै सम्भावना रहेको उल्लेख गर्दै उनले यहाँको प्रवर्द्धनमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय निरन्तर लागिरहेको बताए । ‘राष्ट्रिय एवं अन्तर्राष्ट्रिय मञ्चमा पनि मुस्ताङको प्रवर्द्धनलाई प्राथमिकतामा साथ उठाउने गरिएको छ’, उनले भने । 
     
हिन्दू र बौद्ध धर्मको साझा तीर्थस्थल मुक्तिनाथ स्वदेशीका साथै विदेशी पर्यटकको आकर्षक गन्तव्य हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथको दर्शन भ्रमण गरेसँगै यहाँ भारतीय पर्यटकको आकर्षण अझै बढेको छ । 

पछिल्ला वर्षमा भारतीय दर्शनार्थी बर्सेनि ठूलो संख्यामा आउने गरेको मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए । उपल्लो मुस्ताङस्थित माटाको शहरका रूपमा परिचित लोमन्थाङ, नेपाल चीनबीचको कोरोला नाकाका साथै दामोदर कुण्ड आदिले यहाँको महिमा र गरिमा अझै बढाएको छ । रासस  

  • प्रकाशित मिति : असोज १८, २०८० बिहीबार ९:१६:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया